काठमाडौँ । विन्डोज ११ विभिन्न बिल्ट-इन एप र फिचरको साथमा आउँछ, तर सही एपको प्रयोगले प्रयोगकर्ता अनुभवलाई अझ बढाउन सकिन्छ । आज हामी तपाईँलाई माइक्रोसफ्ट स्टोरमा उपलब्ध ८ नि:शुल्क एपहरूको बारेमा बताउँदै छौँ, जसले विन्डोजलाई प्रयोग गर्न अझ सहज र प्रभावकारी बनाउँछन् ।
यी सबै एपहरू माइक्रोसफ्ट स्टोरमा उपलब्ध भएकाले तिनीहरू माइक्रोसफ्टद्वारा प्रमाणित (verified) छन् र तिनको अपडेट व्यवस्थापन गर्न सजिलो हुन्छ । यी एपहरूले विन्डोजलाई अझ क्षमतावान् र प्रयोग गर्न रमाइलो बनाउँछन् ।
१. पावरटोयज (PowerToys)
यो एपले तपाईँको विन्डोज पीसीमा धेरै उपयोगी सुविधाहरू थप्छ र यो माइक्रोसफ्टको स्वामित्वमा रहेकाले आधिकारिक विन्डोजको एक्सटेन्सन जस्तो महसुस हुन्छ । यसको कमान्ड प्यालेटले म्याकओएसमा हुने स्पोटलाइट सर्च जस्तै काम गर्छ । जसबाट एप खोल्ने, कमान्ड चलाउने, लोकल फाइल खोज्ने र फास्ट वेब सर्च गर्ने काम गर्न सकिन्छ ।
यसको किबोर्ड म्यानेजरले पीसीमा किबोर्डका कि र शर्टकट रिम्याप गर्न अनुमति दिन्छ । जुन कुनै खास किले काम नगरेको अवस्थामा उपयोगी हुन्छ । साथै पावरटोयजले बल्कमा फाइलको नाम परिवर्तन गर्ने, सत्विरको आकार बदल्ने र कलर पिकरमार्फत रङहरू छिटो फेला पार्ने सुविधा पनि दिन्छ ।
२. पीडीएफगेयर (PDFgear)
विन्डोज ११ ले माइक्रोसफ्ट एजमा पीडीएफ हेर्न र सामान्य एनोटेसन गर्न दिन्छ । तर एड्भान्स कामहरूको लागि यो पर्याप्त हुँदैन । पीडीएफगेयर एउटा यस्तो नि:शुल्क एप हो, जसले पीडीएफका लागि पूर्ण सुइट प्रदान गर्दछ ।
यसले धेरै पीडीएफहरू मर्ज गर्न, पेजहरूलाई पुनर्व्यवस्थित गर्न, फाइलहरूलाई अन्य ढाँचामा रूपान्तरण गर्न, फाराम भर्न, तस्विरहरू घुसाउन, र ओसीआर (Optical Character Recognition) चलाएर स्क्यान गरिएका कागजातहरूलाई खोजी गर्न मिल्ने टेक्स्टमा बदल्न सक्छ ।
३. डिट्टो (Ditto)
विन्डोजको क्लिपबोर्डले भर्खरै कपी गरिएका चिजहरूलाई फेरि हेर्न दिन्छ । तर डिट्टो त्यसभन्दा पनि धेरै शक्तिशाली छ । यो ओपन सोर्स एपले कपी गरिएका असीमित चिजहरू (URLs, फाइल पाथ, टेक्स्ट, तस्विरहरू) स्टोर गर्न सक्छ ।
यो विन्डोज क्लिपबोर्ड जस्तो कम्प्युटर रिबुट गर्दा खाली हुँदैन । यसको सहयोगमा प्रयोगकर्ताले पहिले कपी गरिएका वस्तुहरूलाई सम्पादन गर्न र तिनमा खोजी गर्न सक्छन् । साथै बारम्बार प्रयोग हुने अक्षरहरूलाई पिन गर्न र तिनीहरूलाई सजिलै पेस्ट गर्नका लागि खास किबोर्ड शर्टकटहरू तोक्न पनि सकिन्छ ।
४. ट्रिसाइज फ्रि (TreeSize Free)
विन्डोजमा स्टोरेज खाली गर्ने अनेकौँ टुलहरू भए पनि वास्तवमा ठुला, बिर्सिएका फाइल र फोल्डरले ठाउँ खाइरहेका हुन्छन् । विन्डोजले प्रत्येक ड्राइभले कति ठाउँ प्रयोग गरिरहेको छ भन्ने देखाए पनि कुन फोल्डरले बढी ठाउँ लिएको छ भनेर पत्ता लगाउन गाह्रो हुन्छ ।
ट्रिसाइज फ्रिले ड्राइभहरू स्क्यान गरी प्रत्येक फोल्डर र सबफोल्डरको आकार स्पष्ट, पढ्न सजिलो हुने गरी चार्टमा देखाउँछ । यो एपले ठुला ड्राइभहरूलाई पनि सेकेन्डमै विश्लेषण गर्छ ।
५. क्विकलुक (QuickLook)
विन्डोजमा फाइल एक्सप्लोररले थम्बनेल र प्रिभ्यु पेन देखाए पनि अडियो, भिडिओ वा ठुला डकुमेन्टहरू छिटो हेर्नका लागि यो पर्याप्त हुँदैन ।
क्विकलुकले कुनै पनि फाइललाई चयन गरेर स्पेसबार थिच्ने बित्तिकै त्यसको प्रिभ्यु देखाउँछ । म्याक अपरेटिङ सिस्टममा प्रयोग हुने यो सुविधाले फाइलहरू ब्राउज गर्न छिटो र सहज बनाउँछ ।
६. इयरट्रम्पेट (EarTrumpet)
विन्डोजमा हरेक एपहरूको भोलुम नियन्त्रण गर्न प्रत्येक पटक भोलुम मिक्सर खोल्नुपर्छ । इयरट्रम्पेटले यो समस्या समाधान गर्छ र प्रत्येक एपको भोलुम स्लाइडर सिधै टास्कबारमा राखिदिन्छ ।
यसले म्युजिक, गेम र नोटिफिकेसनको भोलुमलाई विभिन्न मेनुहरूमा जानै नपर्ने गरी छुट्टाछुट्टै समायोजन गर्न सजिलो बनाउँछ ।
७. शेयरएक्स (ShareX)
विन्डोजको स्निपिङ टुलले धेरै काम गर्छ । तर शेयरएक्सले त्यसको अभाव भएका अरू सुविधा पनि थप्छ । यसले स्ट्यान्डर्ड स्क्रिनशटका साथै माउस पोइन्टरसहित स्क्रिन क्याप्चर गर्ने, स्क्रोलिङ स्क्रिनसट लिने वा निश्चित अन्तरालमा स्वतः क्याप्चर गर्ने विकल्प दिन्छ ।
यसमा प्रभावकारी एनोटेसन र एडिटिङ टुलहरू छन्, जसले तस्बिरका भागहरूलाई ब्लर वा पिक्सलेट गर्ने, आकार, इमोजी वा वाटरमार्क थप्ने सुविधा दिन्छ ।
८. लाइभ्ली वालपेपर (Lively Wallpaper)
यदि तपाईँ आफ्नो डेस्कटपमा स्थिर वालपेपर भन्दा बढी गतिशील केही चाहनुहुन्छ भने लाइभ्ली वालपेपर उत्तम विकल्प हुन सक्छ । यसले कुनै पनि जिफ, भिडिओ वा वेब पेजलाई अन्तरक्रियात्मक डेस्कटप ब्याकग्राउन्डमा बदल्न सक्छ ।
यो एपले मल्टिपल मनिटरलाई पनि सपोर्ट गर्दछ । यद्यपि, यदि तपाईँको सिस्टमको पावर कम छ वा ब्याट्री बचाउने प्रयास गर्दै हुनुहुन्छ भने लाइभ वालपेपर प्रयोग गर्नु उपयुक्त हुँदैन ।
पछिल्लो अध्यावधिक: असोज २४, २०८२ १७:१०
