सीप नभए पनि जेमनाई मार्फत ब्लर तस्बिरलाई यसरी सजिलै पार्न सकिन्छ ठीक, फोटोशपभन्दा सजिलो तरिका
असोज ३०, २०८२ १०:५१
काठमाडौँ । यदि तपाईँ फोटोग्राफी मन पराउनुहुन्छ, विशेष गरी पाल्तु जनावर वा द्रुत गतिमा चल्ने चिजवस्तुको फोटो खिच्नुहुन्छ भने फोकस बिग्रिएर तस्बिर धमिलो हुने समस्या सामान्य हो । पुराना, धमिलो वा आउट-अफ-फोकस तस्बिरहरूलाई परम्परागत टुलहरू प्रयोग गरेर सुधार गर्न निकै कठिन हुन्छ ।
फोटोशप जस्ता फोटो एडिटिङ सफ्टवेयरमा यसका लागि विभिन्न टुलहरू हुने भए पनि तिनीहरूलाई प्रयोग गर्नको लागि निश्चित स्तरको सीप र विशेषज्ञता चाहिन्छ । साथै यी टुलहरूले तस्बिरलाई केही हदसम्म मात्र 'प्याच' गर्न सक्छन् र नतिजा सधैँ प्राकृतिक नदेखिन सक्छ ।
तर, गुगलको जेमनाई एआई प्रयोग गरेर ब्लर अथवा धमिलो तस्बिर ठीक गर्ने प्रयास गर्दा नतिजा आश्चर्यजनक र अत्यन्त प्रभावकारी पाइएको छ ।
जेमनाईमा उपलब्ध Nano Banana मोडेलले केवल ब्लर तस्बिरलाई मात्र ठिक गर्दैन, यसले तस्बिर लिँदा भएका गल्तीहरूलाई पनि सच्याउन सक्छ । उदाहरणका लागि यदि तपाईँले कुकुरको अनुहारको सट्टा खुट्टामा फोकस गर्नुभयो भने पनि जेमनाईको एडिटिङले फोकसलाई सही बनाउनुका साथै कुकुरको अनुहारलाई बाँकी शरीरसँग मिल्ने गरी प्राकृतिक कोणमा पुनर्निर्माण गर्न सक्छ । यसले कलर टेम्प्रेचर र प्यालेट लगायत तस्बिरका अन्य विवरणहरूलाई पनि अपरिवर्तित राख्छ ।
प्रयोग गर्ने तरिका
ब्लर फोटोमा सुधार ल्याउनका लागि तपाईँले एआईलाई कुनै जटिल प्रम्ट (आदेश) दिनु पनि पर्दैन । सम्पूर्ण प्रक्रिया साधारण टेक्स्ट प्रम्प्टमा आधारित छ र मुस्किलले ३० सेकेन्ड मात्र लिन्छ ।
यसलाई प्रयोग गर्न तपाईँले सुधार गर्न चाहेको ब्लर तस्विर जेमनाई एआईमा अपलोड गर्नुहोस् । अब केवल 'make the photo sharper and fix focus' जस्तो साधारण आदेश दिनुहोस् ।
यति मात्र गरे पुग्छ । यसरी पुरानो जमानाका स्क्यान गरिएका तस्बिरहरूमा रहेको धमिलोपन, दाग वा अन्य त्रुटिहरू हटाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईँले जेमनाईलाई साँच्चै नै जटिल तस्बिर दिनुभएको छ भने, त्यसलाई सुधार गर्न थप विस्तृत र सटीक विवरणसहितको प्रम्प्टले राम्रो नतिजा दिन सक्छ ।
जेमनाई प्रयोग गरेर तस्बिरमा सुधार ल्याउने कार्य अधिकांश फोटो एडिटिङ सफ्टवेयर तथा एप्लिकेसन प्रयोग गर्नुभन्दा उल्लेखनीय रूपमा छिटो र सजिलो छ । तपाईँले स्लाइडर वा जटिल मेनुहरू मिलाउनु पर्दैन । केवल तस्बिर अपलोड गर्नुहोस् र एउटा आदेश दिएर आराम गर्नुहोस् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा नानो बनाना जेमनाईमा निः शुल्क रूपमा उपलब्ध छ । यसका लागि तपाईँले कुनै सब्सक्रिप्सन वा सफ्टवेयर लाइसेन्समा पैसा खर्च गर्नु पनि पर्दैन । जबकि एडोबी फोटोशप वा टोपाज फोटो एआई जस्ता विशेष टुलहरू महँगा हुन सक्छन् ।
जेमनाईको नाना बनानामार्फत फोटो एडिट गर्न कुनै विशेष सीपको आवश्यकता पनि पर्दैन । फोटो एडिटिङको सीप नभएको एक औसत व्यक्ति जसले पनि जेमनाई प्रयोग गरेर सजिलै ब्लर तस्बिरहरू ठिक पार्ने प्रयास गर्न सक्छ ।
यद्यपि जेमनाईका केही सीमितता पनि छन् । अत्यधिक जेमनाईले सबै तस्बिरलाई जादु गरे जसरी मिलाउन सक्दैन । केही अवस्थामा एआई मोडेलले तपाईँले दिएको तस्बिर जस्तै नतिजा दिन्छ र फोकस वा ब्लरमा कुनै सुधार लागु हुँदै न। यदि तस्बिरहरू धेरै ब्लर छन् वा फोकस धेरै नै बिग्रिएको छ भने जेमनाई तस्बिरलाई पुनर्निर्माण गर्न असफल हुन सक्छ ।
त्यस्तै जेमनाईले सिर्जना गर्ने तस्बिरको रिजोलुसन अधिकतम ७२० पी सम्म मात्र हुन सक्छ । त्यसैले यो व्यावसायिक प्रयोगको लागि उपयुक्त नहुन सक्छ । यद्यपि, सामाजिक सञ्जाल पोस्ट वा फोटो एल्बम जस्ता अनौपचारिक प्रयोगहरूका लागि भने यो गज्जब नै छ ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १०:५१
