विशाल एआई डेटा हब स्थापना गर्न भारतमा नेपालको कूल बजेटभन्दा डेढ खर्ब बढी लगानी गर्दै गुगल
असोज ३०, २०८२ ११:५०
काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेटले दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यमा १५ अर्ब अमेरिकी डलर (करिब २१ खर्ब १० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । विशेषगरी पोर्ट सहर विशाखापट्टनममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा हब निर्माण गर्नका लागि यो लगानी गरिने भएको हो ।
यो नयाँ फेसिलिटी गुगलको विश्वका विभिन्न १२ देशमा फैलिएको एआई केन्द्रहरूको सञ्जालको हिस्सा बन्नेछ । गुगल क्लाउडका सीईओ थोमस कुरियनले दिल्लीमा आयोजित एक कार्यक्रममा यो घोषणा गर्दै भने, "यो लगानी संयुक्त राज्य अमेरिका बाहिर हामीले विश्वको जुनसुकै ठाउँमा लगानी गर्न लागेको सबैभन्दा ठुलो एआई हब हो ।" गुगलको यो लगानी नेपालको कूल वार्षिक बजेटभन्दा पनि करिब डेढ खर्ब रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षका लागि नेपालको कूल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ छ ।
प्रतिबद्धता अनुसार यो १५ अर्ब अमेरिकी डलर आगामी पाँच वर्ष (२०२६-२०३०) भित्र खर्च गरिनेछ । यो विशाखापट्टनम एआई हब एक बहुआयामिक लगानी हो । यसले क्लाउड र एआई पूर्वाधारलाई नवीकरणीय ऊर्जा प्रणाली र विस्तारित फाइबर-अप्टिक नेटवर्कसँग जोड्नेछ ।
गिगावाट-स्केल कम्प्युट क्षमतामा यो हब निर्माण गरिनेछ, जसमा डेटा सेन्टर क्याम्पस समेत समावेश हुनेछ । यो पूर्वाधार गुगलका विश्वव्यापी सेवाहरू जस्तै सर्च, युट्युब र वर्कस्पेसलाई शक्ति दिने मापदण्ड अनुसार निर्माण गरिनेछ ।
लगानी अन्तर्गत एउटा प्रमुख नयाँ अन्तर्राष्ट्रिय सबसी गेटवे (international subsea gateway) को निर्माण पनि समावेश छ । विशाखापट्टनममा बहुसङ्ख्यक अन्तर्राष्ट्रिय सबसी केबुलहरू ल्यान्ड गराएर भारतको पूर्वी तटमा एक अत्यावश्यक कनेक्टिभिटी हब तयार पारिनेछ ।
यस परियोजनाका क्रममा गुगलले अडानिकनेक्स (AdaniConnex) र एयरटेल (Airtel) जस्ता साझेदारहरूसँग मिलेर काम गर्नेछ । कम्पनीले आन्ध्र प्रदेशमा नयाँ ट्रान्समिसन लाइन, स्वच्छ ऊर्जा उत्पादन र ऊर्जा भण्डारण प्रणालीहरू उपलब्ध गराउन साझेदारहरूसँग काम गरिरहेको छ । जसले भारतको विद्युत् ग्रिडमा योगदान पुर्याउनेछ ।
भारतको डिजिटल भविष्यमा योगदान
भारत कम डेटा लागत र द्रुत रूपमा बढ्दो इन्टरनेट प्रयोगकर्ता आधारका कारण एआई डेटा सेन्टरहरूको लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ । अल्फाबेटका सीईओ सुन्दर पिचईले यो पूर्वाधारसँगै भारतका उद्यम र प्रयोगकर्ताहरूका लागि उद्योगकै नेतृत्वदायी प्रविधि आउने, एआई नवीनतालाई तीव्रता दिनेछ र देशभर विकासलाई अगाडि बढाउनेछ बताएका छन् ।
गुगल क्लाउडका सीईओ थोमस कुरियनले यो लगानीले भारत सरकारको ‘विकसित भारत २०४७’ को अवधारणासँग प्रत्यक्ष रूपमा तालमेल राख्ने बताएका छन् । यो पूर्वाधारले भारतलाई एआई-सञ्चालित भविष्यमा विश्वव्यापी लिडरको रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ ।
आन्ध्र प्रदेशका प्रविधि मन्त्री नारा लोकेशले यस परियोजनालाई राज्यको डिजिटल भविष्य, नवीनता र विश्वव्यापी उपस्थितिको लागि ठुलो छलाङ भनेका छन् ।
आन्ध्र प्रदेश सरकारले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गर्न जग्गा र बिजुलीमा अनुदान दिइरहेको छ । ब्लुमबर्ग न्युजका अनुसार यो परियोजना आन्ध्र प्रदेश सरकारको २०२९ सम्ममा ६ गिगावाट डेटा सेन्टर क्षमता विकास गर्ने योजनाको एक अंश हो ।
व्यावसायिक फर्म जेएलएलको प्रतिवेदन अनुसार भारतको डेटा सेन्टर उद्योग विगत पाँच वर्षमा द्रुत गतिमा बढेको छ र २०२४ मा १ गिगावाट क्षमताको अङ्क पार गरेको छ । जुन सन् २०१९ को तुलनामा करिब तीन गुणाले बढी हो ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ ११:५०
