close

गुगलले लागू गर्‍यो 'पासकी' प्रणाली, अब क्रोममा लगइन गर्न पासवर्ड नचाहिने

टेकपाना टेकपाना

मंसिर २५, २०७९ ९:४९

गुगलले लागू गर्‍यो 'पासकी' प्रणाली, अब क्रोममा लगइन गर्न पासवर्ड नचाहिने

काठमाडौं । अन्तत: गुगलले क्रोम प्रयोगकर्ताहरूको लागि 'पासकी' फिचर उपलब्ध गराएको छ । अक्टोबरमा सुरु भएको परीक्षण अवधि पार गरिसकेपछि, कम्पनीले यस हप्ता क्रोम स्टेबल M108 मा पासवर्डरहित सुरक्षित लगइन गर्ने माध्यम 'पासकी' सार्वजनिक गरेको हो । गुगलले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षाको लागि पासकी प्रणाली सुरु गरेको हो । 

योसँगै विन्डोज ११, म्याकओएस र एन्ड्रोइडमा आधारित कुनै पनि डेस्कटप वा मोबाइलमा क्रोम प्रयोग गर्दा पासकी प्रयोग गर्न सकिनेछ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई सहज बनाउनको लागि आफ्नै थर्ड पार्टी पासवर्ड म्यानेजर 1Password वा Dashlane प्रयोग गरेर आफ्नो पासकीहरू सिंक गर्न सक्ने व्यवस्था पनि गरेको छ । 

पासवर्डलाई विस्थापित गर्नको ठूला टेक कम्पनीहरूले पासकीको सुरुवात गरेको हो । यसअघि एप्पल र माइक्रोसफ्टले पासकिलाई स्थापित गर्ने काम गरिसकेको छ। पासकीले प्रयोगकर्तालाई कुनै वेबसाइटमा लगइन गर्नको लागि आफ्नो फिंगरप्रिन्ट, फेस अथवा स्क्रिन लक प्रयोग गर्न लगाउँछ । 

कुनै पनि अकाउन्ट लगइन गर्नको लागि पासकी प्रत्येक पटक फरक-फरक राख्नुपर्ने हुन्छ । अकाउन्ट लगइन गर्दा प्रयोगकर्ता आफैले प्रयोग गरिरहेको हो वा होइन भन्ने कुराको पनि कन्फर्मेशन दिनुपर्ने हुन्छ । यसको साथै डिभाइस पासकोड अथवा आफ्नो बायोमेट्रिक प्रयोग गरेर मात्र प्रयोगकर्ताले अकाउन्ट लगइन गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ ९:४९