काठमाडौँ । शार्क ट्याङ्क इन्डियाका शार्क तथा निर्णायक पीयूष बन्सल डलर अर्बपति बन्ने संघारमा पुगेका छन् । चस्मा बनाउने कम्पनी लेन्सकार्ट सोलुसन्स लिमिटेडका संस्थापक उनी कम्पनीको प्रस्तावित सार्वजनिक शेयर निष्कासन (आईपीओ) पछि डलर अर्बपति बन्ने अवस्थामा पुगेका हुन् ।
४१ वर्षीय उद्यमी तथा भारतीय टेलिभिजन स्टार बन्सलले १५ वर्षअघि लिङ्कडिनमा भेटेका साझेदारहरूसँग मिलेर लेन्सकार्ट स्थापना गरेका थिए । त्यसपछि उक्त कम्पनी मल्टी-बिलियन डलरको व्यवसायमा विस्तार गरे ।
लेन्सकार्टले आगामी महिनाको सुरुमै मुम्बईमा सूचीकृत हुने योजना बनाएको छ । कम्पनीले आईपीओको आकारको आधारमा स्टक डेब्यु गर्दा कम्पनीलाई ९ अर्ब अमेरिकी डलरमा मूल्याङ्कन गर्ने लक्ष्य राखेको छ ।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार आईपीओमा आफ्नो शेयरको सानो अंश बेचेपछि पनि बन्सलको हिस्सेदारी ८० करोड अमेरिकी डलरको नजिक पुग्नेछ । यदि लेन्सकार्टको शेयर सुरुवाति दिनमै लगभग २५ प्रतिशतले बढ्यो भने उनको स्टकले १ अर्ब डलरको सीमा पार गर्न सक्छ ।
कम्पनीको सफलता र बजार रणनीति
लेन्सकार्टले आफूलाई पहिलेका भारतीय उपभोक्ता-प्रविधि सूचीकरणहरू भन्दा फरक रहेको दाबी गर्दछ । किनकि यसले पहिले नै नाफा कमाइरहेको छ ।
गुरुग्राममा रहेको यो कम्पनीले अनलाइन र खुद्रा आउटलेटहरू मार्फत चस्मा डिजाइन, उत्पादन र बिक्री गर्दछ । लेन्सकार्टले भारतमा रोबोटिक उत्पादनका साथै एक विशिष्ट स्थान बनाएको छ । यसले जर्मनीबाट आयात गरिएका मसिनहरू प्रयोग गरी चस्मा उत्पादन गर्दछ र एक वेबसाइट मार्फत ग्राहकहरूलाई अनलाइन अर्डर गर्न र आफ्नो खरिद परीक्षण गर्न सजिलो बनाएको छ ।
कम्पनीले आफ्नो भ्यालु-चेनमा लगभग हरेक पक्षलाई नियन्त्रण गर्दछ- लेन्स डिजाइन र निर्माणदेखि लिएर अन्तिम माइल डेलिभरीसम्म । लेन्सकार्टले कोलकातामा सयौँ नेत्र रोग विशेषज्ञहरूलाई रोजगारी दिएको छ, जसले टाढैबाट आँखा जाँचको सेवा प्रदान गर्छन् । यसका साथै साना सहरहरूमा आँखा हेरचाहको पहुँच बढाउन एआईमा आधारित परीक्षण उपकरणहरू पनि विकास गर्दैछ ।
बन्सलका अनुसार भारत विश्वको मायोपिया राजधानी हो र त्यहाँका धेरै मानिसहरूलाई चस्मा चाहिन्छ । उनले यो समस्या समाधान गर्न सकेमा मूल्याङ्कन, नाफा र बढ्दो बजार पुँजीकरण लगायत अन्य सबै कुराहरू पछि आफैँ हुने बताएका छन् ।
विस्तार र लगानी
ठुलो घरेलु बजारबाट सुरु गर्दै लेन्सकार्ट अहिले नै दक्षिण पूर्वी एसियामा विस्तार भइरहेको छ । बन्सलले इन्डोनेसिया र भियतनाममा मागको प्रवृत्ति एक दशकअघिको भारतको मार्गसँग मिल्दोजुल्दो रहेको उल्लेख गरेका छन् ।
मार्चसम्म लेन्सकार्टले भारत, मध्य पूर्व र दक्षिण पूर्वी एसिया जस्ता बजारहरूमा दुई हजार ७२३ स्टोरहरू सञ्चालन गरिरहेको थियो । कम्पनीको लगभग ४० प्रतिशत आम्दानी अब भारत बाहिरबाट आउँछ । जसले यसको बढ्दो अन्तर्राष्ट्रिय पहुँचलाई देखाउँछ ।
कम्पनीले शेयर बिक्रीबाट प्राप्त आम्दानीलाई भारतभर नयाँ स्टोर खोल्न, प्रविधि र एआई क्षमताहरूमा लगानी गर्न, अधिग्रहण गर्न र सामान्य कर्पोरेट उद्देश्यहरूमा प्रयोग गर्ने योजना बनाएको छ ।
लेन्सकार्टको अर्को ठुलो दाउ स्मार्ट आईवेयरमा छ । कम्पनीको ७० सदस्यीय टोलीले यूपीआई, एआई टुल, क्यामेरा र हेडफोन जस्ता सुविधाहरूलाई चस्मामा एकीकृत गर्ने काम गरिरहेको छ ।
चुनौती र पृष्ठभूमि
लेन्सकार्ट फ्रेम, मोल्ड र कच्चा पदार्थ लगायतका एक तिहाइभन्दा बढी खरिदका लागि चीनमा निर्भर रहेको छ । बन्सलले यो निर्भरतालाई स्वीकार गरे पनि यसलाई व्यवस्थापन गर्न सकिने बताएका छन् । तर यस्तो निर्भरताले कम्पनीलाई चीनको आपूर्ति-शृङ्खलाको उतारचढाव (जस्तै शुल्क वा निर्यात प्रतिबन्ध) को जोखिममा राखेको छ ।
हाल बन्सलले हैदराबादमा नयाँ उत्पादन फेसिलिटीको निरीक्षण गरिरहेका छन्, जुन ५० एकडमा फैलिएको विश्वकै सबैभन्दा ठुलो हुने अपेक्षा गरिएको छ । यसको दैनिक चस्मा उत्पादन क्षमता लाखौँमा हुनेछ ।
मोन्ट्रियलको म्याकगिल विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका बन्सलले आफ्नो करियर माइक्रोसफ्ट कर्प (रेडमन्ड, वाशिङ्गटन) मा सुरु गरेका थिए । उद्यमशीलतामा लाग्न भारत फर्कनुअघि उनको पहिलो उद्यम विद्यार्थी-होस्टेल प्लेटफर्म थियो ।
लेन्सकार्टमा उनको दृष्टिकोणले धैर्ययता गर्न चाहने लगानीकर्ताहरूको साथ पाएको छ । कम्पनीको करिब १५ प्रतिशत स्वामित्व रहेको सफ्टबैँकले लेन्सकार्टमा आफ्नो हिस्सेदारीलाई धैर्यशील पूँजीको उदाहरणको रूपमा वर्णन गरेको छ । जसमा चक्रवृद्धि वृद्धि (compounding growth) का लागि दशकौँ कुर्नुपर्ने हुन सक्छ । यस वर्षको सुरुमा, लगानीकर्ता फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्चले लेन्सकार्टलाई ६.१ अर्ब डलरमा मूल्याङ्कन गरेको थियो ।
कम्पनीको आईपीओले भारतीय कन्जुमर-टेक्नोलोजी स्टकहरूप्रति लगानीकर्ताको रुचिमा आएको उछाल कति समय टिक्छ भन्ने कुराको परीक्षण गर्नेछ । अमेरिकी कार्यक्रम शार्क ट्याङ्कको भारतीय फ्रान्चाइजका शार्क बन्सलले इन्स्टाग्राममा नौ लाख भन्दा बढी फलोअर्स कमाएका छन् ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ ११:५८
