close

चलचित्रको प्रेरणाबाट जन्मिएको नेपाली ह्याकरको टिम ‘ह्याक@सेक’, यस्तो रह्यो ५ वर्षे यात्रा

टेकपाना टेकपाना

कात्तिक १, २०८२ १६:५६

चलचित्रको प्रेरणाबाट जन्मिएको नेपाली ह्याकरको टिम ‘ह्याक@सेक’, यस्तो रह्यो ५ वर्षे यात्रा

काठमाडौँ । आजभन्दा पाँच वर्षअघि सन् २०२० मा कोभिड महामारीको लकडाउनले धेरैलाई घरभित्रै सीमित बनाएको थियो । त्यही फुर्सदको समयमा एक युवकले चलचित्रमा देखेको ह्याकिङको दृश्यबाट प्रेरित भएर एउटा अनौठो यात्रा थाले । त्यो सानो सुरुवात आज ‘ह्याक@सेक’ नामको एक सफल साइबर सुरक्षा टिम हुँदै कम्पनीका रूपमा स्थापित भई आफ्नो गौरवमय पाँचौं वार्षिकोत्सव मनाइरहेको छ । 

यस यात्राको सुरुवात साइबर सुरक्षामा रुचि भएका विशाल अर्यालले एक्लै गरेका थिए । चलचित्र हेर्दा देखेको ह्याकिङ प्रतिस्पर्धाले उनलाई यसबारे थप जान्न उत्सुक बनायो । “लकडाउनमा चलचित्र हेर्दा ह्याकिङ प्रतिस्पर्धाको दृश्यले मलाई तान्यो । नेपालमा पनि यस्तो हुन्छ कि हुँदैन भनेर खोज्दै जाँदा ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) अर्थात् कानुनी ह्याकिङ प्रतिस्पर्धाबारे थाहा पाएँ र त्यहीँबाट यो यात्रा सुरु भयो,” विशाल सम्झन्छन् । सुरुमा एक्लै विभिन्न अनलाइन प्रतियोगितामा भाग लिँदा उनले धेरै चुनौती सामना गरे तर हरेक हप्ताको सहभागिताले उनलाई सिक्ने र अघि बढ्ने ऊर्जा दिइरह्यो ।

सन् २०२१ मा कलेज सुरु भएपछि उनको यो एकल यात्राले टिमको रूप लियो । उनले आफ्ना साथीहरू प्रशान्त श्रेष्ठ र रोमियो कार्कीलाई सीटीएफबारे बताए र सँगै खेल्न प्रस्ताव गरे । तीन जनाको समूह बनेपछि टिमको नाम जुर्‍यो ‘ह्याक@सेक’ (Hack@Sec) । ‘पहिले ह्याक गर्ने र पछि त्यसैलाई सुरक्षित (सेक्योर) गर्ने’ नै यस टिमको मुख्य अवधारणा थियो । यही सोचका साथ उनीहरूले आफ्नो यात्रालाई औपचारिक रूप दिए । टिममा निरज खतिवडा, अनिश भट्टराई, दिपेन्द्र श्रेष्ठ र प्रदीप भट्टराईजस्ता सदस्य थपिँदै जाँदा टिम झन् बलियो बन्दै गयो ।

सुरुवाती दिनहरू रातदिनको अभ्यास र सिकाइमा बिते । तर, सन् २०२२ मा काठमाडौंमा आयोजित ‘थ्रेडकन’ नामक साइबर सुरक्षा सम्मेलनको लाइभ ह्याकिङ इभेन्ट उनीहरूका लागि एउटा महत्त्वपूर्ण मोड बन्यो । उक्त प्रतियोगितामा चौथो स्थान हासिल गरेपछि उनीहरूले नेपालमा आफूहरूभन्दा पनि अब्बल र अनुभवी टिमहरू रहेको महसुस गरे । 

यूटेक सीटीएफ विजेता

“त्यतिबेला हामीले नेपालमा हामीभन्दा पनि अब्बल टिमहरू छन् भन्ने महसुस गर्‍यौं । त्यो नतिजाले हामीलाई निराश बनाएन बरु अझै धेरै सिक्नुपर्छ र मिहिनेत गर्नुपर्छ भन्ने ऊर्जा दियो,” विशाल भन्छन् । त्यसपछि उनीहरूले आफ्नो अभ्यासलाई अझ तीव्र बनाए र त्यही वर्षको अन्त्यसम्ममा नेपालको नम्बर एक सीटीएफ टिम बन्न सफल भए । 

ब्ल्याकह्याट एमईए २०२३ मा सहभागी जनाउँदै टिम ह्याक@सेक

त्यसपछिका दिनमा ‘ह्याक@सेक’ले पछाडि फर्केर हेर्नुपरेन । सन् २०२३ मा साउदी अरेबियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएर नेपालको प्रतिनिधित्व गर्ने अवसर पायो । उनीहरूले नेपालमा आयोजना हुने अधिकांश राष्ट्रिय स्तरका प्रतियोगिताहरू जित्न थाले । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आज ‘ह्याक@सेक’ विश्वव्यापी वरीयतामा उत्कृष्ट ३०-३५ भित्र पर्न सफल भएको छ । अर्यालकाअनुसार २०२५ को यो अवधिसम्म आइपुग्दा उनीहरूले ३०० बढी अन्तर्राष्ट्रिय सीटीएफ प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

आफ्नो सफलतालाई केवल प्रतियोगितामा सीमित नराखी ‘ह्याक@सेक’ले नेपालमा नयाँ पुस्तालाई यो क्षेत्रमा ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको विशाल सम्झिन्छन् । नेपालमा सीटीएफ खेल्ने अवसर र वातावरणको कमी देखेर उनीहरूले आफैले कलेजमा प्रतियोगिता र कार्यशाला आयोजना गर्न थाले । अर्याल अगाडि थप्छन्, “हाम्रो लक्ष्य नेपालमा सीटीएफलाई अन्य ई-स्पोर्ट्सजस्तै व्यावसायिक र सम्मानित क्षेत्रको रूपमा स्थापित गर्नु हो ।”

ब्ल्याकह्याट एमईए २०२५ क्वालिफायर टिम

यही यात्रालाई अझ संगठित र व्यावसायिक बनाउन ह्याक@सेक अब ‘ह्याकएनसेक प्राइभेट लिमिटेड’ नामक कम्पनीको रूपमा दर्ता भइसकेको छ । कम्पनीमार्फत उनीहरूले साइबर सुरक्षासम्बन्धी तालिम, कार्यशाला र प्रतियोगितालाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने योजना बनाएका छन् ।

१६-१८ अक्टोबरसम्म यस टिमले आफ्नो वार्षिक उत्सव मनाउने गर्छ । पाँच वर्षको यो यात्रा पूरा गर्दा टिमको अबको लक्ष्य अझ ठुलो छ । “अब हाम्रो लक्ष्य आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट १० टिमभित्र पर्दै नेपालको नाम अन्तर्राष्ट्रिय साइबर सुरक्षाको क्षेत्रमा स्थापित गर्नु हो । हामी चाहन्छौं, नेपालमा पनि सीटीएफलाई एउटा सम्मानित ई-स्पोर्ट्सको रूपमा हेरियोस्,” टिमको साझा लक्ष्यबारे विशाल बताउँछन् ।

चलचित्रको एउटा दृश्यबाट सुरु भएको एउटा सानो सोच आज देशको गौरव बनेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ १८:६