close

अन्तरिक्षका दुई तिहाइ बढी स्याटलाइट एलन मस्कको नियन्त्रणमा

टेकपाना टेकपाना

कात्तिक ८, २०८२ ८:४९

अन्तरिक्षका दुई तिहाइ बढी स्याटलाइट एलन मस्कको नियन्त्रणमा

काठमाडौँ । स्पेसएक्सले सफलतापूर्वक स्याटलाइटहरूको ५६ समूह प्रक्षेपण गरेसँगै अन्तरिक्षमा स्टारलिंक स्याटलाइटको सङ्ख्या १० हजार नाघेको छ । यससँगै अब अन्तरिक्षमा सक्रिय सम्पूर्ण स्याटलाइट मध्ये दुई तिहाइको नियन्त्रण स्पेसएक्सका मालिक एलन मस्कको हातमा पुगेको हो ।

गैर-नाफामुखी स्याटलाइट ट्र्याकर सेलेसट्राक (Celestrak) को तथ्याङ्क अनुसार यो सफलताले संसारका सबैभन्दा धनी व्यक्तिलाई अन्तरिक्षमा पनि सबैभन्दा शक्तिशाली व्यक्ति बनाएको छ ।

२० अक्टोबरसम्मको तथ्याङ्क अनुसार पृथ्वीको तल्लो कक्ष (low-Earth orbit) मा रहेका कूल १२,९५५ सक्रिय स्याटलाइटमध्ये ८ हजार ५६२ ओटा अर्थात् ६६ प्रतिशतभन्दा बढी स्पेसएक्सको स्टारलिंक समूहका हुन् । यसबाहेक लगभग एक हजार ५०० स्टारलिंक स्याटलाइट या त निष्क्रिय छन् वा अब कक्षमै छैनन् ।

स्पेसएक्सको यो प्रभुत्वले विश्वका सबैभन्दा धनी व्यक्तिले स्टारलिंक नेटवर्कमार्फत प्रयोग गर्ने शक्तिको मात्राप्रति चिन्ता बढाएको छ । सन् २०२३ मा मस्कले टेस्ला, स्पेसएक्स र एक्समाथिको आफ्नो नियन्त्रण मार्फत आफूसँग अहिलेसम्म कसैसँग नभएको रियल-टाइम विश्वव्यापी आर्थिक तथ्याङ्क रहेको दाबी गरेका थिए ।

यी स्टारलिंक स्याटलाइट पृथ्वीमा उच्च गतिको इन्टरनेट प्रसारण गर्नका लागि निर्माण गरिएका हुन् र यिनीहरूको आयु लगभग पाँच वर्षको हुन्छ । आफ्नो आयु पूरा गरेपछि तिनीहरू नियन्त्रित थ्रस्टर फायर गरेर वायुमण्डलमा पुन: प्रवेश गर्छन् र पूर्ण रूपमा जलेर नष्ट हुन्छन् ।

वायुमण्डलमा प्रदूषणको जोखिम

हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका डा. जोनाथन म्याकडोवेलका अनुसार यी स्याटलाइट जलेर नष्ट हुँदा पृथ्वीमा रहेका मानिसहरूलाई जोखिम नभए पनि प्रदूषकहरूले वायुमण्डललाई सम्भावित रूपमा हानि पुर्‍याउन सक्ने र यसले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान दिन सक्ने संभावना रहेको छ ।

डा. म्याकडोवेलले सन् २०२५ मा प्रतिदिन औसतमा एकदेखि दुई ओटा स्पेसएक्स स्याटलाइट कक्षबाट बाहिरिने गरेको तथ्याङ्क बाहिर ल्याएका छन् । उनले स्टारलिंक समूह बढ्दै जाँदा यो सङ्ख्या बढेर प्रतिदिन लगभग पाँच पुग्ने चेतावनी दिएका छन् ।

डा. म्याकडोवेलले अर्थस्काईलाई बताए अनुसार, 'मेगा कन्स्टेलेसन' को युगमा यी प्रभावहरू साँच्चै समस्याग्रस्त हुन पर्याप्त हुनेछन् कि छैनन् भन्ने कुरा अझै स्पष्ट छैन, यद्यपि यो नहुने पनि स्पष्ट छैन ।

यस वर्ष प्रक्षेपणको रेकर्ड

पछिल्लो स्टारलिंक प्रक्षेपणले स्पेसएक्सको अघिल्लो वार्षिक फाल्कन ९ प्रक्षेपणको रेकर्ड (१३२) को बराबरी गरेको छ, यससँगै सन् २०२५ को अन्त्य हुनुअघि दर्जनौँ थप प्रक्षेपणहरू योजनामा रहेका छन् ।

स्पेसएक्सले आफ्नो स्टारलिंक समूहलाई ४२ हजार स्याटलाइटसम्म विस्तार गर्ने लक्ष्य राखेको छ । यद्यपि हाल कम्पनीसँग केवल १२ हजार स्याटलाइट प्रक्षेपण गर्ने अनुमति मात्र छ । समूहको आकारको हिसाबले स्पेसएक्सको सबैभन्दा नजिकको प्रतिद्वन्द्वी वनवेब हो, जसका ६५१ स्याटलाइट सञ्चालनमा छन् । तथापि, चीनका केही प्रयासहरूले सन् २०३० को दशकसम्ममा पृथ्वीको परिक्रमा गर्ने १० हजारभन्दा बढी स्याटलाइट राख्ने लक्ष्य राखेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ ९:३४