close

पठाइसकेको मेल ३० सेकेन्डभित्र अनसेन्ड गर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक ८, २०८२ १६:५२

पठाइसकेको मेल ३० सेकेन्डभित्र अनसेन्ड गर्ने तरिका

काठमाडौँ । आधिकारिक तथा व्यावसायिक काममा ईमेल पठाउन जिमेलको प्रयोग निकै हुने गर्छ । कहिलेकाहीँ ईमेल पठाइसकेपछि त्यसलाई विभिन्न कारणले फिर्ता लिनुपर्ने (अनसेन्ड गर्नुपर्ने) हुनसक्छ ।

पठाइसकेपछि टाइप गर्दा गल्ती (टाइप एरर) भएको थाहा हुन सक्छ, एउटा फाइल पठाउनुपर्नेमा अर्कै फाइल गएको हुनसक्छ वा तपाईंको विचार नै परिवर्तन भएको हुनसक्छ । यस्तो अवस्थामा ईमेल अनसेन्ड गर्नु नै उत्तम विकल्प हो । तर, त्यसका लागि जिमेलमा एउटा सेटिङ मिलाउनुपर्ने हुन्छ ।

यस लेखमा जिमेलमा ईमेल पठाइसकेको ३० सेकेन्डभित्र कसरी अनसेन्ड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ । त्यसका लागि तलका प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले ब्राउजरमा जिमेल (gmail.com) खोल्नुहोस् ।

 

  • त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङ्सको आइकनमा क्लिक गर्नुहोस् । 

  • अनि, ‘सि अल सेटिङ्ग्स’ लेखेको बटन क्लिक गर्नुहोस् ।

  • त्यसपछि ‘अनडु सेन्ड’ (Undo Send) को अप्सनमा जानुहोस् । 

  • त्यसको छेउमा ‘सेन्ड क्यान्सिलेसन पिरियड’ (Send Cancellation Period) लेखेको देखिन्छ । त्यसमा डिफल्ट रूपमा ‘५’ सेकेन्ड छानिएको हुन्छ । 

  • उक्त अप्सनमा गएर आफ्नो आवश्यकता अनुसार १०, २० वा ३० सेकेन्डसम्मको अप्सन छान्न सक्नुहुन्छ । र, अन्तिममा ‘सेभ चेन्जेज’ को बटनमा क्लिक गरेर सेभ गर्नुहोस् ।

यदि तपाईंले ३० सेकेन्डको अप्सन छान्नुभयो भने कसैलाई मेल पठाएको ३० सेकेन्डभित्र अनसेन्ड गर्न सक्नुहुन्छ । त्यसपछि भने उक्त मेल अनसेन्ड गर्न सकिंदैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ १८:३५