विन्डोजमा लुकेको ‘इमर्जेन्सी शटडाउन फिचर’, कम्प्युटर ह्याङ हुँदा बन्न सक्छ सही विकल्प
कात्तिक ९, २०८२ १३:२
काठमाडौँ । सामान्यतया जब विन्डोजमा नयाँ फिचर सार्वजनिक हुन्छ, तब माइक्रोसफ्टले सबैलाई जानकारी गराउन ब्लगपोस्टमार्फत् त्यसको व्यापक प्रचार गर्ने गर्छ । यदि माइक्रोसफ्टले त्यसो गरेन भने प्रयोगकर्ताले अपडेटपछि उक्त फिचर पत्ता लगाइ नै हाल्छन् ।
तर, कहिलेकाहीँ उपयोगी फिचरहरू यस्ता पनि हुन्छन्, जुन वर्षौँसम्म कसैले देखेकै हुँदैनन्, लुकेर बसेका हुन्छन् । अथवा धेरै पछि मात्रै चाल पाउँछन् ।
विन्डोज ११ (Windows 11) मा रहेको त्यस्तै एउटा फिचर बारे यहाँ चर्चा गर्दैछौँ । त्यो हो, Emergency Restart । यो एउटा अज्ञात, तर उपयोगी विधि हो । केही रेडिट प्रयोगकर्ताले यो जानकारी सन् २०२२ मै शेयर गरेका रहेछन् । यद्यपि अन्य प्रयोगकर्ताहरूका अनुसार यो विधि Windows XP (२० वर्षअघि आएको संस्करण) मा पनि उपलब्ध रहेको दाबी गरिएको छ ।
Emergency Restart मा पहुँच पाउन तपाईँले आफ्नो कम्प्युटरमा CTRL + ALT + DEL थिच्नुपर्छ । यो त सामान्य प्रक्रिया नै भयो । तर यस पटक CTRL + ALT + DEL थिचेपछि आउने विकल्पपछि CTRL थिचेको समयमा तल्लो दायाँ कुनामा रहेको Power Button मा क्लिक गर्नुपर्छ । त्यसो गरेपछि तपाईँको स्क्रिनमा एउटा मेसेज देखिन्छ ।
“Emergency restart, Click OK to immediately restart. Any unsaved data will be lost. Use this only as a last resort.” अर्थात् “ईमर्जेन्सी रिस्टार्टः OK थिच्दा तुरुन्तै कम्प्युटर रिः स्टार्ट हुनेछ । सेभ नगरिएका सबै डेटा हराउनेछन् । यसलाई अन्तिम विकल्पको रूपमा मात्रै प्रयोग गर्नु होला ।”
त्यसपछि OK बटन क्लिक गर्नासाथ तपाईँको कम्प्युटर बन्द भएर फेरि सामान्य रूपमा सुरु हुन्छ । अब तपाईँ सोच्न सक्नुहुन्छ, “यो आपत्कालीन विधि र सामान्य रिस्टार्टमा के फरक छ ?”
यसको उत्तर माथिको अन्तिम वाक्यमा लुकेको छ । “last resort” अर्थात् अन्तिम उपाय/विकल्प । यो विधि “hard reset” को विकल्प हो । यसलाई कम्प्युटरको पावर बटन लामो समय थिचेर जबर्जस्ती बन्द गर्ने प्रक्रियाको सफ्टवेयर संस्करण भन्न सकिन्छ ।
यो Emergency Restart विशेषरूपमा तब उपयोगी हुन्छ, जब तपाईँको कम्प्युटर पूर्ण रूपमा ‘फ्रिज’ (अर्थात् ह्याङ हुन्छ वा चल्दैन) अवस्थामा पुग्छ र CTRL + ALT + DEL बाहेक कुनै पनि कमाण्डले प्रतिक्रिया दिँदैनन् । यो तरिका विशेषगरी त्यस्ता ल्यापटपका लागि उपयोगी हुन्छ, जसमा छुट्टै पावर बटन उपलब्ध छैन ।
Emergency Restart प्रयोग गर्दा कुनै हानी हुँदैन । यद्यपि यो अन्तिम उपायका लागि बनाइएको विधि हो, तपाईँले चाहेमा यसलाई बारम्बार पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँ अर्को तरिका चाहनुहुन्छ भने Command Prompt खोल्नुहोस् र shutdown /r टाइप गरेर इन्टर थिचेपछि कम्प्युटर रिस्टार्ट हुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १३:२
