close

सुझाव विपरीत पटाका पट्काउनेलाई ध्रुव राठीको व्यङ्ग्य: गोबर नखानु स्वास्थ्यका लागि हानिकारक हो

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १७:२७

सुझाव विपरीत पटाका पट्काउनेलाई ध्रुव राठीको व्यङ्ग्य: गोबर नखानु स्वास्थ्यका लागि हानिकारक हो

काठमाडौँ । भारतीय युट्युबर ध्रुव राठीले दिवालीमा पटाका नबाल्न दिएको सुझावलाई उल्टो तरिकाले लिएर झन् बढी पटाका पड्काउनेलाई कडा व्यङ्ग्य गरेका छन् । उनले सुझाव नमानेर आफैँलाई हानि पुर्‍याउने प्रवृत्तिमाथि प्रहार गर्दै अब अर्को सुझाव दिएका छन्, “गोबर नखानु, स्वास्थ्यका लागि हानिकारक हो ।”

दीपावली अघि राठीले आफ्नो सामाजिक सञ्जालमा एक भिडिओ राख्दै भारतमा हुने अत्यधिक वायु प्रदूषणलाई ध्यानमा राखेर पटाका तथा आतसबाजी प्रयोग नगर्न आग्रह गरेका थिए । उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो र यसमाथि मिश्रित प्रतिक्रिया आए ।

केहीले उनको सुझावलाई समर्थन गर्दै प्रदूषणले सबैको स्वास्थ्यमा गम्भीर असर पार्ने बताए भने केहीले यसलाई ‘हिन्दु धर्मविरोधी’ भन्दै उनको मजाक उडाए । यही क्रममा राठीको विरोध गर्नेले उनलाई जिस्काउनकै लागि पहिलेभन्दा दोब्बर पटाका किन्ने र पड्काउने भन्दै सामाजिक सञ्जालमा गर्वका साथ पोस्ट गरे ।

दीपावलीपछि भारतका मुख्य सहरहरूको वायु गुणस्तर सूचकाङ्क (AQI) खतरनाक स्तरमा पुगेपछि राठीले अर्को भिडिओमार्फत प्रतिक्रिया दिए । उनले भने, “धेरैले मलाई जिस्काउन ट्वीट गरे कि ‘ध्रुव राठीले नकिन्नु भनेकाले अब म झन् धेरै पटाका किन्छु ।’ तर तपाईँहरूले जतिसुकै पटाका बाले पनि मेरो व्यक्तिगत जीवनमा कुनै असर परेको छैन ।”

उनले आफ्नो घरभित्रको एयर क्वालिटी मनिटर देखाउँदै त्यहाँको हावा स्वच्छ रहेको तर भारतका सहरको अवस्था भयावह बनेको तथ्य प्रस्तुत गरे । उनले भने, “मैले जे भनेको थिएँ, त्यो तपाईँहरूकै फाइदाका लागि थियो । आज कुनै पनि भारतीय सहरको एक्यूआई हेर्नुहोस् । मुम्बईको २०० नाघेको छ र यो पराल जलाएर भएको होइन ।”

राठीले एक अध्ययनलाई उद्धृत गर्दै पटाका बाल्ने व्यक्तिको सबैभन्दा नजिकको हावामा ‘PM 2.5’ को मात्रा ५० हजार माइक्रोग्राम प्रति मिटर क्युबसम्म पुग्ने बताए । जुन स्वास्थ्यका लागि अत्यन्तै खतरनाक हो । उनले भने, “पटाका बाल्दा सबैभन्दा बढी असर पटाका बाल्ने व्यक्ति र उसको वरपरका परिवारलाई नै हुन्छ । यसले घाँटीमा जलन, खोकी, ब्रोन्काइटिस र फोक्सोको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य जोखिम बढाउँछ ।”

उनले आफ्नो सुझाव विपरीत गएर आफ्नै स्वास्थ्यलाई हानि पुर्‍याउनेहरूलाई ‘आफ्नै खुट्टामा बन्चरो हानेकोमा बधाई’ भन्दै व्यङ्ग्य गरे । उनले थपे, “आशा छ, अर्को दीपावलीसम्म यो सानो कुरा बुझाइमा आउनेछ । किनभने म आफ्ना कमजोर विद्यार्थीको हात कहिल्यै छोड्दिनँ ।”

यही घटनाक्रमलाई जोड्दै उनले गरेको पछिल्लो व्यङ्ग्यात्मक पोस्टले असल सुझावलाई पनि केवल विरोधका लागि उल्टो मान्ने प्रवृत्तिमाथि गहिरो प्रहार गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १७:२८