यसरी अनलाइनबाटै सच्याउनुहोस् मतदाता नामावलीमा भएको त्रुटि वा फेर्नुहोस् मतदान केन्द्र
कात्तिक १०, २०८२ १३:२३
काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका मतदाता नामावलीमा नयाँ नाम दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउन र मतदाता नामावली सार्ने सुविधा पनि दिएको छ ।
मतदाता नामावलीमा तपाईंको नाम दर्ता छ तर, त्यसमा भएका विवरणमा त्रुटि छ भने पनि आउँदो ३० कात्तिकसम्म सच्याउन सक्नुहुन्छ । यसका साथै तपाईंले बसाईसराई वा विवाह गरेर अन्यत्र सर्नुपर्ने भएमा पनि मतदाता नामावली सम्बन्धित ठाउँमा सार्न सक्नुहुन्छ ।
त्रुटि सच्याउन र मतदाता नामावली सार्ने प्रक्रिया
मतदाता नामावलीमा नाम दर्ता मात्रै नभएर दाखिला भएको मतदाता विवरणमा भएका त्रुटि सच्याउन र मतदान केन्द्र सार्न पनि अनलाइनबाट प्रि-रजिस्ट्रेसन गर्न सकिन्छ ।
-
यसका लागि सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक वेबसाइटको लिङ्कमा जानुहोस् ।
-
त्यसपछि मतदाता नामावली प्रि-रजिष्ट्रेसन र अध्यावधिकको विकल्प देख्नुहुनेछ ।
-
त्यसमा क्लिक गरेपछि एउटा नयाँ दर्ता र अर्को ‘नामावली अद्यावधिक’ देख्नुहुनेछ ।
-
‘नामावली अद्यावधिक’मा क्लिक गर्नुहोस् ।
-
त्यसपछि यो इन्टरफेस खुल्नेछ । जहाँ तपाईंले आफ्नो मोबाइल नम्बर हाल्नुपर्नेछ ।
-
मोबाइल नम्बर हालेपछि तपाईंको फोनमा ओटीपी नम्बर मेसेजमार्फत प्राप्त हुनेछ ।
-
त्सपछि तपाईंले यसअघि मतदाता नामावली दर्ता गरेको विवरणसहित देख्नुहुनेछ ।
-
सोही मोबाइल नम्बरमार्फत तपाईंले आफ्नोसँगै आफ्ना परिवारका सदस्यको नामावलीमा रहेको त्रुटि सच्याउन वा मतदान केन्द्र परिवर्तनको प्रक्रिया अघि बढाउन सक्नुहुन्छ । त्यसका लागि ‘नयाँ अनुरोध’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसका लागि सम्बन्धित व्यक्तिको मतदाता नम्बरसँगै नागरिकता नम्बर वा जन्ममिति अनिवार्य चाहिन्छ ।
-
उल्लेखित विवरणहरू हालेपछि मतदाता विवरण संशोधनको अनुसूची देख्नुहुनेछ । त्यसमा चार ओटा विकल्प देख्नुहुनेछ । अनुसूची-२ मतदाता नामावीमा त्रुटि सच्याउनुपर्ने । अनुसूची-३ झुट्टा विवरण दिई मतदाता नामावलीमा समावेश भएको उजुरी, अनुसूची-४ मतदाता नामावलीमा दोहोरो परेको नाम हटाउने र अनुसूची-६ मा मतदाता नामावली सार्ने सम्बन्धी विवरण-ठाउँ सारी उल्लेख छ ।
-
मतदाता नामावलीमा त्रुटि छ भने तपाईंले अनुसूची-२ छनोट गर्नुहोला ।
-
छनोट गरेपछि मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने फारामको ढाँचा खुल्नेछ । फाराममा त्रुटि भएको विवरण एकतिर छ भने त्यसको दायाँ भागमा हुनुपर्ने विवरण देख्नसक्नु हुन्छ । सच्याउनका लागि तल फोटोमा देखाइएजस्तो रातो घेरामा रहेको संकेतमा थिचेर जुन विवरणमा त्रुटि भएको हो त्यहाँ गएर सच्याउन सक्नुहुन्छ ।
-
सच्याउनुपर्ने विवरण समावेश गरेपछि त्यसलाई प्रमाणित गर्ने सरकारी कागजात जस्तै नागरिकता, विवाह प्रमाणपत्र, बसाईसराईको प्रमाणपत्र अपलोड गर्नुपर्छ । याद गर्नुहोला त्यसरी अपलोड गरिने फाइलको आकार 500KB सम्म हुनुपर्छ ।
मतदाता केन्द्र सार्ने प्रक्रिया
-
यदि मतदान केन्द्र सार्नुपर्ने भए तपाईंले अनुसूची-६ छनोट गर्नुपर्छ ।
-
त्यसपछि मतदाता नामावली सार्नको लागि दिने दरखास्तको ढाँचा देख्नुहुनेछ । माथिल्लो भागमा तपाईंको हाल रहेको विवरण र कायम रहेको ठेगाना देखिन्छ । त्यसको तलपट्टि सार्नुपर्ने ठेगाना रहेको छ । सार्नुपर्ने ठेगाना तपाईंले प्रमाणित कागजातअनुसार भरेर निवेदन दर्ता गराउन सक्नुहुन्छ । यसका लागि पनि तपाईंले आफ्नो नागरिकताको प्रमाणपत्र, विवाह प्रमाण पत्र, स्थायी बसाईंसराई प्रमाणपत्र वा अन्य प्रमाणित सरकारी कागजात अनिवार्य अपलोड गर्नुपर्छ ।
यी कामका लागि तपाईं भौतिकरुपमा निर्वाचन कार्यालय पुगिरहनु पर्दैन । सबै काम अनलाइनबाटै हुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ १३:२९
