close

विद्यालयका लागि ७ लाखमा कम्प्युटर खरिद गर्दा समेत भ्रष्टाचार, ३ जनाविरुद्ध अख्तियारको मुद्दा

टेकपाना टेकपाना

कात्तिक १०, २०८२ २०:०

विद्यालयका लागि ७ लाखमा कम्प्युटर खरिद गर्दा समेत भ्रष्टाचार, ३ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । स्याङ्जाको एक विद्यालयमा करिब सात लाख रुपैयाँमा कम्प्युटर खरिद गर्दा भ्रष्टाचार भएको पाइएको छ । सूचना तथा प्रविधि (आईसीटी) कार्यक्रमअन्तर्गत प्राप्त बजेटबाट खरिद गरिएका उपकरण विद्यालयमै नलगी अनियमितता गरिएको खुलासा भएको हो ।

नक्कली दाखिला प्रतिवेदन बनाएर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार स्याङ्जाको गल्याङ–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयले आईसीटी कार्यक्रमअन्तर्गत ६ लाख ७४ हजार ४५ रुपैयाँ बजेट प्राप्त गरेको थियो । सो रकममा सात थान डेस्कटप कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर खरिद गरिएको थियो ।

तर, ती उपकरणहरूमध्ये दुई थान कम्प्युटर, एक प्रोजेक्टर र एक प्रिन्टर विद्यालयमा नपुर्‍याई अन्यत्रै लगिएको आरोप लगाइएको छ । नक्कली दाखिला प्रतिवेदन तयार गरी उनीहरूले करिब दुई लाख १७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

मुद्दामा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, प्रधानाध्यापक रविलाल लुइँटेल र लेखापाल छविलाल गाहालाई प्रतिवादी बनाइएको छ । अख्तियारले तीनै जनाविरुद्ध जनही चार लाख ७१ हजार रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ २०:०