काठमाडौँ । महिला अधिवक्तालाई सामाजिक सञ्जालमा अपशब्द बोलेको आरोपमा मुद्दा खेपेका खगेन्द्र सुनार ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । बिहीबार काभ्रेपलाञ्चोक जिल्ला अदालतकका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सुनार उक्त रकम बुझाएर रिहा भएका हुन् ।
आफूलाई दलित अभियन्ताका रूपमा चिनाउने सुनारमाथि अधिवक्ता मनिषा गौतमको तस्बिर सार्वजनिक गर्दै अपशब्दहरू प्रयोग गरेको तथा सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोप लागेको छ ।
त्यसपछि गौतमले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उक्त उजुरीलाई ब्युरोले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको थियो । काभ्रे प्रहरीले २ साउनमा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।
त्यसपछि सुनारको गृह जिल्ला दैलेखबाट ५ साउनमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सोही मुद्दामा बयान र थुनछेक बहसपछि ५० हजार धरौटीमा छाडिएको अदालतकी श्रेस्तेदार इन्दिरा कार्की गेलालले टेकपानालाई जानकारी दिइन् ।
पछिल्लोपटक मन्त्रिपरिषद् विस्तारका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सुनारको नाम सिफारिस भएको समाचार सार्वजनिक भएसँगै उनको उक्त मुद्दा फेरि चर्चामा आएको थियो । विवादित पृष्ठभूमिका कारण उनलाई सिफारिस सूचीबाट हटाइएको चर्चा समेत चलेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १८:१
