close

विश्वकप फ्रीमा देखाउने भन्दै मालवेयरको बिगबिगी, साइबर ब्युरोले भन्यो- अनावश्यक एप डाउनलोड नगर्नू

टेकपाना टेकपाना

असार १, २०८३ १७:११

विश्वकप फ्रीमा देखाउने भन्दै मालवेयरको बिगबिगी, साइबर ब्युरोले भन्यो- अनावश्यक एप डाउनलोड नगर्नू

काठमाडौँ । फिफा विश्वकप २०२६ निःशुल्क रूपमा हेर्न सकिने प्रलोभन देखाई विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेपछि साइबर ब्युरोले सर्वसाधारणलाई पुन: सचेत गराएको छ । ब्युरोले सोमबार एक सूचना जारी गर्दै अनधिकृत एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको हो । 

पछिल्लो समय सामाजिक सञ्जालमा देखिने विभिन्न विज्ञापन तथा अनलाइनका अन्य माध्यममा विश्वकप २०२६ निःशुल्क हेर्न सकिने भ्रम फैलाउने गरिएको ब्युरोले जनाएको छ । यस क्रममा प्रयोगकर्तालाई एन्ड्रोइड इन्स्टलर फाइल अर्थात् डट एपीके (.apk) डाउनलोड गर्न लगाई मोबाइलका विभिन्न संवेदनशील पर्मिसन स्वीकृत गराउने गरिन्छ । 

ती पर्मिसन पाएपछि गरेपछि अनाधिकृत व्यक्तिले प्रयोगकर्ताको मालवेयरको सहायताले मोबाइल बैंकिङ एप ह्याक गरी ठुलो परिमाणमा आर्थिक ठगी गर्ने गरेको ब्युरोको भनाइ छ ।

यस प्रकारको साइबर ठगीबाट बच्नका लागि साइबर ब्युरोले प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरेको छ । ब्युरोले डट एपीके (.apk), डट इएक्सई (.exe), डट ब्याट (.bat), डट एसएच (.sh) जस्ता शङ्कास्पद एक्सटेन्सन भएका कुनै पनि अनावश्यक एप डाउनलोड वा इन्स्टल नगर्न सचेत गराएको छ । साथै, बैंक तथा वित्तीय संस्थाको बैंकिङ सिस्टम अपडेट गर्दा सधैं सम्बन्धित संस्थाको आधिकारिक सूचना र विश्वसनीय माध्यम मात्र प्रयोग गर्न भनिएको छ । 

यदि कसैले त्यसरी ठगी गर्ने प्रयास गरेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोको इमेल [[email protected]] मा उजुरी दिन ब्युरोले आग्रह गरेको छ । विश्वकपको माहोल सुरु भएपछि नै यस्ता ठगी गतिविधि बढेको भन्दै ब्युरोले निरन्तर सचेत गराउँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १, २०८३ १७:४२