सेक्युरिटी गार्डको काम गरिरहेका अब्दुल अलीम यसरी बने जोहो कर्पोरेसनका सफ्टवेयर इन्जिनियर
कात्तिक १५, २०८२ १०:७
काठमाडौँ । झन्डै १२ वर्षअघि सन् २०१३ तिर भारतको आसामस्थित बारपेटा जिल्लाका अब्दुल अलीमले आफ्नै खुट्टामा उभिने अभिलाषा बोकेर घर छाडे । उनले घरबाट जम्मा एक हजार भारु लगेका थिए । जब उनी टिकट काट्न गए, चेन्नईसम्मको टिकटको मूल्य ८०० भारु पर्न गयो । त्यसपछि उनीसँग २०० भारु मात्र बाँकी थियो ।
चेन्नईको तमिलनाडु राज्यमा उनी कामको खोजीमा भौँतारिए । झन्डै दुई महिना उनको जीवन निकै कष्टकर बन्यो । त्यसपछि उनले जोहो कर्पोरेसनमा सेक्युरिटी गार्डको जागिर पाए । “म चेन्नईमा काम खोज्नै आएको थिएँ,” अलीम विगत सम्झिन्छन्, “त्यस बेला मेरो काम कार्यालय आउने कर्मचारीको ल्यापटप स्क्यान गर्ने थियो ।”
कर्मचारीको ल्यापटप जाँच्ने काममा भविष्य छैन भन्ने उनले बुझिसकेका थिए । तर, विकल्प पनि अरू केही थिएन । यो पनि बल्लतल्ल पाएको जागिर थियो । उनी भन्छन्, “म जुन भूमिकामा थिएँ, त्यसबाट मेरा आकाङ्क्षाहरू पूरा गर्ने धेरै अवसर थिएनन् । मेरो जीवन यसरी नै बित्ने हो कि भन्ने सोच्थेँ ।”
एक दिन उनले अफिसका एक सिनियर कर्मचारीले कम्प्युटरमा कोडिङ गरेको एक टकले हेरिरहेका थिए । उनलाई देखेपछि ती कर्मचारीले सोधे, “नाम के हो तिम्रो ?” अलीमले आफ्नो नाम सुनाए । ती कर्मचारीले पुनः प्रश्न तेर्साए, “अलीम, म तिम्रा ती आँखामा केही देखिरहेको छु । कति पढेका छौ तिमीले, कम्प्युटर सिकेका छौ ?”
अलीमले जवाफ फर्काए, “मैले स्कुलमा एचटीएमएलबारे केही सिकेको छु ।” त्यसपछि ती कर्मचारीले अलीमलाई फुर्सदको समयमा सिक्नका लागि प्रेरित गरे । अलीम पनि उत्साहित थिए । १२ घण्टाको ड्युटी सकेपछि उनी ती सिनियर कर्मचारीसामु जान्थे र उनले सिकाएका कुराहरू अनुसरण गर्थे ।
यसरी अलीमको आठ महिना प्रोग्रामिङ सिकेरै बित्यो । उनी थप्छन्, “झन्डै आठ महिनापछि मैले एउटा सानो एप बनाएँ । त्यो एपले प्रयोगकर्ताको इन्पुट लिएर भिजुअलाइज गर्थ्यो ।”
तिनै सिनियर कर्मचारीले उक्त एप मेनेजरलाई देखाए । कामबाट प्रभावित मेनेजरले अलीमको अन्तर्वार्ता लिएर इन्जिनियरको भूमिकामा राख्ने योजना बनाए । तर, अलीमलाई डर थियो ।
१० कक्षासम्म मात्र पढेका उनलाई सफ्टवेयर इन्जिनियरको जागिर पाउँछु भन्ने रत्तिभर विश्वास थिएन । तर, उनी आशावादी थिए । उनले अन्तर्वार्ता लिने मेनेजरलाई भनेका थिए, “कक्षा १० सम्म मात्र पढेको म । न कलेज गएको छु, न अरू केही पढेको छु । मेरो अन्तर्वार्ता हुन्छ र ?”
मेनेजरले जवाफ फर्काए, “जोहोमा कलेज डिग्री आवश्यक पर्दैन । यहाँ तिमी र तिम्रो सीपले खास अर्थ राख्छ ।”
अलीमले अन्तर्वार्ता दिए र उनी पास भए । उनलाई यो सफलताको शिखरसम्म पुर्याउने ती सिनियर कर्मचारी शिवु एलेक्सिस थिए । उनकै प्रेरणाले सेक्युरिटी गार्डका रूपमा काम गर्ने अलीम सफ्टवेयर इन्जिनियर बने ।
अलीमले आफ्नो यो प्रेरणादायी यात्राका बारेमा २०२१ तिर लिङ्क्डइनमा राखेका थिए, जुन पोस्ट व्यापक भाइरल भएको थियो । त्यति बेला अलीमले जोहोमा सफ्टवेयर इन्जिनियरको भूमिकामा काम गरेको ८ वर्ष पूरा भएको थियो । अहिले उनी जोहोमा काम गर्न थालेको १२ वर्ष भइसकेको छ ।
भारतले स्थानीय प्रविधि कम्पनीलाई प्राथमिकता दिने रणनीति अगाडि सारेपछि जोहो कर्पोरेसन चर्चामा छ । यही कम्पनीको ईमेल सेवा र इन्स्ट्यान्ट मेसेजिङ एपहरू चर्चित छन् । गुगल र माइक्रोसफ्टको इकोसिस्टमलाई चुनौती दिएर भारतलाई आत्मनिर्भर बनाउने अभियानमा जोहो अगाडि बढेको छ । यही सन्दर्भमा त्यहाँको वर्क कल्चरबारे चर्चा हुँदा अलीमको नाम फेरि चर्चामा आइरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १०:७
