अब एनसेलको डेटा प्याक किन्दा ग्राहकले बीमा सुविधा पनि पाउने, मेटलाइफसँग सहकार्य
कात्तिक २०, २०८२ १३:४२
काठमाडौँ । एनसेलले मेटलाइफ नेपालसँगको सहकार्यमा ‘डेटासँगै जीवन बीमा’ योजना सुरु गरेको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकसाथ पाउने छन् ।
नेपालमै पहिलो पटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्ने बताइएको छ । जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुनेछ ।
दुई प्याकेज मध्ये पहिलोमा करसहित ९९ रुपैयाँको प्याक रहेको छ । तीन दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, दुई लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा र दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ ।
दोस्रोमा ३९ रुपैयाँको प्याक रहेको छ । यो प्याकमा एनसेल प्रयोगकर्ताहरूले तीन दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रुपैयाँ बराबरकै घातक रोग बीमा पाउने कम्पनीले जनाएको छ ।
यी दुवै बीमा सुविधा प्याक खरिद गरेको मितिदेखि ३० दिनसम्म मान्य रहनेछन् । ग्राहकले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्नेछन् ।
यी प्याकहरू *१२३*४*६# डायल गरेर पनि लिन सकिने एनसेलले जनाएको छ । प्याक लिएका ग्राहकहरूले टर्म लाइफ इन्स्योरेन्स फाराम बुझाउने बित्तिकै यो योजना सुरु हुन्छ । क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुने बताइएको छ । यसको अर्थ कुनै ग्राहकले आज प्याक खरिद गरेको छ भने ३० दिनपछि त्यसको बीमा योजना सक्रिय भएर एक महिनासम्म कायम रहन्छ ।र
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट वन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठुलो महत्त्व राख्ने एनसेलको विश्वास छ ।
“मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुसी छौँ । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठुलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो उद्देश्य हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले उक्त साझेदारीको उद्देश्य पहिलो पटक, सानो र छोटो अवधिको डेटा खरिदबाट सम्बन्धित व्यक्ति तथा उनको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्रदान गराई सुरक्षित राख्नु रहेको बताए ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १३:५८
