काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पछिल्लो विवादित स्टाटसलाई लिएर एमाले निकट युवा संघको टोली साइबर ब्युरोमा पुगेको छ । बिहीबार दिउँसो उनीहरूले उक्त स्टाटससम्बन्धी उजुरी लिएर ब्युरोमा पुगेको ब्युरोका प्रवक्ता दीपक राज अवस्थीले जानकारी दिएका छन् ।
“उहाँहरूको टोलीले बालेनविरुद्धको उजुरी कार्यालय प्रमुखलाई हस्तान्तरण गर्नुभएको छ । दर्ता हुने वा नहुने बारेमा ब्युरोले पछि निर्णय गर्नेछ,” अवस्थीले टेकपानासँग भने ।
गत शनिबार मध्यराति स्टाटस पोस्ट गर्दै बालेनले अमेरिका, भारत र चीनसँगै नेपालका प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै अशोभनीय अंग्रेजी शब्द प्रयोग गरेका थिए । तर केही समयमै उनको अकाउन्टबाट उक्त पोस्ट हट्यो ।
बालेनको पोस्टको स्क्रिनशट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही पोस्टले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघको टोली साइबर ब्युरो पुगेको हो ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १६:५७
