फ्याक्टचेक: रविको समर्थनमा सिंहदरबारतर्फ जनसागर उर्लियो भन्दै राजावादी प्रदर्शनको पुरानो भिडिओ भाइरल
कात्तिक २०, २०८२ २३:८
काठमाडौँ । सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा बाक्लो भीड सिंहदरबारतर्फ गएको दाबी सहित एक भिडिओ भाइरल भइरहेको छ । बुधबार लामिछाने जेनजी आन्दोलनसम्बन्धी अनुसन्धानका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन पुगेका थिए ।
सोही सन्दर्भमा उक्त भिडिओ भाइरल गरिँदै “रविको समर्थनमा जनसागर सिंहदरबारतर्फ” भन्ने दाबी गरिएको हो । तर टेकपानाको तथ्यजाँचबाट उक्त भिडिओ वास्तवमा रवि लामिछानेका समर्थकको नभई गत फागुनमा त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरूले गरेको प्रदर्शनको दृश्य भएको पुष्टि भएको छ ।
दाबी
रवि लामिछाने नख्खु कारागारबाट सिंहदरबारमा जाँदा ठुलो जनसागर उर्लिएको दाबी सहित फेसबुक पेज ‘Nepali Rajneeti News’ ले बुधबार दिउँसो २:५१ मा एक भिडिओ सार्वजनिक गर्यो । उक्त भिडिओमा लेखिएको छ, “रबि लामिछाने को बयान को लागि नख्खु कारागार बाट सिंहदरबार” । उक्त भिडिओलाई यो सामाग्री तयार पार्दासम्म चार लाख ३७ हजारभन्दा धेरै पटक हेरिएको छ । यस्तै २० हजार बढी लाइक र एक हजारभन्दा धेरै पटक शेयर गरिएको छ ।
भिडिओमा भनिएको छ, “साथीहरू आज रवि लामिछानेको बयानको लागि नख्खु कारागारदेखि सिंहदरबार लगिएको छ साथीहरू । एकदमै खुसीको कुरा छ । रबि लामिछानेलाई सिंहदरबार लगेसँगै समर्थकको बाक्लो भीड पनि देखिरहेको छ । रवि लामिछानेलाई न्याय देउ भन्दै जनताहरू सडकमा उत्रि रहेका छन् ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
सहकारी रकम हिनामिना गरेको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका थिए । तर, उनी कारागारबाट निस्किएको विषयलाई लिएर विवाद सुरु भएपछि पुन कारागार फर्किए । सोही विषयमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बयान लिन बोलाएपछि लामिछाने बुधबार दिउँसो सिंहदरबार पुगेका थिए ।
तर भाइरल भिडिओमा दाबी गरिए जस्तो लामिछाने सिंहदरबार पुगेपनि उनको समर्थनमा विशाल जनसागर उर्लिएको तथा सिंहदरबारतर्फ नारा जुलुस भएको समाचार कुनै मिडियामा सार्वजनिक भएका छैनन् ।
भाइरल भिडिओमा साँझको समयमा मानिसहरू नेपालको झण्डा लिएर हिँडिरहेको देख्न सकिन्छ । लामिछाने दिउँसोको समयमा सिंहदरबार बयानका लागि गएका थिए । सोही दिन दिउँसो २:५१ मा उक्त भिडिओ सार्वजनिक भयो । तर भिडिओमा साँझको समय देखिएकाले भाइरल भिडिओ बुधबारको होइन भन्ने स्पष्ट भयो ।
त्यसपछि हामीले भाइरल भिडिओमा देखिएको स्थान पत्ता लगाउने कोसिस गर्यौँ । उक्त दृश्य सिंहदरबार क्षेत्र तिरको नभई गौशाला चोकको रहेको जस्तो देखियो । त्यसपछि हामीले गुगल स्ट्रिट भ्युमा देखिने गौशाला चोकको दृश्य र भाइरल भिडिओमा देखिएको दृश्य दाँजेर हेर्यौँ ।
यसरी दाँजेर हेर्दा उक्त भिडिओ गौशालामा नै खिचिएको देखियो । त्यसपछि भिडिओबाट स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गरेर हेर्दा आठ महिना पहिला सार्वजनिक भएको भिडिओ फेला परे ।
१० मार्च (२६ फागुन) राति ८:४५ मा सामाजिक सञ्जाल प्रयोगकर्ता ‘Gyan Prasad Pandey’ ले सोही भिडिओ फेसबुकमा राखेका छन् । उक्त भिडिओमा उनले लेखेका छन्, “दृश्यमा देखिएका जति सबै मासु भात खुवाएर पेट्रोल हालेर ल्याईएका भाडाका प्रदर्शनकारी हरु त होलान हैन त ?” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
उक्त भिडिओमा कालो कारमा भएका व्यक्ति कारको हुटबाट निस्किएर वरपर भएका व्यक्तितर्फ हात हल्लाइरहेका छन् ।
२५ फागुनमा पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउँदा त्रिभुवन विमानस्थलमा हजारौँ राजावादीहरूले स्वागत गरेका थिए । उनलाई जुलुससहित महाराजगञ्जमा रहेको निर्मल निवाससम्म पूर्याएका थिए । उक्त शक्ति प्रदर्शनको बारेमा २५ फागुनमा रातोपाटीमा प्रकाशित फोटो फिचरको फोटोसँग भाइरल भिडिओ दाँजेर हेर्दा उक्त भिडिओ सोही दिनको रहेको पुष्टि भयो ।
दाबी
रवि लामिछानेको समर्थनमा बाक्लो भीड सिंहदरबारतर्फ गयो ।
दाबीकर्ता
‘Nepali Rajneeti News’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
सामाजिक सञ्जालमा रवि लामिछानेको समर्थनमा बाक्लो भीड सिंहदरबारतर्फ गएको भनिएको भिडिओ वास्तवमा आठ महिना पुरानो हो । गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै निर्मल निवाससम्म पुर्याउँदा राजावादीले देखाएको शक्ति प्रदर्शनलाई रवि लामिछानेको समर्थकको भीड भन्दै भ्रम फैलाइएको हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा रवि लामिछानेको समर्थनमा ठुलो भीड सिंहदरबारतर्फ गएको दाबीसहित भिडिओ भाइरल बनाइएको छ । तर उक्त भिडिओ आठ महिना पहिले राजावादीहरूले देखाएको शक्ति प्रदर्शनीको हो । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किएका थिए । सो समयमा राजावादीहरूले वृहत् जुलुससहित उनलाई त्रिभुवन विमानस्थलबाट स्वागत गर्दै चक्रपथको बाटोबाट महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याएका थिए । सोही भिडिओलाई रविको समर्थनमा सिंहदरबारतर्फ गएको भीड भन्दै भ्रम फैलाइएको टेकपाना तथ्य-जाँचको निष्कर्ष छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ २३:२०
