close

अनलाइन ठगीका घटना बढेपछि कास्की प्रहरीको आग्रह: ‘सामान हातमा परेपछि मात्र भुक्तानी गर्नुहोस्’

टेकपाना टेकपाना

कात्तिक २२, २०८२ १४:५८

अनलाइन ठगीका घटना बढेपछि कास्की प्रहरीको आग्रह: ‘सामान हातमा परेपछि मात्र भुक्तानी गर्नुहोस्’

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो समय अनलाइन ठगीका निवेदन व्यापक रूपमा बढेको भन्दै आमउपभोक्तालाई सचेत रहन विशेष आग्रह गरेको छ । बढ्दो साइबर अपराधबाट जोगिनका लागि प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा ‘क्यास अन डेलिभरी’को भरपर्दो तरिका अपनाउन सुझाव दिएको हो ।

कार्यालयका अनुसार अनलाइनमा सस्तो मूल्यमा सामान पाइने लोभमा परेर उपभोक्ता ठगिने गरेका छन् । यो क्रम दिनानुदिन बढ्दै गएपछि प्रहरीले यस प्रकारको सावधानी अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको हो ।

प्रहरीका १० बुँदे मुख्य सुझावहरू:

जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन ठगीबाट बच्न निम्नअनुसारको सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ:

१. अनलाइनबाट सामान खरिद गर्दा सकभर क्यास अन डेलिभरी (COD) तरिकाले गर्ने, भरपर्दो बिक्रेताबाट मात्र कारोबार गर्ने, महँगो सामानहरू अपत्यारिलो सस्तो मूल्यमा पाएमा स्क्याम वा चोरीको सामान हुन सक्ने हुँदा सतर्क रहने ।

२. अनलाइनमा सस्तो दरमा सामान देखाई अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन शेयर नगर्ने ।

३. कोही साथीभाई वा आफन्तको आईडीबाट विभिन्न समस्या दर्साई सामाजिक सञ्जालमा आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गरेर मात्र सहयोग गर्ने ।

४. अपरिचित व्यक्तिले विदेशबाट गिफ्ट पठाएको/बहुमूल्य सामान पठाएको छु केही रकम भन्सार तिर्नु पर्छ भन्ने कुराको विश्वास नगर्ने र रकम समेत नपठाउने ।

५. ट्याक्स अफिस, भन्सार कार्यालयमा पार्सल रोकिएकोले ट्याक्स बापतको पैसा हाल्न भनेमा सम्बन्धित कार्यालयमा स्वयं टेलिफोन गरी यकिन गर्ने ।

६. सामाजिक सञ्जालमा अनलाइन जबको बहाना बनाई लगानी गरेमा दोब्बर फाइदा हुन्छ भनी पैसा हाल्न लगाउने तथा ठगी गर्ने हुँदा सजग रहने ।

७. वैदेशिक रोजगारीको लागि भरपर्दो माध्यम चयन गर्ने, पैसा दिँदा बैंक मार्फत स्पष्ट वैदेशिक रोजगारीको लागि कारण खुल्ने गरी कारोबार गर्ने ।

८. सामाजिक सञ्जाल लगायत बैंकिङ एपहरूमा कठिन पासवर्ड सेट गर्ने ।

९. अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने, कुराकानी गर्नु परेमा आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्ने, आर्थिक सहयोग लगायत कुनै पनि बाहानामा नफस्ने ।

१०. सामाजिक सञ्जालमा आएका अपरिचित कल रिसिभ नगर्ने, सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्क नखोल्ने ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ १४:५८