close

आइकोनिक फन्ट ‘आकृति’का डेभलपर अशोकमान, जसले बनाए वाईवाईदेखि विद्युत प्राधिकरणको लोगो

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक २२, २०८२ १७:३१

आइकोनिक फन्ट ‘आकृति’का डेभलपर अशोकमान, जसले बनाए वाईवाईदेखि विद्युत प्राधिकरणको लोगो

काठमाडौँ । पाल्पाको तानसेनमा ९ असोज २०१२ मा जन्मिएका अशोकमान सिंको मानसपटलमा आज झन्डै छ दशकअघिको एउटा घटना ताजा छ । बाल्यकालदेखि नै चित्रकलामा विशेष रुचि भएका उनी एक दिन डुल्दै घर नजिकैको तिलक प्रेसमा पुगे । त्यो प्रेस प्रायः गाउँघरका बुज्रुक र पाका मानिसहरू भेला हुने चौतारीजस्तै थियो ।

प्रेसमा सुल्पाको धूवाँ उडाइरहेका वृद्ध अमृतलाल बज्राचार्यले उनलाई स्नेहपूर्वक बोलाए, “अशोक, यता आइजा त बाबु । ल ल बाबु, मैले तम्बाखु खाएको चित्र बना त ।”

बालसुलभ अशोकमान धक नमानी चित्र कोर्न तम्सिए । प्रेसका सञ्चालकले सादा कागज र सिसाकलम ल्याएर उनको हातमा थमाए । त्यसपछि प्रेसको पेटीमा बसेर तस्बीर कोर्न थाले । “मैले छोटो समयमै सुल्पा तानिरहेको चित्र बनाएर उहाँलाई देखाएँ,” आफ्नो सृजनात्मक यात्राको प्रारम्भिक अवस्था स्मरण गर्दै अशोकमान भन्छन्, “कस्तो थियो त्यो चित्र अहिले याद छैन मलाई । तर, चित्र देखेपछि सबैले तारिफ गरे र स्याबासी दिए । त्यो जमानामा मलाई २ रुपैयाँ पुरस्कार दिनुभयो ।”

जीवनमा पहिलो पटक मनले मानेको काम गरेर प्रशंसा र कमाइ दुवै हात परेपछि अशोकमान सिं उत्साहित बने । काम गरेपछि पैसा पनि पाइने र स्याबासी पनि मिल्ने भएपछि उनको कलाप्रतिको रुचि प्रगाढ हुँदै गयो । यसरी चित्रकलाबाट प्रारम्भ भएको अशोकमानको सृजनात्मक यात्राले पछि फोटोग्राफी, ग्राफिक्स डिजाइन, साहित्यकार र नेपालकै विशिष्ट टाइपोग्राफरसम्मको फराकिलो आयाम तय गरेको छ ।

व्यावसायिक फोटोग्राफीको यात्रा

अशोकमान सिंको यस यात्रामा उनका छिमेकी गंगाप्रसाद वैजु (श्रेष्ठ) को निकै महत्त्वपूर्ण भूमिका छ । १४ वर्षको उमेरदेखि नै उनी गंगाप्रसादको स्टुडियोमा पुग्थे । त्यहाँको काम देखेर कलाप्रति अशोकमानको अभिरुचि दिनानुदिन बढ्दै गयो । यसैबाट प्रभावित भएर गंगाप्रसादले उनलाई घरबाट चित्र बनाएर ल्याउन लगाउने र नमिलेका विषयमा सिकाउने गर्थे । साथै, स्टुडियोमा सँगै राखेर उनलाई चित्र बनाउने व्यवहारिक ज्ञान पनि दिए । यसबाहेक अशोकमानले फोटोग्राफीका काममा पनि हात हालेका थिए ।

तर, पछि गंगाप्रसादको स्टुडियो बन्द भयो । र, केही वर्षका लागि अशोकमानको सिक्ने अवसर रोकियो । गंगाप्रसादले फोटोग्राफी व्यवसाय छोडेर आफ्नो स्टुडियो बन्द गरे र राजमार्गको सडक बनाउने काममा लागे । त्यही कामको सिलसिलामा उनी तानसेन छोडेर धनगढी सरेका थिए । अशोकमान सम्झन्छन्, “उहाँले मलाई धनगढी लिएर जानुभयो, त्यहीँ मलाई फोटोग्राफी पनि सिकाउनु भयो ।”

यसबेला उनी १७ वर्षका भइसकेका थिए । काम सिकिसकेपछि थप अध्ययनका लागि कलकत्ता वा काठमाडौँ जाने सोच त्यागेर उनले ‘अशोक आर्ट स्टुडियो’ सञ्चालनमा ल्याए । उक्त स्टुडियोबाट उनले फोटोग्राफी, साइन आर्ट, फिल्मको पोस्टर निर्माण र चित्रकला सम्बन्धी कामहरू गरे । वि.सं २०३६ सालसम्म सो स्टुडियोले जेनतेन अशोकमानलाई पाल्पामै टिकाएको थियो ।

स्थानीय काम मात्र नभई जिल्ला बाहिरका कामहरू पनि उनलाई आउने गर्दथे । तर, आम्दानीको अवस्था र कलालाई महत्त्व दिने विषयका आधारमा उनको कामले पाल्पामा त्यति चर्चा पाउन सकेन । यसले गर्दा उनलाई जिल्ला बाहिर, सम्भवतः काठमाडौँमै आएर काम गर्ने इच्छा जागृत भयो ।

यही क्रममा एकपटक फिल्ड अध्ययनका लागि काठमाडौँबाट आएका ललितकला क्याम्पसका विद्यार्थीसँग उनको स्टुडियोमा भेट भयो । उनीहरूले अशोकमानले झुन्ड्याएका पेन्टिङ देखेर निकै प्रभावित भए । अशोकमान सम्झन्छन्, “कला क्षेत्रकै विद्यार्थीहरू मेरो पेन्टिङ देखेर दङ्ग हुनुभयो । त्यही टोलीका बैकुण्ठ श्रेष्ठले भिजिटिङ कार्ड दिएर मलाई काठमाडौँ आउन निमन्त्रणा दिनुभयो ।”

यस घटनापछि उनलाई जसरी भए पनि काठमाडौँ जानुपर्छ भन्ने भान हुन थाल्यो । काम गरिरहँदा पनि उनले काठमाडौँलाई नै सम्झिन थाले । फलतः स्टुडियो बन्द गरेर उनी वि.सं २०३७ सालमा काठमाडौँ लागे । “मलाई सैद्धान्तिक ज्ञान पनि चाहिन्छ भन्ने महसुस भएको थियो,” उनी सम्झिन्छन्, “त्यहीमाथि काठमाडौँ अवसरको सहर । त्यसैले उच्च अध्ययन र व्यवसाय वृद्धि गर्न काठमाडौँ आएँ ।”

काठमाडौँ प्रवेश र डिजाइन युगको सूत्रपात

२०३७ सालमा अशोकमान कलामा उच्च शिक्षा र व्यावसायिक फड्कोको खोजीमा काठमाडौँ प्रवेश गरे । उनले ललितकला क्याम्पसमा अध्ययन गरे र त्यहाँबाट उनको औपचारिक डिजाइन करियर सुरु भयो । पाल्पामा काम गरेर आफ्नो खर्च धानिरहेका उनलाई अध्ययनका क्रममा घरबाट खर्च मिलाउनु पर्ने अवस्था थियो । यहीबाट छुट्करा पाउन उनले काम खोजिरहेका थिए । “एकदिन कक्षामा पढिरहँदा दुई जना बाहिरको मान्छे आउनुभयो,” उनी सम्झिन्छन्, “शिक्षकलाई उहाँहरूले आफू सोल्टी होटलबाट आएको र अशोकमान सिंलाई खोजेको भन्नुभयो । सोल्टी होटेल भनेपछि त नाम चलेको ठुलै होटेल । मैले हात उठाएर ‘म हुँ अशोकमान’ भनेँ । त्यसपछि उहाँहरू सँगै पछि लागेर गएँ ।”

उनीहरू सोल्टी होटल अन्तर्गतको क्यासिनो नेपालले प्रकाशन सुरु गर्न लागेको पर्यटन पत्रिका ‘इन्जोय नेपाल’का लागि डिजाइनरको खोजीमा थिए । कसैले अशोकमानको नाम सुझाइदिएपछि उनीहरू कक्षामै उनलाई लिन गएका थिए । 

औपचारिक रूपमा अशोकमानको डिजाइनिङ यात्रा सुरु भयो, तर प्रविधि अझै दशकौँ पछाडि थियो । कम्प्युटरको आगमन नहुँदै अशोकमान र उनको टिमले सबै डिजाइन म्यानुअल प्रक्रियाबाट गर्थे ।

उनी सम्झन्छन्, “त्यो बेला हामीले सबै म्यानुअल गर्थ्यौं । कटिङ, पेस्टिङ, अक्षर हातले बनाउने, फोटो खिचेर टाँस्ने । यो नै डिजाइनको मुख्य प्रक्रिया थियो ।”

त्यो समयमा नेपालमा अपसेट प्रेस (उच्च गुणस्तरको प्रिन्टिङ प्रविधि) नभएकाले ‘इन्जोय नेपाल’ जस्ता गुणस्तरीय प्रकाशन छाप्न सिंगापुर वा बैङ्कक पठाउनुपर्थ्यो । डिजाइनरले यहाँ ओरिजिनल आर्टवर्क तयार गरेर विदेश पठाउनु पर्दथ्यो ।

डिजाइनरका लागि त्यो बेला ‘रिफ्रेन्स’को अभाव नै मुख्य चुनौती थियो । आज गुगलमा खोज्ने बित्तिकै हजारौँ विकल्प पाइन्छन् । तर त्यतिबेला कुनै पनि नयाँ कन्सेप्ट सिर्जना गर्दा डिजाइनरले शून्यबाट सुरु गर्नुपर्थ्यो ।

उनी त्यो बेलाको चुनौतीलाई आजको भन्दा फरक बताउँछन्, “पहिले रिफ्रेन्सको अभाव हुन्थ्यो । कसरी नयाँ आइडिया क्रिएट गर्ने भन्ने हुन्थ्यो । त्यसैले क्रियटिभिटी पनि बढी नै हुन्थ्यो । अहिले त रिफ्रेन्सको चुनौती छैन । तर, धेरै रिफ्रेन्स भएकाले कुन चाहिँ गर्ने, कसरी फरक देखिने बनाउने, कपिराइट नहोस् भनेर जोगिनुपर्ने वाध्यता छ ।”

वाईवाई र नेपाल विद्युती प्राधिकरणको आइकोनिक लोगो डिजाइन ! 

अशोकमानले केही समय ‘इन्जोय नेपाल’ पत्रिकाको प्रकाशनमा काम गरे । उक्त पत्रिका बन्द भएपछि त्यसको ठाउँमा ‘नेपाल ट्राभलर’ आयो । त्यस पत्रिकाको डिजाइनको काम त्यहींको मनि डिजाइन स्टुडियोले गरिरहेको थियो । 

त्यस स्टुडियोमा पनि अशोकमान मुख्य डिजाइनरकै भूमिकामा थिए । “बाहिर कस्तो लेआउट बनाउने, भित्र कस्तो बनाउने, कसरी आकर्षक बनाउने भन्ने सबै जिम्मा मेरो हुन्थ्यो,” उनी भन्छन् ।

त्यही क्रममा उनले काम गरिरहेको कम्पनीलाई वाईवाईको लोगो डिजाइन गर्ने काम आयो । मुख्य डिजाइनर अशोकमान रहेको उक्त प्रकाशनमा वाईवाईको लोगो बनाउने जिम्मा अशोकमानलाई आयो ।

“त्यसबेलादेखि अहिलेसम्मकै चर्चित चाउचाउ हो वाईवाई । चौधरी ग्रुपका मान्छेहरू हाम्रो स्टुडियोमा आउनुभयो र डिजाइनको काम दिनुभयो,” उनी सम्झिन्छन्, “डिजाइनदेखि पत्रिकामा विज्ञापन छाप्ने सबै काम एउटै ठाउँबाट हुने भएकाले त्यही किसिमका काम आइरहेका हुन्थे ।

“उनीहरू (चौधरी ग्रुप)ले थाइल्यान्डमा निस्केको ‘वाईवाई’ चाउचाउको र्‍यापरको स्याम्पल दिएका थिए । त्यही हेरेर, मैले नेपाली र अङ्ग्रेजीमा ‘वाईवाई’ लेखिने अक्षरको शैली बनाएँ,” अशोकमान सम्झिन्छन् । यो डिजाइन पनि पूर्ण रूपमा म्यानुअल थियो । उनले चाउचाउलाई बाउलमा राखेर फोटो खिच्ने, अक्षर हातले बनाउने, सबै काटेर टाँस्ने र त्यसको ‘ओरिजिनल’ आर्टवर्क कम्पनीलाई बुझाउने काम गरेका थिए । 

त्यसबेला कम्पनीको कर्मचारीका रूपमा काम गरेकाले अशोकमानले उक्त लोगो बनाएको श्रेय पाएनन् । महत्त्व नभएकाले त्यति वास्ता पनि गरेनन् । “केही वर्ष अगाडि एक विद्यार्थी मेरो अन्तर्वार्ता लिन आउनु भएको थियो । त्यहीबेला वाईवाईको लोगो बनाएको प्रसंग आयो । म त्यसको मुख्य आर्टवर्क लिन चौधरी ग्रुपको कार्यालयमा गएँ । तर, त्यहाँ भेटिएन । पछि उहाँहरूले लोगो बनाउने ‘म नै हुँ’ भन्ने चिनेपछि मेरो फोटो राख्नुभयो । तर, मास्टरकपी कता हरायो हरायो,” उनी भन्छन् । 

नेपाल विद्युत प्राधिकरणको लोगो पनि अशोकमानले २०४२ सालमा डिजाइन गरेका हुन् । अहिले पनि त्यही आइकोनिक लोगो प्रयोगमा छ । त्यसबाहेक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), मचान वाइल्डलाइफ क्याम्प र होटेल हिमालयको लोगो पनि अशोकमानले बनाएका हुन् । टाइगर ब्याट्री, एभरेस्ट टुथपेस्ट, विभिन्न मदिराका बोतलका डिजाइन र कामना पत्रिकाका आकर्षक हेडलाइन पनि हातले नै डिजाइन गरेको उनी सम्झिन्छन् । 

टाइपोग्राफीको क्रान्ति: कामनादेखि आकृति फन्टसम्म

झण्डै सात वर्षसम्म ‘नेपाल ट्राभलर’को मनि डिजाइन स्टुडियोमा काम गरेका अशोकमानले आफ्नै प्रकाशनमा अहोरात्र खटिने सङ्कल्प लिए । “२०४१ तिर साथीसँग मिलेर कामना पत्रिका सुरु गरेको थिएँ,” उनी भन्छन्, “मनोरञ्जन विधाबाट नेपालको दोस्रो तर पहिलो रङ्गिन पत्रका हो कामना ।” 

त्यसबखत उनले कम्प्युटर युगमा प्रवेश गर्नका लागि देवनागरी फन्टमा विविधता र आकर्षणको खाँचो बुझे । पत्रिकालाई थप आकर्षक बनाउन कार्टुन पनि समावेश गरे । त्यहीँबाट उनको रुचि कार्टुनितर पनि मोडियो । आज अशोकमान नेपालका मूर्धन्य कार्टुनिस्टको शीर्ष स्थानमा आउँछन् ।

वि.सं २०५२ (सन् १९९५) मा देवनागरी लिपीमा अङ्ग्रेजीको ‘बुकम्यान’ ढाँचामा आधारित रही ‘कामना’ नामक फन्ट निर्माण गरेका थिए । अशोकमानका अनुसार यो फन्ट विशेषगरी कामना र साधना पत्रिका तथा दैनिक समाचारपत्रहरूमा प्रयोगका लागि तयार पारिएको थियो ।

‘कामना’ फन्ट तयार भएलगत्तै अशोकमानले थप सात नयाँ आधुनिक शैलीका फन्टहरू तयार पारे । ती क्रमशः आकृति, नूरिशा ब्रशस्किप, साधना, महानगर, कुन्जन डेको र रविन बोल्ड हुन् । तीमध्ये सबैभन्दा चर्चित फन्ट आकृति हो । 

“आकृति भनेको चित्र भन्ने अर्थ लाग्छ । अक्षरको चित्र बनाएकाले त्यसलाई आकृति नाम दिइएको हो,” अशोकमान सुनाउँछन्, “आकृति फन्ट नेपालको पहिलो आधिकारिक रूपमा दर्ता भएको फन्ट हो । मसँग त्यसको प्रमाणपत्र छ ।” उनका अनुसार यस फन्टको कपिराइट उनले वि.सं २०५२ सालमै लिएका थिए ।

सुरुमा म्यानुअल रूपमा (हातले) तयार पारिएका यी सबै फन्टलाई विसं २०५४ (सन् १९९७) मा अशोकमानका भतिज डिजाइनर कुन्जन श्रेष्ठको सहयोगमा ‘फन्टोग्राफर’ सफ्टवेयर प्रयोग गरी कम्प्युटरमा डिजिटल स्वरूप दिइयो ।

‘आकृति’सँगै ‘कामना’, ‘ब्रश नूरिशा’ र ‘साधना’ पनि नेपाली ग्राफिक्स डिजाइनिङ क्षेत्रमा निकै प्रचलित फन्ट हुन् ।

यीबाहेक उनले भानुभक्त आचार्यले लेखेको ‘बाँसको कलम’ बाट लेखेको मौलिक स्क्रिप्टलाई अध्ययन गरेर ‘भानु’ फन्ट समेत बनाएका छन् । 

पाठ्यक्रम फन्ट

त्यस्तै उनले बनाएको पाठ्यक्रम फन्ट पाठ्यक्रम विकास केन्द्र लगायत धेरै सरकारी निकायमा प्रयोग भइरहेको छ ।

भानु फन्ट

फन्ट सिर्जनाको प्रविधिबारे बोल्दै उनी भन्छन्, “पहिला म्यानुअल्ली फन्टको आकार बनाउँथेँ, अनि स्क्यान गरेर ‘फन्टोग्राफर’ (fontographer) मा लगेर ट्रेसिङ र सेटिङ गर्नुपर्थ्यो ।” यो प्रक्रिया निकै जटिल थियो । किनभने देवनागरीको हरेक अक्षर (क, ख, ग) र मात्राको सिक्वेन्स मिलाउनुपर्थ्यो । आज केही डिजाइनरले उनको आकृति फन्टलाई परिमार्जन गरेर आफ्नै नाममा चलाउने गरेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

प्रविधिको छलाङ र डिजाइनरका चुनौती

अशोकमानको करियरको ५० वर्षको अवधिमा डिजाइन प्रविधिले आकाश पातालको फरक अनुभव गरेको छ । लेटर प्रेसबाट अपसेट प्रेसमा सर्दा प्रिन्टिङको गुणस्तर बढ्यो । जब डेस्कटप कम्प्युटिङ र डिजिटल डिजाइन (इल्युस्ट्रेटर, फोटोशप, इनडिजाइन) को युग आयो, त्यसले डिजाइनको गति र पहुँचमा क्रान्ति ल्यायो ।

अशोकमानले यस परिवर्तनलाई स्वीकारे र अहिले पनि उनी आफ्नो डिजाइन कार्यमा ‘इनडिजाइन’, इल्युस्ट्रेटर र फोटोशप जस्ता सफ्टवेयर प्रयोग गर्छन् । तर, उनी प्रविधिलाई ‘माध्यम’ मात्र मान्छन् । “प्रविधि त अनेक आइरहन्छन् । काम छिटो गर्नुपर्ने अवस्था छ । तर, छिटो गर्ने भन्दैमा अरूको कपी गर्ने वा मोडिफाई गर्नु हुँदैन । मौलिक हुनुपर्छ,” उनी सुझाव दिन्छन् । 

उनको अनुभवमा डिजिटल प्रविधिको विकासले डिजाइनरमा ‘सीपको हानि’ गराएको छ । “अहिले एउटा लोगो बनाउँदा आधा भाग बनाएर मिरर गर्दियो भने ठ्याक्कै बन्छ । पहिला पूरै हातले बनाउनुपर्थ्यो । अहिले काम छिटो भयो, तर त्यसको मजा हरायो,” उनी सुनाउँछन् ।

आधुनिक युगको सबैभन्दा ठुलो चुनौती आर्टिफिसियल इन्टेलिजेन्स र ‘कपी पेस्ट’ को संस्कृतिलाई मान्छन् उनी । एआईले सेकेन्ड-मिनेटमै हजारौँ डिजाइन र फन्ट तयार गरिदिन्छ । यसले गर्दा मौलिक सिर्जनाको पहिचान हराउने खतरा छ ।

उनी आफ्नो मौलिकता बचाउन आज पनि हरेक डिजाइन, लोगो र फन्टको ‘रफ मास्टर कपी’ म्यानुअल्ली तयार गर्छन् । “भोलि कसैले मेरो काम ‘कपी’ गरेर दाबी गर्यो भने मसँग रफ स्केचको प्रमाण हुनुपर्छ । क्रिएसन दिमागको कुरा हो । त्यसैले रफ स्केच अनिवार्य छ,” उनी भन्छन् ।

नयाँ पुस्तालाई सल्लाह र मौलिकताको महत्त्व

नेपाली कला र डिजाइन क्षेत्रलाई ५० वर्षसम्म नजिकबाट नियालेका अशोकमान अहिलेको नयाँ पुस्तालाई आफ्नो मौलिक सिर्जनामा ध्यान दिन सुझाव दिन्छन् । उनी भन्छन्, “नेपालमा डिजाइनको स्कोप पहिलाभन्दा धेरै फराकिलो भएको छ । उद्योगहरू विकसित भएका छन् । जसले गुणस्तरीय प्याकेजिङ, ब्रान्डिङ र टाइपोग्राफीको माग बढाएको छ ।”

“अहिलेको पुस्तालाई सुविधा धेरै छ, इन्टरनेटमा हजारौँ रिफ्रेन्स पाइन्छन् । तर यही सुविधाले ‘अल्छी’ बनाउनु हुँदैन,” उनी सचेत गराउँछन् ।

नयाँ डिजाइनरहरूलाई उनी सुझाव दिन्छन्, “डाइरेक्ट कम्प्युटरमा जानुअघि, कन्सेप्टको ‘रफ’ बनाउनै पर्छ । रफ बनाउनु भनेको आफ्नै दिमागबाट सिर्जनालाई बाहिर निकाल्नु हो । प्रविधि त एउटा टुल मात्र हो, जुन सुरक्षित गर्न र प्रकाशन गर्न प्रयोग हुन्छ । तर मौलिकता र डकुमेन्टेसनका लागि म्यानुअल कन्सेप्ट अनिवार्य छ ।”

अशोकमान सिंबारे थप !

अशोकमान सिंले करिब ४०० भन्दा बढी शैक्षिक पाठ्यपुस्तकहरूका लागि दृष्टान्तचित्रहरू (इलुस्ट्रेसन) बनाएका छन् । यसबाहेक उनले स्वदेशी तथा विदेशी प्रकाशन गृह र संस्थाहरूका लागि साहित्यिक, बाल कथाका पुस्तक तथा पत्रपत्रिकाका लागि पनि असंख्य दृष्टान्तचित्रहरू तयार गरेका छन् ।

ग्राफिक सञ्चार क्षेत्रमा उनको योगदान निरन्तर छ । उनले हाल ‘रिड एन्ड राइट पब्लिसिङ हाउस’ सञ्चालनमा ल्याएका छन् । अशोकमानद्वारा लिखित ‘रङ’ र ‘ग्राफिक्स सञ्चार’ नामक पुस्तक नेपालको ग्राफिक क्षेत्रका लागि अत्यन्त उपयोगी मानिन्छन् ।

उनको कला यात्रा पाल्पामा सिनेमा ब्यानर, पोस्टर र योजनाका चित्रहरू बनाउँदै सुरु भएको थियो । काठमाडौँ आएपछि ‘बासुदेव’, ‘मायाप्रिति’ जस्ता नेपाली चलचित्रका पोस्टरहरू डिजाइन गरे । नेपालको पहिलो सार्क गेम, राष्ट्रिय खेलकुद, परिवार नियोजन, ट्राफिक सप्ताह जस्ता राष्ट्रिय महत्त्वका पोस्टरहरू पनि उनकै सिर्जना हुन् ।

यसै क्रममा उनले परिवार नियोजन, पशुपति पेन्ट्स लगायत विभिन्न उत्पादनका विज्ञापनहरू पनि डिजाइन गरे ।

वि.सं. २०३० सालदेखि सक्रिय रहँदै उनले विद्यालय पाठ्यपुस्तक र साहित्यिक कृतिहरू गरी १०० भन्दा बढी पुस्तकका आवरणपृष्ठहरू डिजाइन गरे । साथै उनले ‘फर्के १० दशक’ जस्ता पत्रिकाको लेआउट चार वर्षसम्म सम्हाले ।

प्याकेजिङ डिजाइनमा पनि उनको योगदान महत्त्वपूर्ण छ । २०३० सालदेखि सुरु भएको यो यात्रामा उनले पूजा साबुन, वाईवाई चाउचाउ, पशुपति बिस्कुट तथा विभिन्न पेय पदार्थहरू सहित सयौँ उत्पादनका लेबल र र्‍यापरहरू डिजाइन गरे ।

मुद्रण प्रविधिमा उनको २६ वर्षको लामो अनुभव छ । १७ वर्षको उमेरमा छपाइ सुरु गरेका उनले पछि अफसेट प्रविधिमा तालिम लिए । फलस्वरूप उनले क्यामेरा प्रोसेसिङदेखि प्रिन्टिङसम्मका सबै प्राविधिक प्रक्रियामा दक्षता हासिल गरे । उनले काठमाडौँ विश्वविद्यालयमा ‘प्रिन्टेड टेक्नोलोजी’ पनि अध्यापन गराए ।

कलासँगै साहित्यमा पनि उनको विशिष्ट परिचय छ । ‘पटाचारी’ र ‘म पनि मान्छे हुँ’ जस्ता उपन्यासका लेखक सिंले आफ्नो लामो करियरमा २०० भन्दा बढी पुस्तक, पत्रिका र क्याटलगको डिजाइन तथा लेआउट गरेका छन् । कार्टुनिस्ट क्लब नेपालका संस्थापक अध्यक्ष रहेका उनी हाल सल्लाहकारको भूमिकामा सक्रिय छन् । ७० वर्षीय अशोकमान सिं हाल काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट एन्ड डिजाइनमा अध्यापन गराइरहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ १७:३२