close

रङ्ग अनुसार यूएसबी पोर्टमा छुट्टै हुन्छ विशेषता, कतै गलत ढङ्गले प्रयोग गरी रहनु भएको त छैन ?

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १२:१३

रङ्ग अनुसार यूएसबी पोर्टमा छुट्टै हुन्छ विशेषता, कतै गलत ढङ्गले प्रयोग गरी रहनु भएको त छैन ?

काठमाडौँ । धेरै प्रयोगकर्ताहरूले वर्षौँदेखि आफ्नो डेस्कटप, ल्यापटप, टिभी, गेमिङ कन्सोल वा कारमा रहेका यूएसबी-ए पोर्टको क्षमता नबुझी अन्धाधुन्ध प्रयोग गरिरहेका हुन्छन् । सबै यूएसबी-ए पोर्टहरू आयताकार र एकैनासका देखिए पनि तिनीहरूको भित्री प्लास्टिक इन्सर्टमा विभिन्न रङ्ग प्रयोग गरिएको हुन्छ ।

त्यसमा भएको रङले पोर्टको गति र पावर क्षमताको भिन्नता जनाउँछ । यूएसबी पोर्टहरू स्पिड र पावरका लागि डिजाइन गरिएका हुन्छन् । केही पोर्टहरू फाइल ट्रान्सफर स्पिडलाई प्राथमिकतामा राखेर बनाइएका हुन्छन् भने केही डिभाइस चार्ज गर्नका लागि बढी पावर दिन डिजाइन गरिएका हुन्छन् ।

यदि तपाईँले गलत पोर्टमा फोन चार्ज गर्नुभयो भने यसले धेरै ढिलो गतिमा चार्ज गर्न सक्छ । एक्सटर्नल हार्ड ड्राइभ वा फ्ल्याश ड्राइभ जडान गर्दा गलत पोर्टले डेटा ट्रान्सफरमा लाग्ने समय लम्बिन सक्छ ।

प्लास्टिक इन्सर्टको कालो, निलो, निलो-हरियो (teal), रातो वा पहेँलो रङले पोर्ट स्ट्यान्डर्ड, हाइ स्पिड वा हाई पावर हो भन्ने सङ्केत प्रदान गर्दछ ।

कालो यूएसबी २.० मा डेटा ट्रान्सफर सामान्य हुन्छ, चार्जिङ ढिलो हुन्छ ।किबोर्ड, माउस र अन्य स्लो-स्पिडमा काम गर्ने उपकरणहरूका लागि यो उपयोगी हुन्छ ।

त्यस्तै निलो यूएसबी ३.० वा ३.१ ले भने यूएसबी २.० भन्दा १० गुणासम्म छिटो डेटा ट्रान्सफर गर्न सक्छ र मध्यम चार्जिङ स्पिड प्रदान गर्छ । यो खासगरी एक्सटर्नल हार्ड ड्राइभ, फ्ल्याश ड्राइभ वा स्पिड महत्त्वपूर्ण हुने चिजका लागि डिजाइन गरिएको हुन्छ ।

टिल अर्थात् निलो-हरियो यूएसबी ३.१ जेन २ वा त्यो भन्दा माथिल्लोले फास्ट डेटा ट्रान्सफरलाई हाई पावर आउटपुटसँग जोड्छ । स्पिड र बलियो चार्ज दुवै आवश्यक पर्ने डिभाइसलाई लक्षित गरेर यो पोर्ट बनाइएको हुन्छ ।

यसैगरी रातो वा पहेँलोले सधैँ-अन (Always-on) वा हाई-पावर चार्जिङको सङ्केतले कम्प्युटर बन्द भएको वा स्लिप मोडमा हुँदा पनि डिभाइसहरू चार्ज गर्न सक्छ । फोन, ट्याब्लेट र बढी पावर चाहिने ग्याजेटहरूका लागि यसको प्रयोग गरिन्छ ।

यूएसबी १.१ वा पुरानो पोर्टलाई सेतो रङ्गले जनाइन्छ । जुन डेटा ट्रान्सफरको लागि अत्यन्त सस्त हुन्छ । यस किसिमको पोर्ट पुराना डिभाइसहरूमा पाइन्छ । जसले आधारभूत एक्सटर्नल डिभाइसका लागि काम गर्छ ।

यद्यपि, यूएसबीका विभिन्न रङहरू सबै ब्रान्ड र डिभाइसमा स्पष्ट मापदण्डको रूपमा भने प्रयोगमा छैनन् । कुनै निर्माता कम्पनीले सैद्धान्तिक रूपमा यूएसबी १.१ को लागि निलो पोर्ट प्रयोग गर्न सक्छ । यद्यपि अधिकांश प्रसिद्ध ब्रान्डहरूले भने स्ट्यान्डर्ड रङलाई नै पालना गर्छन् ।

यूएसबी रङको बारेमा सुनिश्चितताका लागि डिभाइसको म्यानुअल वा निर्माताको युनिकनेस जाँच गर्न सक्नु हुनेछ । रङ बाहेक यूएसबी-ए पोर्टमा प्रायः अतिरिक्त जानकारी दिने सिम्बोलहरू पनि हुन्छन् ।

उदाहरणका लागि SS वा SuperSpeed अक्षरहरूले छिटो डेटा ट्रान्सफर क्षमतालाई सङ्केत गर्दछ । कहिलेकाहीँ SS10 जस्ता अक्षर र अङ्क लेखिएको हुन सक्छ । विशेषगरी यसले सुपर स्पिड १० जीबीपीएस भनेर जनाउँछ ।

चार्जिङको लागि डिजाइन गरिएका केही पोर्टहरूमा लाइटनिङ बोल्ट वा ब्याट्री आइकन पनि समावेश हुन सक्छ । जसले पावर आउटपुट मात्र सङ्केत गर्दछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १२:२४