close

आज विश्व बजारमा सार्वजनिक हुँदै ७३०० एमएएच ब्याट्री र १६५ हर्ज डिस्प्ले भएको वनप्लस १५

टेकपाना टेकपाना

कात्तिक २७, २०८२ १०:५९

आज विश्व बजारमा सार्वजनिक हुँदै ७३०० एमएएच ब्याट्री र १६५ हर्ज डिस्प्ले भएको वनप्लस १५

काठमाडौँ । वनप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस १५ आज १३ नोभेम्बर, २०२५ का दिन विश्व बजारमा सार्वजनिक हुँदैछ । चीनमा यसअघि नै सार्वजनिक भइसकेको यो फोनको अन्तर्राष्ट्रिय बजारमा आउन लागेको हो । 

विश्वव्यापी सार्वजनिक गर्न वनप्लसले लाइभ कार्यक्रम आयोजना गर्दैछ । यो कार्यक्रमको लाइभस्ट्रिम कम्पनीको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिनेछ । जसको सुरुवात नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । 

प्रयोगकर्ताहरूका लागि सबैभन्दा महत्त्वपूर्ण खबर यो छ कि वनप्लस १५ को विश्वव्यापी संस्करण चीनको मोडेलसँग हुबहु मिल्नेछ । यसको अर्थ यो फोनका फिचर तथा स्पेसिफिकेसन यसअघि नै सार्वजनिक भइसकेका छन् ।  यस फोनको सबैभन्दा ठुलो आकर्षणको विषय ७३०० एमएएचको सिलिकन नानोस्ट्याक ब्याट्री हो । पर्फर्मेन्सको कुरा गर्नुपर्दा यसमा क्वालकम स्न्यापड्रागन ८ इलाइट जेन ५ (Qualcomm Snapdragon 8 Elite Gen 5-3 nm) चिपसेट प्रयोग गरिएको छ ।  

फोनमा ६.७८ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले छ । जसमा १६५ हर्ज रिफ्रेश रेट उपलब्ध छ । यो गत वर्षको वनप्लस १३ मा भएको १२० हर्जभन्दा उल्लेखनीय सुधार हो । यसको पछाडि भागमा तीन ओटा ५० एमपी क्यामेराको सेटअप रहेको छ । जसमा अपग्रेड गरिएको पेरिस्कोप टेलिफोटो लेन्स (3.5x optical zoom) समावेश छ । सेल्फीका लागि ३२ एमपीको फ्रन्ट क्यामेरा छ । फोनले १२० वाट तारयुक्त चार्जिङ र ५० वाट वायरलेस चार्जिङलाई सपोर्ट गर्दछ । जसबाट १५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुन सक्छ ।  

यो फोन एन्ड्रोइड १६ र कलर‌ओएस १६ मा चल्छ । आईपी ६८/आईपी ६९ के रेटिङ (धुलो र पानी प्रतिरोधी) प्राप्त यो तीन रङमा उपलब्ध हुनेछ । जसमा इनफाइनाइट ब्ल्याक, अल्ट्रा भायोलेट र स्यान्ड स्ट्रोम रहेका छन् ।  विश्व बजारमा सार्वजनिक भए लगत्तै वनप्लस १५ को बिक्री भारतजस्ता बजारहरूमा सुरु हुने अपेक्षा गरिएको छ । 

अमेरिकामा पनि सोही समयमा बिक्री सुरु हुन सक्ने बताइएको छ । यद्यपि वनप्लसले यसको पुष्टि गरिसकेको छैन । 

इच्छुक ग्राहकहरूले वनप्लसको आधिकारिक अमेरिकी वेबसाइटबाट खरीद गर्दा थप ५० अमेरिकी डलर छुट प्राप्त गर्न वा वनप्लस पड ३ निःशुल्क जित्ने मौका पाउन सक्नेछन् । चीनमा यसको मूल्य करिब ५६० अमेरिकी डलर (७९ हजार रुपैयाँ) तोकिएको छ । विश्व बजारमा यसको मूल्य लगभग ४८० युरो (करिब ७८ हजार ६००) रुपैयाँ हुने अनुमान गरिएको छ ।


 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ ११:४२