close

सावधान ! कर तिर्न भन्दै पीडितबाट थप पैसा असुल्दै साइबर ब्युरोले स्क्याम करार गरेको एसएमसी एप

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

कात्तिक २७, २०८२ १९:२

सावधान ! कर तिर्न भन्दै पीडितबाट थप पैसा असुल्दै साइबर ब्युरोले स्क्याम करार गरेको एसएमसी एप

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले एसएमसी नामक एपबाट ठगी हुने गरेको जानकारी गराएपछि उक्त एपमा सक्रिय प्रयोगकर्ताहरूलाई कर तिर्ने अल्टिमेटम दिन थालिएको छ । ह्वाट्सएपको कम्युनिटी ग्रुपमार्फत कर तिर्न भन्दै एड्मिनहरूले यस एपका प्रयोगकर्ताहरूलाई शुक्रबार (१४ नोभेम्बर) बिहान १० बजे भित्रमा कर तिर्न अल्टिमेटम दिएका हुन् । 

सो समय भित्रमा कर नतिरेमा एप मार्फत कमाएको रकम जफत हुने लगायतका चेतावनी दिएर रकम तिर्न हजारौँ प्रयोगकर्ताहरूलाई बाध्य पारिरहेको बुझिएको छ । आइतबार प्रहरीको साइबर ब्युरोले उक्त एपको नाममा सामाजिक सञ्जालमा ठगी भइरहेको भन्दै सचेत गराएको थियो । ​

ब्युरोका अनुसार यो ठगीमा सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने किसिमका प्रलोभन देखाइन्छ । त्यसपछि अकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहाना बनाई ठगी गर्ने प्रवृत्ति देखिएको हो । बुधबारमात्र एसएमसी एपबाट ठगिएको भन्दै २७ उजुरी दर्ता भएको ब्युरोले जनाएको छ ।  

यता ब्युरोले सचेत रहन आग्रह गरिरहँदा उक्त एपको ह्वाटसएप ग्रुपमा भने कर तिर्न ताकेता गरिएको छ । मेसेजहरूमा भनिएको छ, “कर भुक्तानी गर्नु केवल कानुनी दायित्व होइन, तपाईँको आम्दानी सुरक्षा र कम्पनीको दिगो विकास सुनिश्चित गर्ने महत्वपूर्ण आधार हो । जसले कर विवरण पुरा गरेका छन्, तिनीहरूका निकासीहरूलाई प्राथमिकता दिइनेछ ।” 

उक्त एपले अमेरिकाको आन्तरिक राजस्व विभाग र नेपालको आन्तरिक राजस्व विभागको संयुक्त कर अनुपालन मापदण्ड अनुसार कर्मचारीहरूले आम्दानी गरेको कर तिर्नुपर्ने बताएको छ ।तर उक्त एपमा प्रयोगकर्ताले बनाएको पोइन्टबाट कर तिर्न नमिल्ने र कर रकम तिरेको केही समय पछि भने प्रयोगकर्ताहरूको आम्दानी खातामा पठाउन मिल्ने बनाइने भन्दै प्रलोभन देखाइएको छ ।  

उक्त एपले प्रयोगकर्ताहरूलाई के १ देखि के ९ सम्म कर्मचारीको रूपमा वर्गीकरण गरेको छ । ती कर्मचारीहरूले आफ्नो तहअनुसार तहमा ८४० रुपैयाँदेखि ५८ लाख ८० हजार रुपैयाँसमेत कर स्वरूप तिर्नुपर्ने बताएको छ ।

उक्त ग्रुपमा आबद्ध एक प्रयोगकर्ताका अनुसार एड्मिनहरूले पछिल्लो समयमा उक्त एप अवैधानिक भएको भनेर समाचार आएको र उक्त कुरा झुटो भएको भन्दै ‘इमोसनल ब्लाकमेलिङ’ को काम पनि गरिरहेका छन् । उक्त ग्रुपमा एसएमसी एपले हजारौँ नेपाली सदस्यहरूलाई वैध रोजगार र आम्दानीको अवसर प्रदान गरेको दाबी गरेको छ । नेपालमा वैधानिकको प्रक्रियामा अघि बढिसकेको बताउँदै आफ्ना प्रयोगकर्ताहरूलाई विश्वास दिलाउने किसिमका मेसेजहरू पठाइरहेको छ । 

हामीसँग सम्पर्कमा आएका प्रयोगकर्ताले उक्त एपबाट धेरै व्यक्तिहरू ठगीको शिकार हुन लागिरहेको बताए । उनले भने, “यो ग्रुपमा एक्सेस पाउन सुरुमा तीन हजार बुझाउनु पर्ने रहेछ । यसले काम कसरी गर्न भनेर बुझ्नकै लागि तीन हजार रुपैयाँ माया मारेर यो ग्रुपमा छिरेँ । एक हप्ताभन्दा लामो समयदेखि ग्रुपमा छु । यहाँ कसरी काम हुने रहेछ बुझ्ने प्रयास गरिरहेको छु ।” 

उनका अनुसार सीएमसी एप खोल्ने बित्तिकै त्यहाँ कर छिटो तिर्नुपर्ने नोटिफिकेसन देखाउने गरिएको छ । त्यसमा सोही एपबाट भुक्तानी गर्न फोन पे खोल्न सकिन्छ । यसरी कर भुक्तानी गर्न १४ नोभेम्बर बिहान १० बजेको समयलाई आधार मानेर काउन्ट डाउन देखाइएको उनले बताए ।  

 

एपले कर तिरेपछि मात्र आम्दानी रकमको जफत हट्ने भनेपछि नेपाली प्रयोगकर्ताहरूले रकम भुक्तानी गरेर स्क्रिनशटहरू समेत पठाइरहेका छन् । करबापत नौ हजार रुपैयाँभन्दा धेरै रकम समेत बुझाएको स्क्रिनशट ग्रुपमा पठाइरहेको उनले सुनाए ।  

 

उक्त ग्रुपमा (‍+ १) कोड नम्बरबाट सुरु हुने अमेरिकी मोबाइल नम्बर भएका फरक फरक एड्मिन रहेका छन् । ती सबै एड्मिनको नाम भने एनी रहेको छ । यी एड्मिनहरूले नै ग्रुपमा मेसेज पठाएर कर तिर्न दबाब दिन थालेका हुन् । "यो एपमा पैसा जम्मा गरेपछि बल्ल ह्वाट्सएप ग्रुपमा एड गर्दा रहेछन् । तर त्यो ग्रुपमा एड्मिनले मात्र मेसेज पठाउन मिल्छ । यो ग्रुपमा संवाद मात्र हुने रहेछ । अहिलेसम्म भर्चुअल बैठकहरू भएको देखेको छैन । अमेरिका र क्यानडाका व्यक्तिहरूले बैठक भन्दै एसएमएस लेखेर निर्देशन दिने रहेछन् । धेरैजसो १८ देखि २५ वर्षभित्रका युवाहरू यो ग्रुपमा सक्रिय छन्,” उनले भने । 

उक्त कम्पनीले दाबी गरेजस्तो अमेरिकाको आईआरडी र नेपालको आईआरडीको कुनै पनि तरिकाबाट सहकार्य हुन नसक्ने आन्तरिक राजस्व विभागले जनाएको छ । तर एसएमसी एपबाट कर रकम भन्दै ठगी भएको गुनासो लिएर पीडितहरू विभाग पुगेका छन् । तर उक्त विषयमा विभागले अनुसन्धान नगर्ने भएकाले पीडितहरूलाई साइबर ब्युरो पठाइएको छ । 

यता एसएमसी एपले तह तहमा कर्मचारी राखेर काम गर्ने किसिमको एमएलएम (मल्टि लेभल मार्केटिङ) नेपालमा कानुन विपरीत रहेको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । उनले भने, “यस एपबाट ठगीमा परेको भनेर हामीकहाँ पीडितहरू आइरहेका छन् । यसबारेमा अनुसन्धान चलिरहेको छ ।  यो एप अवैधानिक भएर नै ब्युरोले सूचना जारी गरेर सचेत गराएको हो ।” 

कर र रिचार्ज लगायतका बहानामा उक्त एपबाट ठगी भइरहेको बताउँदै उनले स्क्यामरको नभइ प्रहरीको विश्वास गर्न समेत आग्रह गरे । उनले भने, “ प्रहरीको कुरा विश्वास नगरेर स्क्यामरको विश्वास गर्नु भयो भने उहाँहरू नै फस्नुहुन्छ । त्यसपछि ब्युरोमा उजुरी गर्न आउनुको विकल्प हुँदैन ।”

पछिल्लो समयमा आफ्ना साथीहरूलाई समेत रिफर गरेर पैसा सहजै कमाउन सकिने भन्दै एप तथा सामाजिक सञ्जालमा विभिन्न विज्ञापनहरू आउने गरेका छन् । त्यस्ता एपमा काम गर्न सुरुमा पैसा हाल्न लगाइन्छ । 

त्यसपछि रिफर गरेर पोइन्ट बढाउने र थोरै समयमा धेरै मुनाफा पाउने प्रलोभन पनि देखाइन्छ । तर विस्तारै प्रयोगकर्ताबाट धेरै नाफा हुने लोभ देखाएर एजेन्टहरूले थप रकम हाल्न लगाउने र ठगी गर्ने किसिमको प्रवृत्ति बढ्दै गएका छन् । अनलाइन ठगीबाट बच्न साइबर ब्युरोले बारम्बार आग्रह समेत गर्दै आएको छ । ब्युरोले अनलाइन ठगीबाट बच्न निम्न उपायहरू अवलम्बन गर्न सुझाएको छ । 

  • अप्रत्याशित लिङ्क तथा चिट्ठा पेको भन्दै आएका मेल / लिङ्कहरूको विश्वासमा परी क्लिक नगरौँ ।

  • विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भन्दै गिफ्ट /आईफोनको फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपरौँ । 

  • आफ्नो गोप्य फोटो / भिडिओ तथा व्यक्तिगत जानकारी जो कोहीसँग शेयर नगरौँ ।

  • आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ ।

  • पेसबुकमा 'Sponsered' भनि आउने अनलाइन जागिर तथा प्रलोभनको पछि नपरौँ । 

  • चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गरौँ । किन भने त्यो आईडी ह्याक भएको पनि हुन सक्छ ।

  • सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गरौँ ।

  • सम्भव भएसम्म अनलाइन अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसन (2FA) वा मल्टी-फ्याक्टर अथेन्टिकेसन (MFA) प्रयोग गरौँ । यो भनेको पासवर्डसँगै ओटीपी समेत राख्नुपर्ने व्यवस्था हो ।

  • सार्वजनिक स्थानमा उपलब्ध फ्रि वाईफाईमा बैङ्किक कारोबार वा संवेदनशील जानकारी आदनप्रदान नगरौँ ।

  • कम्प्युटर तथा ल्यापटपलाई समय समयमा अपडेट गरौँ । विश्वसनीय एन्टी - भाइरस प्रणालीहरू प्रयोग गरौँ ।

  • जरुरी विवरण तथा डेटाहरूको नियमित ब्याकअप (जस्तै हार्ड ड्राइभ वा क्लाउड) गर्ने गरौँ ।

  • बालबालिका तथा घर परिवारका सदस्यहरूसँग प्रविधिको प्रयोग तथा अनलाइनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गरौँ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १९:२