close

८ खर्बको बिटक्वाइन सहित चीनबाट भागेर लन्डन पुगेकी क्रिप्टो महारानी कियान जिमिनको पतनको कथा

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १४:४८

८ खर्बको बिटक्वाइन सहित चीनबाट भागेर लन्डन पुगेकी क्रिप्टो महारानी कियान जिमिनको पतनको कथा

काठमाडौँ । कियान जिमिन, जसलाई उनका ग्राहक हुवाहुवा वा लिटिल फ्लावरको नामले चिन्थे । उनले सन् २०१४ मा उत्तरी चीनको टियानजिन सहरमा आफ्नो इन्भेस्टमेन्ट कम्पनी लान्टियन गेरुई (जसलाई अङ्ग्रेजीमा ब्लुस्काई ग्रिट पनि भनिन्छ) स्थापना गरिन् । यो कम्पनीले हजारौँ चिनियाँ नागरिकहरूको पैसा प्रयोग गरी उच्च प्रविधियुक्त स्वास्थ्य उत्पादनहरू विकास गर्ने र नयाँ क्रिप्टोकरेन्सी उत्खनन (माइनिङ) गर्ने दाबी गरेको थियो ।

तर, साउथवार्क क्राउन कोर्टका न्यायाधीश सेली-एन हेल्सका अनुसार, कियान जिमिनले सुरुदेखि नै यो अपराधको सुरुवातको डिजाइन गरेकी थिइन् र उनको एक मात्र मनसाय सजिलै पैसा कमाउनु थियो । प्रहरीका अनुसार यो एक विस्तृत ठगी थियो । कियानले वास्तवमा लगानीकर्ताको रकम हिनामिना गरिरहेकी थिइन् ।

ब्लुस्काई ग्रिटको बजारीकरणले खासगरी मध्यम उमेरका र वृद्ध चिनियाँ नागरिकहरूको एक्लोपनको फाइदा उठायो । कम्पनीले सामाजिक उत्तरदायित्वबारे कविताहरू लेख्थ्यो र आफ्ना वर्तमान तथा सम्भावित लगानीकर्ताहरूका लागि ठुला बैठकहरू, सामूहिक रूपमा बिदा मनाउने र भोजहरूको आयोजना गर्थ्यो ।

यसका साथै कम्पनीले चीन राष्ट्रप्रतिको प्रेमलाई ठुलो रूपमा प्रचार गर्‍यो । ६० को दशकका एक पीडित (जसलाई मिस्टर यु भनिएको छ) ले भनेका छन्, "हाम्रो देशभक्ति नै हाम्रो कमजोर पक्ष थियो, जसको उनीहरूले फाइदा उठाए । उनीहरूले चीनलाई विश्वमा नम्बर एक बनाउन चाहेको बताएका थिए ।"

यस कम्पनीलाई आधुनिक चीनका संस्थापक माओका ज्वाईँ लगायत वक्ताहरूले समेत साथ दिएका थिए । कम्पनीले चीनको संसद्‌को बैठक हुने ग्रेट हल अफ द पिपुलमा समेत कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीले लगानीकर्ताहरूलाई २.५ वर्षमा २०० प्रतिशत नाफा कमाउने बाचा गरेको थियो । मिस्टर यु र उनकी श्रीमतीले सुरुमा ६० हजार युआन (लगभग १२ लाख रुपैयाँ) लगानी गरेका थिए । कम्पनीले हरेक दिन लगानीकर्ताहरूलाई उनीहरूको कमाइको एउटा सानो हिस्सा (लगभग १०० युआन अर्थात् करिब २ हजार रुपैयाँ) ड्रिप-फिड गर्थ्यो ।

मिस्टर युका अनुसार, "त्यसले सबैलाई साँच्चै राम्रो महसुस गरायो, यसले हामीलाई कम्पनीमा थप लगानी गर्न केही ऋण लिने आत्मविश्वास पनि दियो ।"

कतिपय लगानीकर्ताले त ८ प्रतिशतसम्म ब्याजदरमा हजारौँ पाउन्ड ऋण लिएका थिए । एक पूर्व कर्मचारीले पछि बयानमा दैनिक भुक्तानीमा दिइने त्यो रकम क्रिप्टो उत्खननबाट आएको लाभांश नभई नयाँ लगानीकर्ताहरूको पैसा थियो ।

लगानीकर्ताहरूले आफूले नयाँ व्यक्तिहरूलाई समावेश गर्दा अतिरिक्त भुक्तानी पाउँथे । यो योजनाले चीनका हरेक प्रान्तबाट गरेर लगभग एक लाख २० हजार मानिसलाई समेट्यो । क्राउन प्रोसेक्युसन सर्भिस (सीपीएस) का अनुसार उनीहरूको कूल लगानी ४० अर्ब युआन (करिब ८ खर्ब रुपैयाँ बराबर) भन्दा बढी थियो ।

सन् २०१७ को बिचतिर चिनियाँ प्रहरीले लान्टियन गेरुईको अनुसन्धान सुरु गरेपछि कम्पनीले दिने भुक्तानीहरू अचानक रोकिए । कियान जिमिन भने चिनियाँ प्रहरीको अनुसन्धान सुरु भएपछि नक्कली राहदानी प्रयोग गरेर सेप्टेम्बर २०१७ मा बेलायत पुगिन् ।

उनी ह्याम्पस्टेड हिथको छेउमा रहेको एउटा भव्य महलमा बस्न थालिन्, जसको भाडा प्रति महिना १७ हजार पाउन्ड (३२ लाख रुपैयाँभन्दा बढी) भन्दा बढी थियो । उनले आफ्नो बिटक्वाइनलाई खर्च गर्न मिल्ने पैसामा रूपान्तरण गर्न वेन जियान नामक एक पूर्व टेकअवे कामदारलाई निजी सहयोगीको रूपमा राखिन् ।

उनका सहयोगी वेनका अनुसार बिटक्वाइनको मूल्य बढ्दै जाँदा कियानले लगानीकर्ताहरूलाई वाचा गरेअनुसार उनी सुतेरै धनी बन्न सक्थिन् । वेनले सुनुवाइका क्रममा बताएअनुसार कियानले प्रायःजसो ओछ्यानमा सुतेर, गेम खेलेर र अनलाइन किनमेल गरेर दिन बिताउँथिन् ।

यसका साथै, कियानले आफ्नो डायरीमा महत्वाकाङ्क्षी छ-वर्षे योजना तयार पारेकी थिइन् । उनका योजनाहरूमा अन्तर्राष्ट्रिय बैँक स्थापना गर्ने, स्विडेनी महल किन्ने र बेलायती ड्युकसँग सम्बन्ध बनाउने जस्ता कुराहरू थिए । उनको सबैभन्दा ठुलो उद्देश्य सन् २०२२ सम्ममा क्रोएसियाली र सर्बियाको सीमामा रहेको मान्यता नपाएको माइक्रोस्टेट लिबरल्याण्डको रानी बन्ने थियो ।

कियान सुरक्षाको विषयमा निकै सचेत थिइन् । उनले लन्डनमा एउटा ठुलो घर किन्न वेनलाई लगाइन् । टोटरिज कमनमा रहेको एक विशाल सम्पत्ति किन्ने उनको प्रयासकै कारण प्रहरीले अनुसन्धान सुरु गर्‍यो । किनभने वेनले आफ्नो हाकिमको सम्पत्तिको स्रोत (बिटकोइन) प्रमाणित गर्न सकेनन् । जसले गर्दा मनी लान्ड्रिङसम्बन्धी बेलायती कानुन आकर्षित भयो ।

पछि सन् २०१८ मा प्रहरीले कियानको ह्याम्पस्टेड स्थित भाडाको घरमा छापा मार्‍यो । उनीहरूले हार्ड ड्राइभ र ल्यापटपहरू फेला पारे । जसमा दशौँ हजारौँ बिटक्वाइन लोड गरिएका थिए । यो बेलायती इतिहासमा भएको सबैभन्दा ठुलो एकल क्रिप्टोकरेन्सी जफत मानिन्छ । छापा मार्दा घरमा नगद छरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले जफत गरेको बिटक्वाइन वालेटहरू तीन वर्षपछि सन् २०२१ मा मात्र अनलक गर्न सफल भए । कूल ६१ हजार बिटक्वाइन जफत गरिएको थियो, जसको मूल्य त्यो बेला करिब २ अर्ब पाउन्ड थियो ।

प्रहरी छापा मार्दा कियानले आफूलाई बिरामी, कमजोर र सहयोगीको आवश्यकता भएको जस्तो अभिनय गरेकी थिइन् । उनलाई अन्ततः सन् २०२४ को अप्रिलमा उत्तरी इङ्गल्याण्डको योर्कमा सीसीटीभी फुटेजको आधारमा भाडाको घरबाट पक्राउ गरियो ।

पक्राउ परेपछि कियानले सबै आरोपहरू अस्वीकार गर्दै आफू चीनमा क्रिप्टो उद्यमीहरूमाथि भएको सरकारी कारबाहीबाट बच्न भागेको दाबी गरेकी थिइन् । तर, सेप्टेम्बरमा भएको सुनुवाइका क्रममा उनले अप्रत्याशित रूपमा अवैध रूपमा क्रिप्टोकरेन्सी प्राप्त गरेको र स्वामित्वमा राखेको आरोपमा दोष स्वीकार गरिन् ।

गत मङ्गगलबार साउथवार्क क्राउन कोर्टमा उनलाई मनी लान्ड्रिङको आरोपमा ११ वर्ष र आठ महिनाको जेल सजाय सुनाइयो । कियानले बेलायतमा ल्याएको क्रिप्टोकरेन्सी उनको आगमनदेखि २० गुणाभन्दा बढी मूल्यमा बढेको छ । हाल ६१ हजार बिटक्वाइनको मूल्य ५ अर्ब युरोभन्दा बढी छ ।

यो रकम के हुन्छ भन्ने कुरा आगामी वर्ष सुरु हुने 'प्रोसिड्स अफ क्राइम' (proceeds of crime) सम्बन्धी मुद्दाले निर्धारण गर्नेछ । यससँगै उक्त सम्पत्तिमा हजारौँ चिनियाँ लगानीकर्ताहरूले दाबी गर्न तयारी गरिरहेका छन् ।

तर उनीहरूले आफ्नो दाबी प्रमाणित गर्नुपर्नेछ । किनभने धेरैले कियानको कम्पनीलाई सिधै पैसा हस्तान्तरण नगरी स्थानीय प्रवर्धकहरूको खातामा जम्मा गरेका थिए ।

पीडितहरूले आफ्नो मूल लगानी मात्र पाउनेछन् वा बिटक्वाइनको पछिल्लो वृद्धि (२० गुणा वृद्धि) अनुसार बढेको रकम पाउनेछन् भन्ने स्पष्ट छैन । यदि कुनै रकम दाबी नगरी बाँकी रह्यो भने त्यो रकम सामान्यतया बेलायत सरकारको कोषमा जानेछ ।

मिस्टर युको वैवाहिक सम्बन्ध पनि यही ठगीका कारण टुट्यो । उनले कियानको दोषी स्वीकारोक्तिले पीडितहरूलाई आशाको किरण दिएको बताएका छन् ।

प्रहरीहरूका अनुसार कियानको नोटबुकमा २० हजार ८ बिटक्वाइन भएको एउटा वालेटको बारेमा उल्लेख छ । जसलाई हराएको भनिएको छ । त्यो रकम सन् २०१७ देखि सरेको छैन । यसको आजको मूल्य लगभग डेढ अर्ब पाउन्ड हुन सक्छ ।

-स्रोतः बीबीसी

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १४:५३