close

एआई प्रयोग गरेर ठुल्ठुला कम्पनीलाई करोडौं ठगी गर्ने गिरोह पक्राउ, १४ वर्षे नाबालक पनि संलग्न

टेकपाना टेकपाना

कात्तिक २९, २०८२ १६:५७

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । एआईको दुरुपयोग गरी ठुला व्यापारिक कम्पनीलाई ठगी गर्ने र सर्वसाधारणलाई विभिन्न अनलाइन माध्यमबाट फसाउने एक संगठित गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक १४ वर्षीय नाबालकसहित तीन जना रहेका छन् । उक्त समूहले करिब १० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित प्रभु अस्पताल अगाडिको सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज-२९ मुसैली बस्ने वर्ष ३५ का कृष्णा प्रसाद साह, सोही स्थानका एक १४ वर्षीय नाबालक र बाराको विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले विभिन्न बैंकका ४३ थान एटीएम कार्डसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार यो गिरोहले अनलाइन ठगीका लागि नयाँ र परिष्कृत तरिका अपनाएको पाइएको छ । गिरोहले विशेषगरी ठुला व्यापारिक कम्पनीलाई निशाना बनाउने गरेको थियो । 

उनीहरूले कम्पनीहरूलाई सम्पर्क गरी ठुलो परिमाणमा सामान अर्डर गर्थे । त्यसपछि एआई प्रविधिको प्रयोग गरेर सक्कली जस्तै देखिने पर्चेज अर्डर र सामानको भुक्तानीका लागि बैंकमा रकम जम्मा गरेको नक्कली भौचर (डिपोजिट स्लिप) बनाएर पठाउँथे । डीएसपी बस्नेतले भने, “कम्पनीहरूले भौचर देखेपछि भुक्तानी भयो भन्ने विश्वासमा सामान पठाइदिन्थे तर पछि बैंक खातामा हेर्दा रकम जम्मा भएको हुँदैनथ्यो । यसरी उनीहरूले ठुलो मात्रामा सामान ठगी गर्ने गरेको देखियो ।”

प्रहरीका अनुसार ठगी गरिएको सामान समेत उनीहरूले सिधै आफूसम्म नपुऱ्याई विभिन्न लेयर बनाएर व्यवस्थापन गर्थे । सामान उठाउन एउटा व्यक्ति, त्यसलाई भण्डारण गर्न अर्को र बजारमा बेच्न तेस्रो व्यक्तिलाई प्रयोग गरिन्थ्यो । यसले गर्दा अनुसन्धानकर्तालाई मुख्य योजनाकारसम्म पुग्न कठिन हुन्थ्यो ।

यसका साथै गिरोहले सर्वसाधारणलाई समेत ठगीको निशाना बनाएको थियो । उनीहरूले सामाजिक सञ्जालमार्फत फिसिङ, ओटीपी फ्रड, जब स्क्याम र फेक अनलाइन बिजनेस जस्ता विभिन्न प्रलोभन देखाएर ठगी गर्थे । घरमै बसेर पैसा कमाउने लोभ देखाएर सुरुमा थोरै लगानी गर्न लगाउने र केही रकम फिर्ता दिएर विश्वास जितेपछि ठुलो रकम लगानी गर्न लगाएर सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

ठगीबाट सङ्कलित रकम जम्मा गर्नका लागि गिरोहले गरिब तथा अशिक्षित व्यक्तिलाई मासिक भाडा दिने प्रलोभनमा पारी उनीहरूको नाममा बैंक खाता र डिजिटल वालेट खोल्न लगाउँथ्यो । ती खाताको सञ्चालन भने गिरोह आफैले गर्थ्यो । "यतिसम्म कि त्यो जम्मा भएको रकम एटीएमबाट निकाल्न समेत यस गिरोहले मान्छे भाडामा लगाउने गरेको देखिन्छ," डीएसपी बस्नेतले भने, "हरेक तरिकाले सजगकता अपनाउन खोजेको देखियो ।तर, हामीले सुक्ष्म रूपमा गरेको अनुसन्धानबाट गिरोहका प्रमुखमध्येका १ जनालाई फेला पारेका छौं ।"

पक्राउ परेकामध्ये कृष्णाप्रसाद साह मुख्य ‘डिलर’को भूमिकामा रहेको र उनको खाताबाट १० करोडभन्दा बढीको कारोबार देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेका १४ वर्षीय नाबालकलाई भने पैसाको प्रलोभन देखाई सामान ओसारपसार जस्ता काममा लगाइएको पाइएको छ ।

पक्राउ परेका तीनै जनालाई बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले यस गिरोहमा अन्य व्यक्तिको संलग्नता र ठगीका थप घटनाबारे अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १८:४