सामाजिक सञ्जालमा एनपीएलका टिमः सुदूरपश्चिम सबैभन्दा अगाडि, साविकको विजेता जनकपुर पुछारमा
मंसिर १, २०८२ १२:२६
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आजदेखि सुरु हुँदैछ । झन्डै एक महिनासम्म चल्ने यस प्रतियोगिताका लागि समर्थक माझ ठुलो उत्साह छ भने मैदान बाहिर डिजिटल प्लेटफर्ममा पनि टिमहरूबिच रोचक प्रतिस्पर्धा छ ।
सामाजिक सञ्जाल र इन्टरनेटमा कुन टिम कति सक्रिय र लोकप्रिय छ भन्ने विषयमा गरिएको विश्लेषणले टिमहरूको डिजिटल उपस्थितिमा ठुलो भिन्नता देखाएको छ । सबैभन्दा पहिले वेबसाइटको कुरा गर्दा कूल आठ टिममध्ये काठमाडौँ गोर्खाजको वेबसाइट निष्क्रिय अवस्थामा छ ।
यसले समर्थकलाई टिमबारे आधिकारिक जानकारी लिन कठिन बनाएको छ । अन्य ७ टिमका वेबसाइट भने सक्रिय छन्, जसबाट टिमका गतिविधिबारे जानकारी दिनेदेखि समर्थकलाई जर्सी लगायतका सामग्री बिक्री गर्ने काम पनि भइरहेको छ ।
विराटनगर किङ्ग्सको वेबसाइट सामान्य छ । यसमा आधारभूत जानकारी र समर्थकले आफ्नो विवरण राख्न सक्ने ‘बिकम फ्यान’ को पृथक् विकल्प राखिएको छ । तर खेलाडीको प्रोफाइल वा खेल तालिकाको सेक्सन खाली देखिन्छ ।
यसको ठिक विपरीत कर्णाली याक्स र चितवन राइनोजका वेबसाइट सबैभन्दा आकर्षक र जानकारीमूलक देखिएका छन् । कर्णाली याक्सको होमपेजमा थिम भिडिओ, हरेक खेलाडीको विस्तृत बायो, गत वर्षका खेलको नतिजा र समग्र अङ्क तालिका जस्ता विस्तृत विवरण समावेश छन् ।
यसमा टिमसँग सम्बन्धित सूचना, समाचार र भिडिओ पनि राखिएका छन् । तर किनमेलको विकल्प भने दराजमा रिडाइरेक्ट हुन्छ । चितवन राइनोजको वेबसाइट पनि अन्यभन्दा विशेष र आकर्षक छ । यसमा खेलाडीका आकर्षक फोटो र जर्सी नम्बर, अघिल्लो सिजनका खेलहरूको विस्तृत नतिजा, समाचार, हरेक खेलका फोटोसहितको ग्यालरी र वेबसाइटबाटै विभिन्न किसिमका जर्सी अर्डर गर्न सकिने सुविधा उपलब्ध छ ।
त्यस्तै पोखरा एभेन्जर्स र अघिल्लो सिजनको विजेता जनकपुर बोल्ट्सका वेबसाइट पनि आकर्षक छन् । पोखराको वेबसाइटमा खेलाडी र टिम सदस्यको नाम, समाचार, ब्लग र खेल तालिका राखिएको छ । तर जर्सी किन्नका लागि नेपथ्यको वेबसाइटमा रिडाइरेक्ट हुनुपर्छ ।
जनकपुर बोल्ट्सको वेबसाइटमा खेलाडीको नाम, फोटो, जन्ममिति र भूमिका जस्ता विस्तृत विवरण छन् । साथै समर्थकले वेबसाइटबाटै जर्सी खरिद गर्न सक्छन् । सुदूरपश्चिम रोयल्सको वेबसाइट सक्रिय भए पनि कम आकर्षक देखिन्छ । यसमा खेलाडीको सामान्य जानकारी र सशुल्क सदस्यता लिन सकिने विकल्प राखिएको छ ।
त्यस्तै लुम्बिनी लायन्सको वेबसाइट अन्य टिमको भन्दा आकर्षक देखिन्छ । ब्रान्डको कलरमा सजिएको उक्त वेबसाइटको होमपेजमा खेलाडीका फोटो र नाम, लिग तालिका लगायतका विवरण छन् । हरेक खेलाडीको विस्तृत प्रोफाइल छ, जसमा खेलाडीको नाम, जन्ममिति, विशेषतासहित छोटो जीवनी पनि समावेश छ । यो अन्य टोलीभन्दा पृथक छ । वेबसाइटमा समाचार तथा नयाँ जानकारी, खेल तालिका र नतिजा, फोटो ग्यालरी लगायतका विवरण राखिएका छन् । फोटो तथा भिडिओका लागि पनि छुट्टै खण्डहरू छुट्याइएका छन् ।
वेबसाइटमा देखिएको यो विविधता सामाजिक सञ्जालमा पनि उत्तिकै रोचक छ । जहाँ फलोअरको दौडमा टिमबिच ठुलो अन्तर देखिन्छ । सामाजिक सञ्जालमा सुदूरपश्चिम रोयल्स सबैभन्दा अगाडि छ, जसको फेसबुकमा २ लाख २७ हजार, इन्स्टाग्राममा २० हजार ७०० र टिकटकमा ३५ हजार ८०० फलोअर छन् । दोस्रो स्थानमा रहेको पोखरा एभेन्जर्सको फेसबुकमा १ लाख ५८ हजार, इन्स्टाग्राममा १९ हजार ५०० र टिकटकमा ११ हजार ४०० फलोअर छन् । यो टिम एक्स र युट्युबमा पनि सक्रिय छ ।
त्यस्तै लुम्बिनी लायन्स फेसबुकमा १ लाख ३८ हजार र इन्स्टाग्राममा १५ हजार फलोअरसहित तेस्रो स्थानमा छ । तर टिकटकमा भने उसको उपस्थिति २६५ फलोअरमा खुम्चिएको छ ।
यसैगरी कर्णाली याक्सको फेसबुकमा १ लाख, इन्स्टाग्राममा २२ हजार ८०० र टिकटकमा ३५ हजार ३०० फलोअर छन् । विराटनगर किङ्ग्सको फेसबुकमा ९८ हजार, इन्स्टाग्राममा २३ हजार ४०० र टिकटकमा १५ हजार ५०० फलोअर छन् ।
चितवन राइनोजको फेसबुकमा ५२ हजार, इन्स्टाग्राममा १४ हजार र टिकटकमा १४ हजार ५०० फलोअर छन् भने काठमाडौँ गोर्खाजको फेसबुकमा ४४ हजार, इन्स्टाग्राममा ७ हजार २३४ र टिकटकमा ९ हजार २९७ फलोअर छन् ।
तर गत सिजनको विजेता जनकपुर बोल्ट्स भने सामाजिक सञ्जालमा सबैभन्दा पछाडि देखिएको छ । जनकपुरको फेसबुकमा ३८ हजार र इन्स्टाग्राममा ६ हजार ५८६ फलोअर मात्र छन् भने टिकटक अकाउन्ट अस्तित्वमै नभएको देखिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १७:११
