close

टेकपाना तथ्यजाँच: के साँच्चिकै गगन थापा काठमाडौँमा बाख्रा खेदिरहेको अवस्थामा देखिएका हुन् ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

मंसिर २, २०८२ १५:९

टेकपाना तथ्यजाँच: के साँच्चिकै गगन थापा काठमाडौँमा बाख्रा खेदिरहेको अवस्थामा देखिएका हुन् ?

काठमाडौँ । पछिल्लो केही दिन देखि सामाजिक सञ्जालमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाख्रा धपाएको दाबी सहितको भिडिओ भाइरल भइरहेको छ । ‘गगन थापा पुरानो काममा नै फर्किए’ भन्ने दाबी सहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ शेयर गरिरहेका छन् । सोही भिडिओको टेकपानाले तथ्यजाँच गर्दा भाइरल भिडिओ एआईबाट तयार पारिएको पाइएको हो । 

दाबी 

गगन थापा आफ्नो पुरानो काममा नै फर्किए भन्ने दाबी सहित ‘Rudra Jaishi’ नामका फेसबुक प्रयोगकर्ताले आठ सेकेन्ड लामो भिडिओ पोस्ट गरेका छन् । भिडिओको स्टाटसमा उनले लेखेका छन्, “गगन थापा आफ्नै पुरानै काममा फर्किए ।” 

१६ नोभेम्बर दिउँसो ४:५७ मा सार्वजनिक उक्त रिल्समा काठमाडौँको वीर अस्पताल आसपासको क्षेत्रमा थापा बाख्रा धपाउँदै हिँडिरहेको देख्न सकिन्छ । त्यहाँ आठ वटा बाख्रा हिँडिरहेका छन् भने पछि पछि उनी लाठी लिएर ती बाख्राहरूलाई धपाइरहेका छन् । पृष्ठभूमिमा गाडीहरू गुडिरहेको र बाख्रा कराइरहेको आवाज सुन्न सकिन्छ ।

यो सामग्री तयार पार्दासम्म सो रिल्समा चार लाख ८ हजारभन्दा बढी भ्युज आइसकेको छ । हेर्नुहोस् भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट ।  
 

 

यस्तै फेसबुकमा ‘Suraj Tamu’, ‘र।जा र।नि’, ‘Suren Ale Magar’, ‘राष्ट्रिय स्वतन्त्र घण्टी’, ‘Dipak Guragain’ लगायतका कयौँ प्रयोगकर्ताहरूले सोही दाबी सहित गगन थापाले बाख्रा धपाएको भिडिओ पोस्ट गरेका छन् ।

अनुसन्धान 

गगन थापाले बाख्रा धपाएको दाबी गरिएको सो भिडिओको अनुसन्धानका लागि हामीले सबैभन्दा पहिला उक्त भिडिओबाट किफ्रेमहरू निकालेर विश्लेषण गर्‍यौँ । विश्लेषणका क्रममा भिडिओमा भएका केही दृश्यहरू अस्वाभाविक रहेको पाइयो । 

भिडिओमा गगन थापा जस्तै देखिने व्यक्तिले बोकेको लौरोको टुप्पो अस्वाभाविक रूपमा परिवर्तन भइरहेको देखिएको छ । यस्तै, पृष्ठभूमिमा गुडिरहेका गाडीहरू पनि असामान्य देखिएको छ ।

 

पृष्ठभूमिमा गुडिरहेका गाडीको अगाडिको भाग अस्वाभाविक देखिन्छ । 

हामीले उक्त भिडिओलाई एआई हो वा होइन पत्ता लगाउन हाइभ मोडेरेसन टुलमा भिडिओ राखेर हेर्‍यौँ । यसरी हेर्दा भिडिओलाई उक्त टुलले ८४% एआई जेनेरेटेड रहेको बतायो । यस्तै भिडिओमा प्रयोग भएको अडियो भने वास्तविक नै रहेको सो टुलले देखाएको छ । 


 

यसरी विश्लेषण गर्दा उक्त भिडिओ वास्तविक नभइ एआईबाट तयार भएको पुष्टि भयो ।

दाबी 

गगन थापाले बाख्राहरूलाई धपाए । 

दाबीकर्ता 

‘Rudra Jaishi’, ‘Suraj Tamu’, ‘र।जा र।नि’, ‘Suren Ale Magar’, ‘राष्ट्रिय स्वतन्त्र घण्टी’, ‘Dipak Guragain’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

गगन थापाले बाख्रा धपाएको दाबी गरिएको भिडिओ एआईबाट तयार पारिएको हो । 

निष्कर्ष

सामाजिक सञ्जालमा वीर अस्पताल आसपासको क्षेत्र जस्तो देखिने ठाउँमा काँग्रेस महामन्त्री गगन थापा हातमा लौरो लिएर बाख्राको हुल धपाउँदै गरेको भिडिओ भाइरल भइरहेको छ । टेकपाना तथ्यजाँचका क्रममा उक्त भिडिओ मिथ्या रहेको पाइएको छ । भाइरल उक्त भिडिओ एआईबाट तयार पारिएको हो । 

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १५:९