close

राहदानी विभागमा ‘छिटो पासपोर्ट बनाइदिन्छु’ भन्दै रकम असुल्ने ८ बिचौलिया पक्राउ

टेकपाना टेकपाना

मंसिर २, २०८२ १७:५८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । राहदानी विभाग परिसरमा सेवाग्राहीलाई छिटोछरितो पासपोर्ट बनाइदिने नाममा रकम असुल्ने आठ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागको मुलगेट बाहिर सेवाग्राहीलाई प्रलोभन देखाई अतिरिक्त रकम असुल्दै हैरान पार्ने बिचौलियाहरूको गतिविधि बढिरहेको भन्ने विशेष जानकारी पाएपछि प्रहरी टोली खटाइएको थियो ।

पक्राउ परेकाहरूले विभागका कर्मचारीको नियमित कामकारबाहीमा समेत अवरोध पुर्‍याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सोमबारै उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सञ्जय आङ्देम्बे, ख्याम बहादुर श्रेष्ठ, प्रेम बहादुर लामा, भगवान तामाङ, टेक बहादुर सुनार, साजन श्रेष्ठ, गोकुल बहादुर श्रेष्ठ र जीवन लामा रहेका छन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकाली पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १७:५८