ओटीटीमा डिशहोम गोबाट मात्र एनपीएल लाइभ हेर्न आग्रह, अनधिकृत प्रसारण गरे कारबाही गरिने
मंसिर ७, २०८२ १६:५३
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लाइभ आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह गरिएको छ । एनपीएल आयोजक नेपाल क्रिकेट सङ्घ र ओटीटी अधिकार प्राप्त डिश मिडियाले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
विश्वभर (भारत बाहेक) एनपीएलको ओटीटी प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ । डिशहोमको डिशहोम गो नामक एप मार्फत पैसा तिरेर एनपीएलका खेलहरू हेर्न सकिन्छ ।
डिशहोम गो बाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्वीटर (एक्स), टेलिग्राम, अन्य वेबसाइट तथा एपबाट एनपीएल प्रसारण गर्नु अनुचित तथा अनधिकृत रहेको स्पष्ट पारिएको छ । एनपीएल अन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरूको अनधिकृत बिक्री वितरण, पुन:प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैर कानुनी रहेको हुँदा दण्डनीय हुने बताइएको छ ।
सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदार तथा सरोकारवालाहरूलाई तोकिएका आधिकारिक प्लेटफर्म (डिशहोम गोल गायत) बाट मात्र एनपीएल अन्तर्गतका क्रिकेट खेल हेर्न क्यान र डिश मिडियाले संयुक्त रूपमा अनुरोध गरेका छन् । अनधिकृत लिंक, साइट तथा माध्यमहरूबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु समेत अनुरोध गरिएको छ ।
साथै एनपीका कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई जानकारी गराउन भनिएको छ । त्यस्ता अनधिकृत कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १६:५३
