फ्याक्टचेक: भेडाको भेषमा स्पेन जाँदा अल्जेरियाली नागरिक पक्राउ परे भन्दै फैलिएको दाबी भ्रामक
मंसिर १०, २०८२ ११:४२
काठमाडौँ । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा केही दिनदेखि तीनजना मानिसहरू भेडाजस्तो भेषमा गाडीमा बसेर क्यामेरातर्फ हेरिरहेको तस्बिर भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त तस्बिर शेयर गर्दै अल्जेरियाबाट स्पेनमा भेडाको भेष बदलेर जान लागेका मानिसहरू पक्राउ परेको दाबी गरिरहेका छन् । उक्त तस्बिरको तथ्यजाँच गर्दा वास्तवमा सो तस्बिर टिकटक भिडिओको भएको पाइएको छ । ‘शन द शीप’ नामक कार्टुनको जस्तै भेष बनाएर सोही कार्टुनको थिम सङमा नाच्दै बनाइएको भिडिओको स्क्रिनशटलाई लिएर भ्रम फैलाएको पाइएको हो ।
दाबी
‘हिमाली पत्रिका’ नामक फेसबुक पेजले २२ नोभेम्बर बिहान ४:५३ मा ‘अल्जेरियामा तीनजना भेडा बनेर स्पेन छर्न खोज्दा समातिए’ शीर्षकसहित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको छ । उक्त पोस्टमा १८ सय भन्दा धेरैको रियाक्सन आएको छ भने ५० पटक बढी शेयर भएको छ । उक्त पोस्टमा अधिकांश प्रयोगकर्ताहरूले पाउन्डमा कमाइ गर्नका लागि युरोप छिर्न मानिसहरू अनौठो क्रियाकलाप गर्न पनि तयार हुने गरेको भन्दै आश्चर्य मानी कमेन्ट गरेका छन् ।
यस्तै ‘Smart News’ नामक फेसबुक पेजले भेडा बनेर स्पेन छिर्न खोजेपछि भन्दै समाचार राखेको छ । २३ नोभेम्बर बिहान ११:४१ मा सार्वजनिक भिडिओमा समाचारवाचिकाको पृष्ठभूमिमा एआईबाट तयार पारिएको स्पष्ट चिन्न सकिने भिडिओहरू प्रसारण भइरहेका छन् । तर समाचारमा भने ‘हिमाली पत्रिका’को जस्तै दाबी गरिएको छ ।
उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म आठ लाख ५० हजारभन्दा धेरै पटक हेरिएको छ । यस्तै सो भिडिओमा १२ हजार बढी लाइक र छ सयभन्दा धेरै पटक शेयर भइसकेको छ ।
भिडिओमा भनिएको छ, “अल्जेरियाका तीन पुरुष भेडा बनेर स्पेन छिर्न खोज्दा समातिए । अल्जेरियाका तीन पुरुष स्पेन छिर्न भेडा झैँ भेष बदल्दै पशुधन क्षेत्र मिसिन खोजेपछि पक्राउ परेका छन् । कटनले शरीर बेरिएको र अनुहारमा रङ लगाएर भेडा बन्ने उनीहरूको योजना प्रहरीको नगरमा पुग्यो । जब भेडा जस्तै देखिएका मानिसहरू अस्वाभाविक रूपमा हिँड्न थालेपछि सवारी रोकी जाँच गर्दा सबै समातिएका हुन् । युरोप पुग्न मानिसहरूले अपनाएको चरम उपायको यो सबैभन्दा अनौठो र हास्यास्पद घटना मानिएको छ । ” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
यस्तै, फेसबुक पेज ‘Websanchar’ ले पनि उस्तै दाबीसहित भिडिओ बनाएको छ । १९ सेकेन्ड लामो उक्त भिडिओमा पनि अन्य जनावरसँग मिसिएर छिर्न खोज्दा भेडाको भेषमा भएका पुरुषहरू पक्राउ परेको दाबी गरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
‘nayapusta.com’ नामक पेजले पनि “अल्जेरियामा तीन जना भेडा बनेर स्पेन छिर्न खोज्दा पक्राउ” दाबी गर्दै २२ नोभेम्बर १२:२६ मा उक्त फोटोसहित पोस्ट सार्वजनिक गरेको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
अल्जेरियाको नागरिकले भेडाको भेष बदलेको दाबीसहित अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि धेरै भिडिओहरू राखेको हामीले फेला पार्यौँ । ती दाबीसहितका पोस्ट हेर्न यहाँ, यहाँ, यहाँ र यहाँ क्लिक गर्नुहोस् ।
अनुसन्धान
सामाजिक सञ्जालमा उक्त तस्बिरसहितको भिडिओ भाइरल भइरहेको पाएपछि हामीले उक्त शरीरमा कालो रङ लगाएको गुगल रिभर्स सर्च गरेर हेर्यौँ । जहाँ नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तासँगै विभिन्न देशका प्रयोगकर्ताहरू पनि अल्जेरियाका नागरिकहरू भेडाको भेष बदलेर जाँदा सिमा पार गर्न खोज्दा पक्राउ परेको दाबीसहितका सार्वजनिक गरेका कयौँ पोस्टहरू फेला पर्यो । ति मध्ये अधिकांश पोस्टहरू पछिल्लो एक हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन् ।
हामीले त्यसपछि अल्जेरियाली नागरिक भेडाको भेषमा स्पेन जाँदै पक्राउ परेका दाबीलाई पुष्टि समाचारहरू खोज्यौँ । खोज्ने क्रममा यो तस्बिरलाई लिएर पहिल्यै नै भइसकेका तथ्यजाँचहरू पनि फेला पर्यो । ‘याहो न्युज’ले गरेको तथ्यजाँच अनुसार यो भिडिओ सन् २०२४ देखि नै सामाजिक सञ्जालमा छ । उक्त तथ्यजाँचको निष्कर्ष अनुसार जुलाई २०२४ मा नै टिकटकमा सार्वजनिक भिडिओको क्लिपलाई स्क्रिनशट लिएर गलत तरिकाले व्याख्या गरिएको हो । टिकटकमा समूहमा मानिसहरू भेडाको जस्तो पोसाक लगाएर नाचिरहेको भिडिओ राखिएका छन् । त्यही भिडिओको स्क्रिनशटलाई अल्जेरियाको नागरिक भेडा बनेर जाँदा स्पेनमा पक्राउ परेको भन्दै भ्रम फैलाइएको हो ।
@megabaksa ♬ оригинальный звук - MuaTv
उनीहरूले लगाएको पोशाक भने सन् २००७ ताकाको चर्चित कार्टुन 'शन द शीप' सँग मिल्दो छ । बेलायतको बीबीसी वान च्यानलमा आउने यो कार्टुन बालबालिकाहरूमा निकै चर्चित समेत थियो । टिकटक भिडिओको क्लिपमा ती समूहहरू शन द शीपकै थिम सङमा नृत्य समेत गरिरहेका छन् । तर उक्त थिम सङ भने अङ्ग्रेजी भाषामा नभई युक्रेनी भाषामा छ । अङ्ग्रेजी भाषाको थिम सङ यहाँ क्लिक गरेर सुन्न सक्नुहुन्छ ।
यही गीतमा अन्यले पनि शरीरमा कालो रङ र कपास टाँसेर अन्य प्रयोगकर्ताहरूले पनि टिकटक बनाएका छन् ।
‘इन्टरनेसनल बिजनेस टाइम्स यूके’ ले पनि भाइरल फोटोको दाबी गलत भएको जानकारी दिँदै समाचार लेखेको छ ।
युरोपेली सञ्चारमाध्यममा पनि जनावरको भेषमा सीमा नाघेका कारण अल्जेरिया वा स्पेनमा कसैलाई पक्राउ गरिएको कुनै प्रमाणित रिपोर्टहरू फेला नपरेको उक्त समाचारमा उल्लेख छ ।
समाचार अनुसार पछिल्लो समयमा अगस्ट २०२५ मा स्पेनमा डुङ्गा प्रयोग गरेर अवैधानिक तरिकाले आइरहेका आप्रवासीहरू पक्राउ परेका थिए । तर यो जनावरसँग भेष बदलेको विषयसँग कुनैपनि सम्बन्धित छैन ।
यद्यपि भेडाको भेषमा भाग्न खोजेको घटना भने घटेको छ । सन् २०२३ मा जोसे लुइस क्यासिसिया डियाज नामका कैदी भेडाको भेष बदलेर जेलबाट भाग्ने प्रयास गरेका थिए । हत्या अभियोगमा १५ वर्ष लामो जेल सजाय काटिरहेको उनी घाँसै मैदानमा भेडाजस्तै बनेर लुक्न खोजिरहेको अवस्थामा तत्कालै पक्राउ परेका थिए ।
दाबी
अल्जेरियाका तीनजना पुरुष भेडाको भेषमा स्पेन छिर्न खोज्दा पक्राउ परे ।
दाबीकर्ता
'हिमाली पत्रिका', 'Smart News', 'Websanchar', 'nayapusta.com' लगायतका फेसबुक पेज सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।
तथ्य
अल्जेरियाली नागरिकहरूलाई भेडाको भेष स्पेनको सीमामा पक्राउ गरिएको घटना वास्तवमा घटेको नै छैन । र भाइरल तस्बिर पनि आप्रवासी पक्राउको घटनासँग सम्बन्धित छैन । वास्तवमा भाइरल तस्बिर जुलाई २०२४ मा टिकटकमा सार्वजनिक गरिएको एक भिडिओको स्क्रिनशट हो । भिडिओमा मानिसहरू शन द शीप नामक कार्टुनको थिम सङमा सोही कार्टुनका पात्रहरूको जस्तै पोशाक लगाएर नाचिरहेका छन् । सोही भिडिओको स्क्रिनशटलाई लिएर भ्रम फैलाइएको हो ।
निष्कर्ष
अल्जेरियाका तीनजना पुरुष भेडाको भेषमा स्पेन छिर्न खोज्दा पक्राउ परेको दाबी झुटो हो । उक्त दाबीमा प्रयोग भएको भिडिओ वास्तवमा टिकटक भिडिओको स्क्रिनशट हो । शन द शीप नामक कार्टुनको थिम सङमा सोही कार्टुनका पात्रहरूको जस्तै पोसाक लगाएर बनाइएको टिकटक भिडिओको स्क्रिनशट लिइएर भ्रम फैलाइएको हो । अल्जेरियाली नागरिकहरूलाई भेडाको भेष स्पेनको सीमामा पक्राउ गरिएको घटना वास्तवमा घटेको नै छैन ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ ११:५३
