‘घण्टाको १००० कमाइ हुने’ भन्दै नेपाल बैंकको नाममा फेसबुकमा विज्ञापन देखियो ? सावधान !
मंसिर १०, २०८२ १५:३४
काठमाडौँ । नेपाल बैंक*को नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा ‘अनलाइन जागिर’ को प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । आफ्नो आधिकारिकता झल्किने गरी नक्कली विज्ञापन बनाएर सर्वसाधारणलाई ठग्ने क्रम बढेपछि बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा राखिएका यस्ता विज्ञापनमा दिनको २-३ घण्टा काम गर्दा १००० देखि २००० रुपैयाँसम्म आम्दानी गर्न सकिने भन्दै प्रलोभन देखाउने गरिएको छ ।
नेपाल बैंकले बुधबार एक सूचना जारी गर्दै यस्ता भ्रामक विज्ञापनबाट बच्न सर्वसाधारणलाई अनुरोध गरेको छ । बैंकले जारी गरेको सूचनामा विभिन्न जागिरको प्रलोभन देखाएर व्यक्तिगत विवरण माग्ने र आर्थिक ठगी गर्ने गरेको भन्दै कसैलाई पनि आफ्नो विवरण नदिन सचेत गराएको हो ।
बैंकले सचेतनाका लागि सार्वजनिक गरेको ‘फ्रड’ विज्ञापनको स्क्रिनशटमा नेपाल राष्ट्र बैंकको लोगो नै प्रयोग गरिएको देखिन्छ । फेसबुकमा शुल्क तिरेर (स्पोन्सर) गरिएका यस्ता विज्ञापनले खासगरी बेरोजगार, अनुभव नभएका र थोरै समयमा धेरै रकम कमाउन चाहने व्यक्तिलाई लक्षित गरेको देखिन्छ । विज्ञापनमा काम गर्न कुनै अनुभव नचाहिने र केवल मोबाइल फोन भए पुग्ने दाबी गर्दै लिङ्कमा क्लिक गर्न लगाइन्छ ।
सुरुवातमा विश्वास जित्नका लागि गिरोहले पोस्ट लाइक गर्ने, युट्युब च्यानल सब्स्क्राइब गर्ने जस्ता सामान्य काम लगाउने र त्यसबापत थोरै रकम पठाउने गर्छन् । यसरी रकम पाएर प्रयोगकर्ता विश्वस्त भइसकेपछि उनीहरूलाई लगानी गर्न लगाइन्छ । विस्तारै विभिन्न प्रलोभन देखाएर लगानी रकम बढाउँदै लगिन्छ । अन्त्यमा ठूलो रकम फसेपछि वा पीडितले थप रकम तिर्न नसक्ने अवस्था आएपछि ठग सम्पर्कविहीन हुने गरेका छन् ।
पछिल्लो समय यसरी अनलाइन माध्यमबाट ठगिने गतिविधि बढेसँगै नेपाल बैंकले यस्ता ठगीबाट जोगिने उपाय अपनाउन अनुरोध गरेको छ ।
समाचारमा नेपाल बैंक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १७:६
