अवरुद्ध डेटा सेवा चलाउन टेलिकमको बिलिङ नै बाइपास, प्याक नलिनेले निःशुल्क चलाउँदा ५० लाख घाटा
मंसिर १७, २०८२ १४:७
काठमाडौँ । मङ्गलबार डेटा सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमले बिलिङ प्रणालीलाई नै बाइपास गरेर सेवा चलाउन बाध्य भएको पाइएको छ । टेलिकमको नेटवर्कमा अस्वाभाविक ट्राफिक बढ्दा प्रणालीले नधानेपछि टेलिकमले बिलिङ प्रणालीलाई नै बाइपास गरेर सेवालाई निरन्तरता दिएको हो ।
के कारणले प्रणालीमा अत्यधिक रिक्वेस्ट आयो भन्ने विषयमा टेलिकमका प्राविधिकले अझै चाल पाउन सकेका छैनन् । मङ्गलबार अपराह्न ५:१५ बजेदेखि नेपाल टेलिकमको डेटा सेवा नेपालभर अवरुद्ध भएको थियो । सवा ५ बजेदेखि नै टेलिकमको डेटा देशभर नै ‘इनएक्टिभ मोड’मा गएको थियो । राति साढे ७ बजेसम्म पनि टेलिकमका प्राविधिकहरूले समस्या पहिचान गर्न सकेनन् । जसलाई प्राविधिक भाषामा ओसीएस मोड्युल भनिन्छ ।
त्यसपछि टेलिकमले बिलिङ प्रणालीलाई बाइपास गरेर सेवा चलाउने निर्णय गर्यो । जसका कारण देशैभर टेलिकमको डेटा नि:शुल्क चल्यो । राति साढे ११ बजेसम्म प्याकेज नलिएका टेलिकमका ग्राहकको स्मार्टफोनमा डेटा नि:शुल्क चल्यो । टेलिकम स्रोतका अनुसार बिलिङ प्रणाली बाइपास गर्दा कम्पनीलाई ५० लाख रुपैयाँ नोक्सान भएको छ भने २०० टीबी डेटा खेर गएको छ ।
सवा ५ देखि साढे ७ बजेसम्म टेलिकमको सार्वजनिक सेवा अवरुद्ध हुँदा साढे ७ देखि साढे राति ११ बजेसम्म सम्पूर्ण आम्दानी टेलिकमले गुमाउन पुगेको हो । “डेटा नै सेवा नै ठप्प भएपछि जसरी पनि सेवा नियमित गर्नैपर्ने थियो । त्यसका लागि बढी भएको ट्राफिकलाई बिलिङ बाइपास गरेर चलाइयो । प्याकेज लिएकाहरूको हकमा भने त्यसैबाट काटियो । तर, प्याकेज नलिएकाहरूले डेटा चलाउँदा ब्यालेन्स काटिएन । साढे ७ देखि साढे ११ बजेसम्म मेन ब्यालेन्सबाट डेटा चलाउनेहरूको ब्यालेन्स एक रुपैयाँ पनि काटिएन । अझैसम्म पनि के कारणले डेटा सेवा अवरुद्ध भयो भन्ने पहिचान भएको छैन,” टेलिकमका एक प्राविधिकले टेकपानासँग भने ।
स्रोतका अनुसार टेलिकमको आउटडेटेड आर्किटेक्चर र हार्डवेयरका कारण मङ्गलबार डेटा सेवामा समस्या दोहोरिएको हो । “समस्या आउने दुई ओटा कारण छन्; एउटा बिलिङ प्रणाली र अर्को पीएस कोर । पीएस कोर भनेको प्याकेट-स्विच्ड कोर नेटवर्क हो । यसले सेलुलर नेटवर्कमा मोबाइल डेटा व्यवस्थापन गर्छ । समस्या आउनुमा यी दुई बाहेक अर्को कुनै कारण छ जस्तो लाग्दैन । कि डेटा सेवामा समस्या आउनु पर्यो कि त बिलिङ प्रणालीमा । हिजोको समस्या बिलिङ प्रणालीकै कारण हो भन्ने प्रारम्भिक विश्लेषण छ,” स्रोतले भन्यो ।
सन् २०२५ मा कूल पाँच पटक टेलिकमको नेटवर्कमा समस्या आइसकेको छ । ४ फेब्रुअरीमा देशभर टेलिकमको नेटवर्क डाउन भएको थियो । त्यसपछि २८ जुलाईमा पनि समस्या आएको थियो । २५ सेप्टेम्बरमा राति १ बजेदेखि बिहान ६ बजेसम्म टेलिकमको नेटवर्कमा समस्या आएको थियो । सोही दिन बिहान साढे ९ बजेदेखि पुन: देशभर टेलिकमको नेटवर्क डाउन भएको थियो ।
पुरानो बिलिङ प्रणालीका कारण सन् २०२४ को वर्षमा टेलिकमको नेटवर्कमा १७ पटक समस्या आएको थियो । सन् २०११ देखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ प्रणाली टेलिकमले चलाउँदै आएको छ । उक्त कम्पनीको बिलिङ प्रणाली पुरानो भएकाले टेलिकमको सेवा पटक पटक अवरुद्ध हुँदै आएको छ ।
नयाँ बिलिङ प्रणाली खरिदका लागि टेलिकमले १८ मार्च २०२५ मा ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा ह्वावे टोक्नोलोजिज र ह्वेल क्लाउडले प्रस्ताव बुझाएका थिए ।
टेलिकमले ३१ अगस्ट २०२५ मा ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्याउँदै १५ सेप्टेम्बर २०२५ मा आर्थिक प्रस्ताव खोल्ने सूचना निकालेको थियो । तर, जेनजी आन्दोलनका कारण परिस्थिति अनुकूल नभएको कारण देखाउँदै टेलिकमले १५ सेप्टेम्बरमा सूचना निकाल्दै २४ सेप्टेम्बरमा खोल्ने मिति तोक्यो ।
ठिक त्यहीबेला २२ सेप्टेम्बरमा जगदीश खरेल सञ्चारमन्त्री नियुक्त भए । त्यसको दुई दिनपछि २४ सेप्टेम्बरकै दिन टेलिकमले विशेष परिस्थिति निम्तिएको भन्दै पूर्वनिर्धारित आर्थिक प्रस्ताव खोल्ने मिति, समय र स्थान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।
ठेक्का प्रक्रियामा प्रश्न उठेपछि मन्त्री खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा समिति बनाएर अध्ययन गराएका थिए । त्यो समितिले ठेक्का प्रक्रियामा केही कैफियत देखिएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने निष्कर्ष दिएको छ । अहिलेसम्म टेलिकमले ठेक्काको आर्थिक प्रस्ताव खोलेको छैन ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १४:३८
