close

एन्ड्रोइड र आईफोनको विकल्पमा आयो लिनक्समा आधारित प्राइभेसी-केन्द्रित नयाँ जोला फोन

टेकपाना टेकपाना

मंसिर २३, २०८२ ९:५०

एन्ड्रोइड र आईफोनको विकल्पमा आयो लिनक्समा आधारित प्राइभेसी-केन्द्रित नयाँ जोला फोन

काठमाडौँ । एन्ड्रोइड र आईफोनको विकल्पमा नयाँ जोला फोन (Jolla Phone) बजारमा आउने भएको छ । कम्पनीले प्रि-अर्डर खुलाएसँगै लिनक्समा आधारित यो फोनको चर्चा सुरु भएको हो ।

जोला कम्पनीले सन् २०१३ मा पहिलो जोला फोन र सेलफिस ओएस सुरु गरेदेखि खासै चर्चामा नआए पनि अहिले भने यो नयाँ ह्यान्डसेटसहित फर्किएको हो । यो डिभाइस एन्ड्रोइड वा आईओएस दुवै नचल्ने थोरै स्मार्टफोनहरू मध्ये एक हो, जसले ठुला दुई अपरेटिङ सिस्टमहरूबाट दिक्क भएकाहरूका लागि एउटा नयाँ विकल्प प्रदान गर्दछ । यो फोन सेलफिस ओएस ५ (Sailfish OS 5) मा चल्छ ।

सेलफिस ओएस ५ को मुख्य विशेषता भनेको गोपनीयता (privacy) मा यसको ठुलो जोड हो । जोलाका अनुसार एन्ड्रोइड र आईओएसमा तपाईँको डेटा, बानी-व्यवहार र कुराकानी अरू कसैको सर्तमा प्रोसेसिङ, भण्डारण र विश्लेषण हुन सक्छ । तर सेलफिस ओएसले तपाईँको डेटालाई साइफोन अर्थात् दुरुपयोग गर्दैन ।

मुख्य विशेषता र स्पेक्स

यो फोनको हार्डवेयर समेत गोपनीयतामा केन्द्रित रहेर डिजाइन गरिएको छ । यसमा भौतिक 'प्राइभेसी स्विच' छ, जसले क्यामेरा र माइकलाई निष्क्रिय पार्न सक्छ । जसले गर्दा कसैले पनि तपाईँलाई सुन्न वा हेर्न सक्दैन भन्ने सुनिश्चितता प्रदान गर्दछ । यस स्विचलाई ब्लुटुथ वा एन्ड्रोइड एप जस्ता अन्य चीजहरू निष्क्रिय पार्न पनि कन्फिगर गर्न सकिन्छ ।

नयाँ जोला फोनमा अन्य असामान्य विशेषताहरू पनि छन् । जसमा प्रयोगकर्ता आफैँले निकाल्न मिल्ने ५,५०० एमएएचको ब्याट्री समावेश छ । यसले गर्दा ब्याट्री बिग्रिएमा सजिलै बदल्न सकिन्छ वा लामो समय चार्जरबाट टाढा रहँदा प्रयोग गर्न स्पेयर ब्याट्री बोक्न सकिन्छ ।

यो फोनमा मिडियाटेक फाइभजी चिपसेट, १२ जीबी र्‍याम, २५६ जीबी स्टोरेज र माइक्रोएसडी कार्ड स्लट पनि छ । विभिन्न रङ विकल्पमा उपलब्ध जोला फोनमा बदल्न मिल्ने पछाडिको कभर, ६.३६ इन्चको फुल एचडी एमोलेड स्क्रिन, ५० एमपी वाइड क्यामेरा, १३ एमपी अल्ट्रा-वाइड र पावर बटनमा निर्मित फिङ्गरप्रिन्ट सेन्सर रहेका छन् ।

एप सपोर्ट र उपलब्धता

एन्ड्रोइड र आईओएससँग प्रतिस्पर्धा गर्न सजिलो नभएकाले प्रयोगकर्तालाई सहज बनाउन सेलफिस ओएस ५ ले धेरै एन्ड्रोइड एपहरूलाई सपोर्ट गर्द । यद्यपि यसमा गुगल प्ले स्टोर भने उपलब्ध छैन । त्यसैले एपहरू थर्ड-पार्टी एप स्टोरहरूबाट डाउनलोड गर्नुपर्ने हुन्छ ।

यो फोनको स्पेक्स मध्यम-श्रेणीको जस्तो सुनिए तापनि यसको मूल्य सोही अनुरूप तोकिएको छ । यदि तपाईँले प्रि-अर्डर गर्नुभयो भने यसको मूल्य ४९९ युरो (करिब ८४ हजार रुपैयाँ बराबर) पर्नेछ । खुद्रा मूल्य यसभन्दा १०० देखि २०० युरो (लगभग १७ हजारदेखि ३४ हजार रुपैयाँ) बढी हुने सम्भावना छ ।

यस फोनले मूलधारका स्मार्टफोनमा पाउन नसकिने गोपनीयता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर हाल यो फोन बेलायत र युरोपका केही देशहरूमा मात्र उपलब्ध छ । जसले यसलाई अझै पनि एउटा 'निस' (niche) उत्पादन बनाएको छ । प्रि-अर्डर गर्नेहरूका लागि यो फोन सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा डेलिभर हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ ९:५०