close

अब गुगल फोटोज एपबाटै भिडिओ एडिट गर्न सकिने, थपिए यस्ता नयाँ सुविधा

टेकपाना टेकपाना

मंसिर २५, २०८२ १५:१५

अब गुगल फोटोज एपबाटै भिडिओ एडिट गर्न सकिने, थपिए यस्ता नयाँ सुविधा

काठमाडौँ । गुगल फोटोज एपमा भिडिओ एडिटिङ र हाइलाइट रिल बनाउने कार्यलाई अझ सरल बनाउने उद्देश्यका साथ विभिन्न फिचर थपिएका छन् । ९ डिसेम्बरमा जारी गरिएको यो अपडेटमा थपिएका सुविधाहरूले प्रयोगकर्ताहरूलाई तयार पारिएका टेम्प्लेट प्रयोग गर्ने, म्युजिक थप्ने र कस्टमाइज टेक्स्ट राख्नेसम्मका कामहरू सिधै गुगल फोटोज भित्रै गर्न दिनेछन् । यो रिडिजाइन गरिएको एडिटर अब एन्ड्रोइडमा डिफल्ट भिडिओ एडिटिङ टुलको रूपमा पनि प्रयोग हुनेछ ।

यदि तपाईँ कहाँबाट सुरु गर्ने भन्नेमा अन्योलमा हुनुहुन्छ भने टेम्प्लेट (templates) ले बिल्ट-इन म्युजिक, टेक्स्ट र साउन्ड ट्र्याकसँग मिल्ने कट्ससहित पूर्व-निर्धारित फर्म्याटहरू उपलब्ध गराउँछ । यो सुविधा अहिले एन्ड्रोइडमा रोल-आउट भइरहेको छ ।

यो फिचर प्रयोग गर्न ‘Create’ ट्याबमा गएर ‘highlight video’ चयन गर्नुपर्ने हुन्छ । त्यसपछि कुनै एउटा टेम्प्लेट छान्नुहोस् र आफूले भिडिओमा समावेश गर्न चाहेका फोटो र भिडिओ चयन गर्नुहोस् । फोटोजले स्वचालित रूपमा म्युजिकको तालसँग मेल खाने गरी शेयर गर्न मिल्ने भिडिओ सिर्जना गर्नेछ ।​

नयाँ भिडिओ एडिटर एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । यसलाई पहिलेभन्दा छिटो र प्रयोग गर्न सजिलो बनाइएको छ । यसमा मल्टी-क्लिप एडिटिङलाई सपोर्ट गर्ने ‘युनिभर्सल टाइमलाइन’ (universal timeline) र सजिलो सम्पादनका लागि ‘एडप्टिभ क्यानभास’ (adaptive canvas) समावेश गरिएको छ ।

तपाईँले आफ्नो ग्यालरीबाट कुनै एउटा भिडिओ खोलेर यसलाई सुरु गर्नको लागि ‘edit’ मा ट्याप गर्न सक्नु हुन्छ । एउटा उत्कृष्ट भिडिओलाई उपयुक्त म्युजिकले अझ राम्रो बनाउँछ । यसका लागि अब तपाईँले गुगल फोटोजको म्युजिक लाइब्रेरी ब्राउज गरेर आफ्नो हाइलाइट भिडिओमा सही भाइब ल्याउन उपयुक्त साउन्डट्र्याक छनोट गर्न सक्नुहुन्छ ।

यसका लागि एडिटर मोडमा ‘Photos’ को म्युजिक लाइब्रेरी ब्राउज गर्नुहोस् र आफ्नो हाइलाइट भिडिओको लागि उपयुक्त ट्र्याक छान्नुहोस् । यो सुविधा एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।

एन्ड्रोइडमा तपाईँले आफ्नो हाइलाइट भिडिओहरूमा स्टाइलिस टेक्स्ट ओभरले (text overlays) थपेर सन्दर्भ वा रचनात्मक टच दिन सक्नुहुन्छ । यसका लागि आफ्नो सन्देशलाई फरक देखाउनका लागि नयाँ फन्ट, रङ र ब्याकग्राउन्डको साथ टेक्स्टलाई कस्टमाइज गर्नुहोस् ।

रिडिजाइन गरिएको एडिटरले व्यक्तिगत भिडिओ क्लिपहरूलाई छिटो र सजिलो सम्पादनका लागि एन्ड्रोइडमा डिफल्ट भिडिओ एडिटरको रूपमा काम गर्छ । नयाँ एडिटरको सहयोगमा तपाईँले अझ कस्टम लुकका लागि एउटै भिडिओ क्लिपमा पनि म्युजिक र टेक्स्ट थप्न सक्नुहुन्छ ।

गुगलले यी सबै अपडेटहरू उपलब्ध भइसकेको वा अहिले रोल आउट हुने क्रममा रहेको जनाएको छ । जसले तपाईँलाई गुगल फोटोज एपभित्रै उत्कृष्ट भिडिओ बनाउन आवश्यक टुलहरू उपलब्ध गराउनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १६:३६