close

फोटो एडिटिङको क्रममा गुगलको ‘नानो बनाना’ एआईबाट सजिलै गर्न सकिन्छ यस्ता उपयोगी काम

टेकपाना टेकपाना

मंसिर २६, २०८२ १४:३५

फोटो एडिटिङको क्रममा गुगलको ‘नानो बनाना’ एआईबाट सजिलै गर्न सकिन्छ यस्ता उपयोगी काम

 

काठमाडौँ । सायद तपाईँले गुगलको ‘नानो बनाना’ (Nano Banana) को बारेमा सुन्नु भएकै होला । यदि सुन्नुभएको छैन भने पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताले आफ्नै ‘थ्रीडी मिनिएचर’ बनाएको वा सारी र विभिन्न पोसाक लगाएका एआई तस्बिर बनाएको ट्रेन्ड पक्कै देख्नु भएको थियो होला ।

तर, के तपाईँलाई थाहा छ ? गुगलको यो टुल प्रयोग गरेर यस्ता रमाइला तस्बिर मात्र होइन, धेरै उत्पादनमूलक र सिर्जनात्मक काम पनि गर्न सकिन्छ । यहाँ हामी तपाईँलाई ‘नानो बनाना’ प्रयोग गरेर गर्न सकिने ७ ओटा रोचक कामको बारेमा बताउँदै छौँ । 

१) भिडिओ अवतार र क्यारेक्टर स्वाप

तपाईँले आफूलाई मन पर्ने अर्को कुनै अर्को पात्रमा उतार्न सक्नुहुन्छ । उदाहरणका लागि आफ्नो भिडिओको स्क्रिनशट लिएर नानो बनानामा जानुहोस् । नानो बनानाका लागि ‘aistudio.google.com’ वा जेमनाई एपमा जान सक्नु हुन्छ । 

अनि, नानो बनाना छान्नुहोस् र, फोटो अपलोड गरेर जुन पात्रमा बदल्नु पर्ने हो, त्यही पात्रमा बदल्न प्रम्प्ट दिनुहोस् । त्यसपछि ‘रनवेएमएल’ (RunwayML) को ‘एक्स वन (Act-One) फिचर प्रयोग गरेर उक्त तस्बिरलाई भिडिओमा बदल्दा पात्रले ठ्याक्कै तपाईँले जस्तै हाउभाउ र संवाद बोल्नेछ । यो फिचर कन्टेन्ट क्रिएटरका लागि निकै उपयोगी हुन सक्छ ।

२) भर्चुअल ट्राइ-अन 

अनलाइन लुगा किन्दा त्यो आफूलाई सुहाउँछ कि सुहाउँदैन भन्ने द्विविधा अब रहँदैन । नानो बनानाको ‘भर्चुअल ट्राइ-अन’ फिचर फेसन र ई-कमर्सका लागि उपयोगी सावित हुन सक्छ । तपाईँले आफ्नो तस्बिर र आफूलाई मन परेको ज्याकेट, पाइन्ट, जुत्ता वा चस्माको फोटो अपलोड गरेर एआईलाई ती सबै लगाउन प्रम्प्ट दिन सक्नुहुन्छ । नतिजा यति सटिक हुन्छ कि हेर्दा तपाईँले वास्तवमै ती लुगाहरू लगाएकै जस्तो देखिन्छ ।

३) प्रोफेसनल प्रोडक्ट मकअप

​यदि तपाईँ कुनै उत्पादन बेच्नुहुन्छ भने त्यसको साधारण फोटोलाई प्रोफेसनल देखिने ‘मकअप’ मा बदल्न सक्नु हुन्छ । जस्तै तपाईँको हेडफोनको सामान्य फोटो अपलोड गरेर ‘यसलाई प्रोडक्ट मकअपमा बदल्न’ भनेर प्रम्प्ट दिनु भयो भने एआईले ब्याकग्राउन्ड, कलर र लाइटिङ मिलाएर एक व्यावसायिक विज्ञापनमा प्रयोग हुने तस्बिर तयार गरिदिन्छ ।

४) फोटो एडिटिङ र सुधार

धेरै प्रयोगकर्ताले नानो बनानालाई फोटो एडिटिङको उत्कृष्ट एआई टुल मान्छन् । यसले सामान्य फोटोलाई उज्यालो बनाउन र ब्याकग्राउन्ड परिवर्तन गर्न मात्र होइन, तस्बिरको गुणस्तरमा पनि सुधार ल्याउन सक्छ ।

५) स्टाइल ट्रान्सफर

​तपाईँले कुनै एउटा ‘रेफरेन्स इमेज’ (Reference Image) दिएर आफ्नो फोटोलाई पनि त्यस्तै स्टाइलमा बदल्न सक्नुहुन्छ । आफ्नो फोटो र रेफरेन्स फोटो अपलोड गरेर प्रम्प्ट दिँदा एआईले तपाईँको फोटोलाई ठ्याक्कै सोचेजस्तै आर्टिस्टिक लुक्समा परिवर्तन गरिदिन्छ ।

६) अनावश्यक वस्तुहरू हटाउन

फोटो खिच्दा पछाडि नचाहिने मानिस वा वस्तु आएर तस्बिर बिग्रिएको छ ? चिन्ता नलिनुहोस् । अब नानो बनानालाई तस्बिरबाट रङ्गोली, फोहोर वा अन्य कुनै वस्तु हटाउन भन्न सक्नु हुन्छ । यसले तस्बिरको अन्य भागलाई असर नपारी सफाइका साथ अनावश्यक कुरा हटाइदिन्छ ।

७) सोसल मिडिया पोस्ट र पोस्टर डिजाइन

यो टुलले तपाईँको लागि सामाजिक सञ्जालका पोस्ट पनि डिजाइन गर्न सक्छ । आफ्नो प्रोडक्टको फोटो अपलोड गरेर ‘सोसल मिडिया इमेज प्रम्प्ट’ दिँदा यसले इन्स्टाग्राम वा फेसबुकमा देखिने जस्तै आकर्षक डिजाइन, टेक्स्ट र लेआउट भएको पोस्ट तयार पार्छ । 

साथै दुई जनाको अनुहार मिलाएर रमाइलो मुभी पोस्टर बनाउन वा फेस मर्जिङ (Face Merging) गर्न पनि यसको प्रयोग गर्न सकिन्छ। प्रिमियम फिचरमा यी माथिका फिचरले सटीकताका साथ काम गर्न सक्छन् । तर निःशुल्क भर्सनमा केही समस्या आउन सक्छ । खासगरी टेक्स्ट भएका फोटोमा यस्तो समस्या आउँछ । नेपाली देवनागरी टेक्स्ट भएका फोटो एडिट गर्दा ती टेक्स्ट बिग्रिने समस्या प्रायः सबैजसो एआई टुलमा देखिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १४:३५