close

एलन मस्क बने ७०० अर्ब डलर अर्थात् हजार खर्ब रुपैयाँ माथि सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति

टेकपाना टेकपाना

पुस ६, २०८२ १४:५४

एलन मस्क बने ७०० अर्ब डलर अर्थात् हजार खर्ब रुपैयाँ माथि सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति

काठमाडौँ । टेस्लाका सीईओ एलन मस्क ७०० बिलियन डलर (करिब १,००० खर्ब रुपैयाँ) भन्दा बढी कूल सम्पत्ति आर्जन गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । २० डिसेम्बर, २०२५ को बजार बन्द हुँदासम्म फोर्ब्सको अर्बपतिहरूको सूची अनुसार मस्कको कूल सम्पति ७४९ अर्ब डलर (१,०६७ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी) पुगेको हो ।

मस्कको सम्पत्तिमा आएको यो ऐतिहासिक उछालको मुख्य कारण डेलावेयर सर्वोच्च अदालतको फैसलालाई मानिएको छ । अदालतले यसअघि खारेज गरिएको मस्कको सन् २०१८ को टेस्ला स्टक अप्सन (पे प्याकेज) लाई पुन: कायम गरिदिएको छ । जसको हालको मूल्य १३९ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२४ मा तल्लो अदालतले यो सम्झौतालाई अकल्पनीय भन्दै बदर गरेको थियो ।

तर सर्वोच्च अदालतले उक्त निर्णय अनुचित र अन्यायपूर्ण भएको ठहर गर्दै मस्कको पक्षमा फैसला सुनाएको हो । यो साता मस्कका लागि निकै उपलब्धिमूलक रहेको छ । ६०० अर्ब अमेरिकी डलरको आँकडा पार गरेको मात्र चार दिनपछि उनले ७०० अर्ब डलरको अर्को कीर्तिमान कायम गरेका हुन् ।

हाल उनी विश्वका दोस्रो धनी व्यक्ति गुगलका सह-संस्थापक ल्यारी पेजभन्दा झन्डै ५०० अर्ब अमेरिकी डलरले अगाडि छन् । पेजको कूल सम्पत्ति हाल २५३ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।

अदालती फैसलापछि टेस्ला पुनः मस्कको सबैभन्दा मूल्यवान् सम्पत्ति बनेको छ । टेस्लामा उनको १२ प्रतिशत साधारण शेयर रहेको छ । जसको मूल्य १९९ अर्ब अमेरिकी डलर रहेको छ । त्यस्तै स्टक अप्सनको रूपमा कम्पनीमा उनको कूल ३३८ अर्ब अमेरिकी डलरको लगानी रहेको छ ।

त्यस्तै उनको दोस्रो ठुलो सम्पत्ति स्पेसएक्मा रहेको ४२ प्रतिशत हिस्सा हो । जसको मूल्य ३३६ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । हालै स्पेसएक्सको मूल्य ८०० अर्ब अमेरिकी डलर पुगेको रिपोर्ट सार्वजनिक भएको थियो ।

के मस्क बन्लान् पहिलो ट्रिलियनियर ?

भविष्यमा मस्कको सम्पत्ति अझै बढ्ने सङ्केतहरू देखिएका छन् । सन् २०२६ मा स्पेसएक्सको आईपीओ आउन सक्ने र त्यसले कम्पनीको मूल्य १.५ ट्रिलियन (१५०० अर्ब) डलर पुर्‍याउने अनुमान गरिएको छ ।

जसले मस्कलाई विश्वको पहिलो ट्रिलियनियर बनाउन सक्छ । साथै नोभेम्बर २०२४ मा टेस्लाका शेयरधनीहरूले उनको लागि अर्को १ ट्रिलियन डलरको नयाँ पे प्याकेज समेत स्वीकृत गरिसकेका छन् । जुन कर्पोरेट इतिहासकै सबैभन्दा ठुलो प्याकेज हो ।

यसरी कानुनी जित र आफ्ना कम्पनीहरूको बढ्दो बजार मूल्यका कारण एलन मस्कले विश्व अर्थतन्त्रको इतिहासमा एक अपराजित र कीर्तिमानी उचाइ हासिल गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १५:४७