काठमाडौँ । पछिल्लो समय गायिका द्वय एलिना चौहान र कला लम्सालबिचको विवादले सामाजिक सञ्जाल तातेको छ । ‘आन्टी लभर’ गीतकी गायिका लम्सालले चौहानलाई लक्षित गर्दै एक पडकास्टमा ‘आफ्नै सिक्री लगाएर आफ्नै कुरा काटेको’ भन्ने अभिव्यक्ति दिएपछि उक्त विवाद चर्किएको हो ।
‘द रियल च्याट विथ आभा’ नामक युट्युब च्यानलबाट १९ डिसेम्बरमा सार्वजनिक भएको पडकास्टमा उनले त्यस्तो अभिव्यक्ति दिएकी थिइन् । पडकास्टमा प्रस्तोता आभा शर्माले लम्साललाई “तपाईँले फोन स्क्रोल गर्दाखेरि केही देख्दा खेरि एकदमै हाँसो उठेको केही त्यस्तो घटना छ ?” भनेर सोधेकी छिन् ।
जवाफमा लम्साल हाँस्दै भन्छिन्, “एकचोटि। एक जना बहिनी, सेलेब्रेटी नै हुनुहुन्छ । मेरो सिक्री उहाँसँग छुटेको थियो । नेपालको खत्रा पडकास्टमा गएर मेरै सिक्री लगाएर मेरै कुरा काट्नु भएको केऽऽ ।” तर उनले उक्त पडकास्टमा ती ‘बहिनी’को नाम भने खुलाउन नचाहेको बताएकी छिन् ।
त्यसपछि शनिबार दिउँसो गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुकमा पाँच मिनेटभन्दा लामो भिडिओ सार्वजनिक गर्दै उक्त पडकास्टको जवाफ दिएकी छिन् । भिडिओमा चौहानले लम्सालले नै आफूलाई सिक्री राख्न दिएको बताएकी छिन् । आफ्नो कपडा अनुसार सिक्री नसुहाएको भन्दै लम्सालले सिक्री आफूलाई राख्न दिएको उनको भनाई छ । उस्सै राख्दा हराउन सक्ने भन्दै घाँटीमा नै लगाउन आग्रह गरेर आफूले लगाएको चौहानले बताएकी छिन् । तर सिक्री चोरेको जसरी प्रस्तुत गरेको भन्दै उनले भिडिओमा असन्तुष्टि जनाएकी छिन् ।
सोही भिडिओमा चौहानले गायिका लम्सालको अर्को पडकास्टको सानो क्लिप समेत राखेकी छिन् । उक्त क्लिप ‘यूएनए डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको पडकास्टको हो । उक्त क्लिपमा गायिका लम्सालले पडकास्टको कुराकानीलाई एलिना चौहानको विषयतर्फ मोड्न आग्रह गरिरहेको सुनिन्छ । त्यसपछि उनले उक्त भाग सार्वजनिक नगर्न आग्रह गर्दै “यो त अफलाइन है” भनेकी छिन् ।
सो क्लिप देखाउँदै गायिका चौहानले आफ्नो नाम जोडेर अन्तर्वार्ता दिँदै भाइरल हुन खोजेको आरोप गायिका लम्साल माथि लगाएकी छिन् । ‘यूएनए डिजिटल’ मा १९ डिसेम्बरमा सार्वजनिक कला लम्सालको पडकास्टमा हाल उक्त क्लिप छैन । पडकास्ट सार्वजनिक भएको केही समयमा नै आफूले सो क्लिप पाएको र हाल हटाइसकेको गायिका चौहानले बताएकी छिन् ।
‘अब गाउँछ अमेरिका’ यात्राबाट सुरु भएको टकराब
‘अब गाउँछ अमेरिका’ नामक साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि गत अगस्टमा गायक-गायिकाको एक टोली नै अमेरिका गएको थियो । जसमा एलिना चौहान, कला लम्साल, गायक बद्री पङ्गेनी, प्रताप दास लगायत थिए । फ्लाइ नेपा ट्राभल कम्पनीको आयोजनामा भएको उक्त साङ्गीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिएका थिए ।
सोही साङ्गीतिक कार्यक्रममा गएकी गायिका लम्साल स्वास्थ्यमा समस्या आएपछि बिचमा नेपाल फर्किएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा कलाकारको स्वास्थ्यमा समस्या आएपछि आयोजकले जबरजस्ती नेपाल फर्काएको भन्दै टीकाटिप्पणी भएको थियो ।
यसको स्पष्टीकरण दिँदै गायिका चौहानले ८ सेप्टेम्बरमा ‘अब गाउँछ अमेरिका’ यात्राका क्रममा पुरानो रोग बल्झिएपछि गायिका लम्साल स्वेच्छाले फर्किएको जानकारी सहितको स्टाटस लेखेकी थिइन् । आयोजकले जबरजस्ती फर्काएको भन्ने अफवाह फैलिएको भन्दै उनले त्यसमा विश्वास नगर्न आग्रह गरेकी थिइन् ।
त्यसको दुई दिनपछि कला लम्सालले १० सेप्टेम्बरमा चौहानको स्टाटस विपरीतको स्टाटस लेखेकी थिइन् । जहाँ उनले स्वास्थ्य अवस्थालाई लिएर आयोजकले बेवास्ता गरेपछि बाध्य भएर नेपाल फर्कनु परेको दुखेसो पोखेकी थिइन् । साङ्गीतिक कार्यक्रमका क्रममा स्वास्थ्य समस्या आएपछि अमेरिकामा उपचारका लागि आयोजकलाई आग्रह गर्दा वास्ता नभएको उनको आरोप थियो ।
पछि २७ अक्टोबरमा गायिका चौहान पनि अमेरिका टुर पुरा नगरेरै नेपाल फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त साङ्गीतिक यात्राका क्रममा कलाकारलाई सम्मान नभएको बताएकी थिइन् । उनले लेखेकी थिइन्, “जस्तो छ, त्यस्तै भन्छु - यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो - अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।”
त्यसयता गायिका लम्सालले आयोजकले नराम्रो व्यवहार गरेको विषयमा एलिना चौहानले बोले पनि आफूलाई परेको बेलामा भने साथ नदिएको आरोप लगाउँदै आएकी छिन् । यता चौहान भने गायिका लम्सालले अमेरिका जाने लोभमा रोगलाई लुकाएको र आफ्नै इच्छाले फर्किएको भन्दै त्यसमा आयोजकको गल्ती नभएको बताएकी छिन् ।
शनिबार सार्वजनिक गरेको भिडिओमा पनि चौहानले उक्त घटनाको प्रसङ्ग निकालेकी छिन् । लम्साललाई नेपालमा हुँदा नै ढाडको नशा च्यापिने समस्या भएको र अमेरिका जानका लागि अपरेसन तत्काल नगरेको दाबी गरेकी छिन् ।
तर अमेरिकामा पुगेर केही कार्यक्रम लगत्तै स्वास्थ्य समस्या आएपछि आयोजकले डाक्टरसँग सल्लाह गरेको र लम्सालकै सहमतिमा नेपाल फर्काउने निर्णय भएको उनले बताएकी छिन् ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १६:१२
