सुरक्षा र गोपनीयताका लागि महत्त्वपूर्ण एन्ड्रोइडको प्राइभेट डीएनएस मोड, यसरी गर्नुहोस् प्रयोग
पुस ९, २०८२ १९:४५
काठमाडौँ । एन्ड्रोइड फोनमा इन्टरनेट चलाउँदा तपाईँको गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण फिचर हो, प्राइभेट डीएनएस (Private DNS) मोड । सामान्यतया तपाईँले ब्राउजरमा कुनै वेबसाइटको नाम (जस्तै TechPana.com) टाइप गर्दा डोमेन नेम सिस्टम (डीएनएस) ले त्यसलाई आईपी ठेगानामा परिवर्तन गर्छ । ताकि एप वा ब्राउजरले सही जानकारी प्राप्त गर्न सकोस् ।
तर, स्ट्यान्डर्ड डीएनएस इन्क्रिप्टेड नहुने भएकोले तपाईँको ब्राउजिङ गतिविधि नेटवर्कमा 'प्लेन टेक्स्ट' को रूपमा देखिन्छ । जसलाई कसैले पनि निगरानी गर्न सक्छ ।
जब तपाईँ कफी शप जस्ता पब्लिक वाई-फाई प्रयोग गर्नुहुन्छ, असुरक्षित डीएनएसका कारण ह्याकरहरूले तपाईँले सर्च गरेका सामग्री वा भिजिट गरेका यूआरएल तथा वेबसाइटहरू सजिलै पत्ता लगाउन सक्छन् । प्राइभेट डीएनएस मोडले तपाईँका सबै डीएनएस क्वेरीहरूलाई इन्क्रिप्ट गरिदिन्छ ।
जसले गर्दा खराब नियत भएका व्यक्तिहरूले तपाईँको डेटा सङ्कलन गरे पनि त्यसलाई हेर्न सक्दैनन् । यसले गोपनीयता सुधार गर्नुका साथै अनलाइन सुरक्षालाई पनि बलियो बनाउँछ ।
एन्ड्रोइडमा कसरी प्रयोग गर्ने प्राइभेट डीएनएस सुविधा ?
एन्ड्रोइडको भर्सन अनुसार यसलाई सक्रिय गर्ने विधि केही फरक हुन सक्छ । एन्ड्रोइड ११ वा सोभन्दा नयाँ संस्करणमा म्यानुअल सेटिङको सट्टा तपाईँले क्लाउडफ्लेयर (Cloudflare) को 1.1.1.1 + WARP नामक एप प्रयोग गर्न सक्नु हुन्छ ।
त्यसका लागि सबैभन्दा पहिला गुगल प्ले स्टोरबाट यो एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । एप खोलेर Disconnected लेखिएको स्लाइडर वा बटन थिच्नुहोस् । यसले सेवा सक्रिय गरिदिनेछ ।
एन्ड्रोइड १० वा सोभन्दा पुराना भर्सनका डिभाइसका लागि फोनको सेटिङमा जानुहोस् र Network & internet छनौट गर्नुहोस् (सामसङ ग्यालेक्सीमा More Connection Settings भित्र जानुहोस्) ।
अब तल रहेको प्राइभेट डीएनएस (Private DNS) विकल्पमा क्लिक गर्नुहोस् । त्यसपछि Private DNS provider hostname छनौट गरी कुनै सुरक्षित प्रदायकको एड्रेस टाइप गर्नुहोस् ।
त्यसमा क्लाउडफ्लेयरका लागि 1dot1dot1dot1.cloudflare-dns.com राख्न सक्नु हुन्छ । यो सबैभन्दा छिटो र सुरक्षित मानिन्छ । त्यस बाहेक गुगलका लागि dns.google र क्वाड नाइनका लागि dns.quad9.net टाइप गर्न सक्नु हुन्छ ।
क्लाउडफ्लेयर प्रयोग गर्दा यसले खराब आईपी ठेगानाहरूबाट आउने इमेलहरू फिल्टर गरेर थप सुरक्षा प्रदान गर्दछ ।
यसले काम गरिरहेको छ कि छैन भनेर कसरी जाँच्ने ?
प्राइभेट डीएनएस सक्रिय गरेपछि आफ्नो ब्राउजरमा http://1.1.1.1/help मा जानुहोस् । यदि त्यहाँ Using DNS over TLS (DoT) को अगाडि Yes लेखिएको छ भने तपाईँको प्राइभेट डीएनएस सफलतापूर्वक सक्रिय भएको छ भन्ने बुझ्नुपर्छ ।
तपाईँको अनलाइन गतिविधिलाई सुरक्षित राख्न यो एउटा सानो तर अत्यन्तै शक्तिशाली उपाय हो ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १९:४५
