ब्लुटुथको नयाँ प्रविधि भर्सन ६.०, वायरलेस हेडफोन र स्मार्टफोनको दुनियाँमा आउँदैछ ठुलो परिवर्तन
पुस १०, २०८२ १२:२९
काठमाडौँ । ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप (एसआईजी) ले सेप्टेम्बर २०२४ मा ब्लुटुथको नयाँ भर्सन ब्लुटुथ ६.० सार्वजनिक गरेसँगै वायरलेस प्रविधिको क्षेत्रमा नयाँ बहस सुरु भएको छ । यो नयाँ मानकले मुख्यतया वायरलेस हेडफोन र स्मार्टफोनहरूबिचको कनेक्टिभिटीलाई अझ बढी सुरक्षित, छिटो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
अहिलेका ब्लुटुथ डिभाइसहरूमा भिडिओ हेर्दा वा गेम खेल्दा आवाज र दृश्यबिच ५० देखि १०० मिलिसेकेन्डको ल्याग (ढिलाई) हुने गर्छ । ब्लुटुथ ६.० को आईएसओएएल (आइसोक्रोनस एडप्टेसन लेयर) प्रविधिले अडिओ डेटालाई साना टुक्राहरूमा विभाजन गरी छिटो प्रोसेस गर्छ । जसले गर्दा रियल-टाइमको लेटेन्सी २० मिलिसेकेन्डसम्म झर्न सक्छ । यसले विशेषगरी मोबाइल गेमरहरूका लागि तारवाला हेडफोनको आवश्यकतालाई घटाउनेछ ।
यो संस्करणको सबैभन्दा चर्चामा रहेको फिचर हो, च्यानल साउन्डिङ । यसले हराएका डिभाइसहरू खोज्नका लागि १० सेन्टिमिटरसम्मको सटिकता (प्रिसिजन) प्रदान गर्छ । यसअघि यस्तो सटिकताका लागि महँगो अल्ट्रा-वाइडब्यान्ड (यूडब्लूबी) चिप आवश्यक हुन्थ्यो । तर अब ब्लुटुथ ६.० बाटै सस्तो र साधारण हेडफोनहरू पनि सजिलै फेला पार्न सकिनेछ ।
यस बाहेक नयाँ प्रविधिले ब्याट्रीको खपत पनि घटाउन मद्दत गर्छ । अब डिभाइसहरूले कनेक्ट हुनका लागि निरन्तर 'सिग्नल' खोजिरहनु पर्दैन । बरु पहिले जोडिएका डिभाइसहरू निश्चित दायराभित्र आउने बित्तिकै पहिचान गर्नेछन् । यसले मल्टिप्वाइन्ट स्विचिङ (एउटा हेडफोन दुईवटा डिभाइसमा पालैपालो चलाउने) प्रक्रियालाई अझ सहज र झन्झटमुक्त बनाउनेछ ।
ब्लुटुथ ६.० मा धेरै सुधार आए पनि यसले अझै पनि पूर्ण रूपमा वायरलेस लसलेस अडियो प्रदान गर्न भने सकेको छैन । भविष्यमा ७.५ एमबीपीएससम्मको स्पिड पुर्याएर उच्च गुणस्तरको अडियो स्ट्रिमिङ सम्भव बनाउने योजना छ ।
हाल केही सीमित डिभाइसहरूले मात्र ब्लुटुथ ६.० सपोर्ट गर्छन् । जसमा गुगल पिक्सेल १०, आईफोन १७ र साओमी १६ जस्ता नयाँ स्मार्टफोनहरू पर्दछन् । हेडफोनतर्फ भने भने इयरफन एयर प्रो ७ प्लस र एडिफायर डू एस २ ले यो प्रविधि अपनाइसकेका छन् । स्मार्टफोन निर्माताहरूले यसलाई छिटो अपनाए पनि हेडफोन कम्पनीहरूले यसलाई पूर्ण रूपमा लागु गर्न सन् २०२६ सम्मको समय लाग्न सक्ने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १२:३१
