close

एमाले सचिव महेश बस्नेतको ‘चिपफेक’ भिडिओ भाइरल, चरित्रहत्या गर्नेलाई हुनसक्छ ५ वर्ष जेल सजाय

टेकपाना टेकपाना

पुस ११, २०८२ १८:३८

एमाले सचिव महेश बस्नेतको ‘चिपफेक’ भिडिओ भाइरल, चरित्रहत्या गर्नेलाई हुनसक्छ ५ वर्ष जेल सजाय

 

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतको चिपफेक भिडिओ भाइरल भएको छ । एआईको सहायताले तयार पारिएको सो भिडिओले केही दिनअघिदेखि व्यापक रूपमा चर्चा पाइरहेको हो । 

८ सेकेन्डको क्लिपमा एमाले नेता बस्नेतले भनेका छन्, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ ।” भिडिओमा बस्नेत जस्तै देखिने आकृतिमा कालो मोसो दलिएको छ भने चप्पलको माला लगाएको देखाइएको छ । 

सिन्धु न्युज अपडेट नामक पेजले सोही भिडिओ राख्दै चरित्रहत्या नगर्न सुझाव दिएको छ । उक्त पेजले लेखेको छ, “एआईबाट तयार पारिएको भिडिओ हालेर कसैको चरित्रहत्या गर्न खोज्नु गलत हो । कृपया यस्ता गलत कार्यको पछि नलाग्नुहोला र भ्रममा पनि नपर्नुहोला ।” भिडिओको स्रोत भने सामाजिक सञ्जाललाई दिइएको छ । सो भिडिओमा झन्डै डेढ लाख बढी भ्युज छ । 

‘प्रकाश जमरकट्टेल’ नामका फेसबुक प्रयोगकर्ताले पनि उक्त भिडिओ राखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, “जस्तो बोली त्यस्तै भेष भोग….।” यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे चार लाख हाराहारी भ्युज छ ।

 

त्यसरी नै ‘नेपाल भिजन’ नामको फेसबुक पेजले पनि उक्त भिडिओ राखेको छ । अन्य फेसबुक पेज र ग्रुपले पनि यही भिडिओ व्यापक रूपमा शेयर गरिरहेका छन् ।

विभिन्न किसिमका सामाजिक सञ्जालका पेजबाट राखिएको सो भिडिओले व्यापक चर्चा पाएको छ । हाइभ मोडरेसन टुलमा जाँच गर्ने क्रममा भिडिओ एआई सिर्जित भएको पुष्टि भएको छ । अडियो भने वास्तविक रहेको देखिन्छ । विभिन्न सञ्चार माध्यमका अनुसार २२ असोजमा पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्दै पक्राउ नगर्न चेतावनी दिएका थिए । 

डीएनए खबरले ९ अक्टोबर २०२५ मा राखेको भिडिओमा बस्नेतले भाषण गरेको ५० सेकेन्डको क्लिप राखिएको छ । 

भाइरल भएको चिपफेक भिडिओ यही भिडिओबाट बनाइएको देखिन्छ । पुरानो देखिने लुगा, चप्पलको माला र अनुहारमा कालो मोसो दलेको देखाउन सोही भिडिओको दुरुपयोग गरेको पुष्टि हुन्छ । 

विद्युतीय कारोबार ऐन, २०६३ को धारा ४७ का अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जानजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १८:३८