इन्टरनेट सेवा प्रदायककको रिचार्ज डिस्ट्रिब्युटर कम्पनीबाट ६० लाख चोरी गरेको आरोपमा दाङबाट एक युवक पक्राउ*
पुस १५, २०८२ १६:३
साङ्केतिक तस्बिर
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनीको रिचार्ज वितरण गर्ने कम्पनी मेरो स्टोर्म नेटवर्क प्रालि*को पसलबाट ६० लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय दुर्गा केसी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वय र अनुरोधमा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले केसीलाई मङ्गलबार दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आरोपी युवक काठमाडौँमा कोठा भाडामा बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनी यसअघि पनि सानातिना चोरीका घटनामा संलग्न रहेको खुलेको छ । “तीन दिनअघि बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि रहेको मेरो स्टोर्म नेटवर्क प्रालिबाट ६० लाख रुपैयाँ चोरी भएको उजुरी परेको थियो,” प्रहरी उपरीक्षक आचार्यले भने, “घटनापछि प्रहरीले कार्यालयको सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा आरोपीको पहिचान गरेको थियो ।”
आचार्यले अगाडि थपे, “हामीले उनलाई प्राविधिक निगरानीमा राखेका थियौँ । उनी दाङ पुगेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा घर खानतलासी गर्दा लुकाइराखेको अवस्थामा चोरीको रकम फेला परेको हो ।”
प्रहरीका अनुसार केसीले चोरीको रकम खर्च गर्न नपाउँदै सबै रकम बरामद गरिएको हो । पक्राउ परेका केसीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि मङ्गलबार नै हवाईजहाज मार्फत काठमाडौँ ल्याइँदै छ । उनलाई काठमाडौँमै राखेर चोरी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
*समाचारमा मेरो स्टोर्म नेटवर्क प्रालि हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -सं
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १७:३४
