close

महँगा सफ्टवेयरको विकल्पमा प्रयोग गर्न सकिने गुगलका ७ शक्तिशाली निःशुल्क एआई टुल

टेकपाना टेकपाना

पुस १५, २०८२ २३:१६

महँगा सफ्टवेयरको विकल्पमा प्रयोग गर्न सकिने गुगलका ७ शक्तिशाली निःशुल्क एआई टुल

काठमाडौँ । गुगलले पछिल्लो समय सार्वजनिक गरेका कतिपय निःशुल्क एआई टुलले प्रतिमहिना २० देखि ५० डलरसम्म शुल्क लाग्ने सशुल्क सफ्टवेयरलाई कडा चुनौती दिइरहेका छन् । त्यहीमध्येका केही यस्ता टुल छन्, जसले तपाईंको काम गर्ने शैलीलाई नै स्तरीय बनाइदिन सक्छन् । 

व्यावसायिक र सिर्जनात्मक कामका लागि यी टुलले प्रयोगकर्ताको खर्च र समय बचत गर्न सक्ने देखिन्छ । जानौं निःशुल्क उपलब्ध हुने गुगलका एआई टुल र तीनको काम गर्ने शैली ।

एआई स्टुडियो 

गुगल एआई स्टुडियोभित्र रहेको ‘बिल्ड’ फिचर अहिले डेभलपर र उद्यमीका लागि निकै उपयोगी साबित भएको छ । यस टुलमार्फत प्रयोगकर्ताले सामान्य आफ्नो आवश्यकता बताएपछि यस प्लेटफर्मले पूर्ण रूपमा चल्ने वेब एप वा ल्यान्डिङ पेज निर्माण गर्न सक्छन् । तपाईंले प्रम्प्ट दिएपछि जेमिनाईले त्यसलाई विश्लेषण गर्छ र तपाईंको आवश्यकता पूरा गर्न के के काम गर्नुपर्छ, त्यो निर्धारण गरी वेब एप तयार पार्छ । यो एआई स्टुडियोभित्र उपलब्ध छ भने यसलाई निःशुल्क प्रयोग गर्न सकिन्छ ।

टेकपानाले एआई स्टुडियोबाट तयार पारेको ‘पोस्टर डिजाइनिङ’ वेब एप, यहाँ क्लिक गरेर एप परीक्षण गर्न सक्नुहुन्छ ।

गुगल ओपल 

गुगलले ‘ओपल’ नामको अर्को टुल ल्याएको छ जसले अटोमेसनका लागि ‘N8N’ जस्ता महँगा सफ्टवेयरको विकल्पका रूपमा काम गर्छ । यस टुललको सहातता वर्कफ्लो एप तयार पार्न सकिन्छ । यसमा पनि तपाईंले सामान्य बोलीचालीको भाषमा प्रम्प्ट राख्न सक्नुहुन्छ । तपाईंलाई के चाहिएको हो भन्ने राख्नुभयो भने यस प्लेटफर्मले ‘नोड’मा आधारित तपाईंले खोजेको जस्तै अटोमेसन टुल तयार पार्न सक्छ । 

यो टुल प्रयोग गर्न सबैभन्दा पहिले होमपेजमा गएर ‘Create New’ मा क्लिक गर्नुहोस् । त्यसपछि  एउटा नयाँ इन्टरफेस खुल्नेछ, जहाँ तपाईंले सिधै तलको टेक्स्ट बक्समा आफ्नो प्रम्प्ट लेख्नुपर्ने हुन्छ । उदाहरणका लागि ‘Please function as a headline generation tool. When I submit a specific topic or industry field, generate a list of professional and engaging news titles related to that subject.’

२० सेकेन्डमा यसले एउटा पूर्ण संरचना तयार पारेको देखिन्छ । यदि तपाईं अझै प्राविधिक रूपमा यसलाई मिलाउन चाहनुहुन्छ भने माथिको मेनुबाट आफैँ ‘इनपुट नोड’ थपेर एआई ब्लकसँग जोड्न सक्नुहुन्छ । तर एआईले तयार पारेको वर्कफ्लो आफैँमा उत्कृष्ट हुने भएकाले थप केही गरिरहनु पर्दैन ।

यसको बनावट हेर्दा बायाँतर्फ विषय राख्ने ‘इनपुट नोड’, बीचमा आइडिया प्रोसेस गर्ने भाग र अन्त्यमा नतिजा देखाउने सेक्सन रहेको छ । ‘Cyber Security’ लेखेर यसलाई परीक्षण गर्दा यसले तुरुन्तै स्क्रिनमा १० ओटा शीर्षक उपलब्ध गरायो । हामीले ओपलको सहायताले तयार पारेको टुल प्रयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । च्याट बक्समा विशेष क्षेत्र जस्तै; अन्तरिक्ष, साइबर सुरक्षा, एआई, प्रविधि, ग्लोबल टेक, टेलिकम राख्न सक्नुहुन्छ ।

माथि चर्चा गरिएको एआई स्टुडियोले सार्वजनिक प्रयोगका लागि वेब एप बनाउँछ भने ‘Opal’ आफ्नै आन्तरिक कामलाई व्यवस्थित र छिटो बनाउन प्रयोग गरिन्छ । यसको मद्दतले तपाईं कुनै पनि जटिल कोडिङ नगरी डेटा सङ्कलन र प्रोसेसिङका लागि आफ्नै टुल बनाउन सक्नुहुन्छ ।

नोटबुक एलएम

अनुसन्धान र मार्केटिङका क्षेत्रमा काम गर्नेहरूका लागि ‘नोटबुक एलएम’ उपयोगी प्लेटफर्म हो । यसको ‘भिडिओ ओभरभ्यू’ फिचरले लामो र जटिल डकुमेन्टलाई एउटा उच्च गुणस्तरको एक्सप्लेनर भिडिओ वा अडियो शोमा रूपान्तरण गरिदिन्छ । पछिल्लो समय उपब्ध रिपोर्ट तयार पार्ने, स्लाइड तयार पार्ने, इन्फोग्राफिक्स, फ्लाशकार्ट, डेटा टेबल, माइन्ड म्याप लगायतका फिचर उपलब्ध छन् ।

तपाईं नोटबुल एलएमभित्र जानुभयो भने ‘क्रियट न्यु नोटबुक’ भन्ने अप्सन देख्नुहुन्छ । त्यसपछि त्यसमा विभिन्न स्रोतको लिङ्क राख्न, फाइल अपलोड गर्न सक्नुहुन्छ । त्यस्तै टेक्स्ट राख्न वा तपाईंले खोजेको टपिक पनि राख्न सक्नुहुन्छ ।  यसरी टपिक राख्दा एआईले इन्टरनेटबाट उपयुक्त हुने विभिन्न स्रोत सङ्कलन गर्छ । त्यसपछि तपाईंले आफ्नो आवश्यकता अनुसार उपयुक्त स्रोत राखेर बाँकी हटाइदिन सक्नुहुन्छ । यति गर्नुभयो भने च्याटबक्समा प्रश्न राख्न सक्नुहुन्छ भने स्टुडियो सेक्सनबाट अडियो, भिडिओ, रिपोर्ट आदि तयार पार्न सक्नुहुन्छ ।

पोमेली

यसैगरी डिजिटल मार्केटिङको क्षेत्रमा ‘पोमेली’ नामक टुलले एउटा एआई मार्केटिङ एजेन्सीको जस्तै भूमिका खेलिरहेको छ । यो सामग्री तयार पार्दासम्म पोमेली नेपालमा भने उपलब्ध छैन । यसले प्रयोगकर्ताको वेबसाइटको लिङ्कका आधारमा यसले ब्रान्डको कलर, फन्ट र आवाज पहिचान गरी सोसल मिडियाका लागि आवश्यक पोस्ट र विज्ञापन स्वतः तयार गरिदिन्छ । डिजाइनमा समय खर्च गर्न नचाहने साना व्यवसायीका लागि यो टुल निकै वरदान सावित भएको छ ।

जेमिनाई क्यान्भास

प्रिजेन्टेसन बनाउन झन्झट मान्नेका लागि ‘जेमिनाई क्यानभास’ एउटा भरपर्दो माध्यम बनेको छ । यसले कुनै पनि साधारण टेक्स्ट फाइल वा रिपोर्टलाई विश्लेषण गरेर आकर्षक स्लाइड र ग्राफिक्स सहितको प्रिजेन्टेसनमा बदल्न सक्छ । यसका साथै जेमिनाईभित्रै उपलब्ध इमेज जेनेरेसन मोडेलले मिडजर्नी जस्ता महँगा टुलसँग प्रतिस्पर्धा गरिरहेको छ । यसबाट प्रयोगकर्ताले व्यावसायिक फोटोग्राफी स्तरका फोटो निःशुल्क तयार पार्न सक्छन् ।

यसले गर्दा विज्ञापन वा मार्केटिङ सामग्रीका लागि व्यावसायिक डिजाइनर खोज्ने झन्झट र खर्चमा उल्लेख्य कमी आउने देखिन्छ ।

अडियो टुल

गुगल एआई स्टुडियोभित्र उपलब्ध ‘मल्टि-स्पिकर अडियो जेनेरेसन’ टुलले अडियोको क्षेत्रमा नयाँ आयाम थपेको छ । यसले दुई वा सोभन्दा बढी पात्र बीचको संवाद तयार पार्छ । पोडकास्ट, तालिम सामग्री वा भिडिओको लागि यो अडियो प्रयोग गर्न सकिन्छ । इलेभेन ल्याब्स जस्ता महँगा प्लेटफर्मले दिने गुणस्तर यसले पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ २३:३१