कन्टेन्ट क्रियसनमा कसरी सफलता पाउने ? यस्ता छन् युट्युबले सुझाएका ५ टिप्स
पुस १९, २०८२ १४:४०
सांकेतिक तस्बिर
काठमाडौँ । पछिल्लो समय कन्टेन्ट क्रियसन आम्दानीको एक भरपर्दो माध्यमका रूपमा विकास भइरहेको छ । सामाजिक सञ्जालको पहुँच व्यापक भएसँगै यसलाई व्यावसायिक रूपमा अगाडि बढाएर सफल हुनेहरूको थुप्रै उदाहरण छन् । यदि तपाईं पनि कन्टेन्ट क्रियसनमा रुचि राख्नुहुन्छ र युट्युबलाई आफ्नो माध्यम बनाउन चाहनुहुन्छ वा यट्युब जर्नीमा बामे सार्दै हुनुहुन्छ भने सफल हुनका लागि स्वयं प्लेटफर्मले नै केही प्रभावकारी उपायहरू सुझाएको छ । तीमध्ये केही प्रमुख उपायहरूको चर्चा तल गरिएको छ:
व्यक्तिगत सीमा तय गर्नुहोस्
हरेक क्रियटरले आफ्नो निजी जीवन र अनलाइन जीवनका बीचमा एउटा स्पष्ट रेखा कोर्नुपर्छ । तपाईंको च्यानल तपाईंको करियरको एउटा सानो विन्दु मात्र हो । मानिसलाई के देखाउने र के नदेखाउने भन्ने कुरा तपाईंको आफ्नै हातमा हुन्छ ।
उदाहरणका लागि तपाईं आफ्नो मर्निङ रुटिन शेयर गर्दै हुनुहुन्छ भने आफ्नो घरको लोकेसन वा परिवारका सदस्यको गोपनीयतामा सधैँ ध्यान दिनुपर्छ ।
बाटोमा हिँड्दा साइन बोर्ड वा गाडीको लाइसेन्स प्लेट जस्ता कुरा भिडिओमा ब्लर गरिदिनुहोस् । कतै बाहिर निस्कनुभएको छ भने ‘रियल टाइम’ मा पोस्ट गर्नुको साटो त्यहाँबाट फर्किएपछि मात्र पोस्ट गर्ने बानी बसाल्नुहोस् । यसले तपाईंको सुरक्षा सुनिश्चित गर्छ । अनलाइन जीवन र वास्तविक जीवनका बीचमा दूरी कायम गर्नुहोस् । यसो गर्दा तपाईं सुरक्षित हुनुका साथै विश्वसनीयता कायम गरिरहन सक्नुहुन्छ ।
मानसिक स्वास्थ्यको सुरक्षा
कन्टेन्ट क्रियसनको यात्रामा राम्रा कमेन्टसँगै केही नराम्रा र चित्त दुख्ने कमेन्ट पनि आउन सक्छन् । यस्तो अवस्थामा विचलित हुनुको साटो युट्युबको ‘कमेन्ट फिल्टर’ र ‘ब्लक लिस्ट’ जस्ता फिचरको प्रयोग गर्नुहोस् । कसैले व्यक्तिगत प्रश्न वा सम्बन्धका बारेमा सोधेमा ‘म यी कुरा शेयर गर्न सक्दिनँ’ भनेर स्पष्ट रूपमा ‘नो’ भन्न सिक्नुहोस् । तपाईंको दिमाग जति शान्त रहन्छ, क्रियटर यात्रा त्यति नै लामो समयसम्म चल्नेछ ।
प्रभावकारी आइडिया कसरी खोज्ने ?
भाइरल वा हिट भिडिओको लागि सधैँ स्मार्ट आइडियाको खोजी गर्नुहोस् । यसका लागि आफैलाई तीन ओटा प्रश्न सोध्नुहोस् । पहिलो; मेरा भ्युअर्स के जान्न चाहन्छन् ? (यसका लागि कमेन्ट, पोल वा प्रतिस्पर्धीका भिडिओ हेर्नुहोस्)। दोस्रो; कुन ट्रेन्डमा मेरो विशेषज्ञता छ ? (जस्तै: नयाँ एआई टुल्समा तपाईंको रियाक्सन)। र तेस्रो; मसँग सुनाउनका लागि कुन मौलिक र पृथक कथा छ ? मानिसलाई महँगा उपकरणभन्दा तपाईंको वास्तविक संघर्ष र अनुभवका कथाले बढी आकर्षित गर्छन् ।
आइडियाको एउटा ‘बैंक’ बनाउनुहोस् र हरेक महिना केही नयाँ फर्म्याट (जस्तै भ्लग, शर्ट्स वा कोल्याब) कोसिस गर्नुहोस् ।
बर्नआउट नभई कन्सिसटेन्ट कसरी रहने ?
धेरै क्रियटर सुरुमै धेरै काम गरेर चाँडै थाक्ने (बर्नआउट हुने) गर्छन् । कन्सिसटेन्सीको अर्थ हरेक दिन भिडिओ हाल्नु मात्र होइन, बरु लगातार थोरै-थोरै प्रगति गर्नु हो । आफ्नो अपलोड रिक्वेन्सी यस्तो राख्नुहोस् जुन तपाईंले सजिलै पालना गर्न सक्नुहुन्छ (हप्तामा एक वा महिनामा दुई पटक) । कामलाई स्टेप-बाई-स्टेप बाँड्नुहोस् । पहिले ब्रेनस्टोर्मिङ, त्यसपछि सुट, एडिट र अन्त्यमा अपलोड । जुन भिडिओले राम्रो भ्युज (पर्फमेन्स) ल्याइरहेको छ त्यसैमा बढी फोकस गर्नुहोस् ।
ग्लोबल रिचका लागि ट्रान्सलेटेड टाइटल
आफ्नो कन्टेन्टलाई विश्वभरका दर्शकमाझ पुर्याउन युट्युबको ‘ट्रान्सलेटेड टाइटल’ फिचर एउटा उपयुक्त विकल्प हो । यदि तपाईंको भिडिओको टाइटल दर्शकले उनीहरूकै भाषामा देखे भने क्लिक गर्ने सम्भावना निकै बढ्छ । युट्युब स्टुडियोको ‘सबटाइटल’ सेक्सनमा गएर टाइटल र डिस्क्रिप्सनमा अन्य भाषा थप्न सकिन्छ । कुन भाषामा ट्रान्सलेट गर्ने भन्ने जान्नका लागि एनलिटिक्समा गएर ‘टप जियोग्राफी’ चेक गर्नुहोस् । एउटै भिडिओलाई फरक-फरक भाषामा छुट्टाछुट्टै अपलोड गर्नुभन्दा यो तरिका अपनाउनु बढी प्रभावकारी हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस १९, २०८२ १४:४०
