close

ब्ल्याकबेरीको झल्को दिने नयाँ डिभाइस सार्वजनिक, सामाजिक सञ्जाल र स्मार्टफोनको लत घटाउने लक्ष्य

टेकपाना टेकपाना

पुस २२, २०८२ १२:२९

ब्ल्याकबेरीको झल्को दिने नयाँ डिभाइस सार्वजनिक, सामाजिक सञ्जाल र स्मार्टफोनको लत घटाउने लक्ष्य

काठमाडौँ । सन् २०१० को सुरुवाति दशकमा निकै लोकप्रिय रहेको ब्ल्याकबेरी फोनको डिजाइनबाट प्रेरित भएर ‘क्लिक्स टेक्नोलोजी’ ले एक नयाँ ग्याजेट सार्वजनिक गरेको छ । आजदेखि अमेरिकाको लास भेगासमा सुरु भएको ‘सीईएस २०२६’ मा प्रदर्शनीमा ‘क्लिक्स कम्युनिकेटर’ नाम दिइएको यो ग्याजेट प्रदर्शनमा राखिएको छ ।

बजारमा रहेका एप्पलका आईफोन र सामसङका ग्यालेक्सी सिरिजसँग सिधै प्रतिस्पर्धा गर्नुको साटो क्लिक्सले यसलाई हाल प्रयोगमा रहेका स्मार्टफोनको सहयोगी उपकरणको रूपमा विकास गरेको छ । कम्पनीले यसलाई ‘डुइङ, नट डुमस्क्रोलिङ’ भन्ने नाराका दिएको छ । यसको मुख्य उद्देश्य भनेकै प्रयोगकर्तालाई सामाजिक सञ्जालको लत र अनावश्यक स्क्रोलिङबाट टाढा राखेर काममा केन्द्रित गराउनु हो ।

एन्ड्रोइड १६ मा आधारित यो डिभाइसको लम्बाई १३१.५ एमएम छ भने यसको तौल १७० ग्राम छ । यसमा ब्ल्याकबेरीमा जस्तै भौतिक प्लास्टिक बटन रहेका छन् । कम्पनीका अनुसार यसको कीबोर्ड ‘टच-सेन्सेटिभ’ छ । अर्थात् यसको सहायताले स्क्रिन नछोइकनै मेसेज स्क्रोल गर्न सकिन्छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २४ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथै आधुनिक स्मार्टफोनमा हराउँदै गएको ३.५ एमएम हेडफोन ज्याक, माइक्रो एसडी कार्ड स्लट, भौतिक सिम ट्रे र ई-सिमको सुविधा पनि यसमा उपलब्ध छ ।

क्लिक्स टेक्नोलोजीका प्रमुख मार्केटिङ अफिसर जेफ ग्याडवेले प्रडक्ट सार्वजनिक गर्दै भने, “तपाईँको मुख्य स्मार्टफोन र यो कम्युनिकेटरबिचको सम्बन्ध आईप्याड र किन्डलको जस्तै हुनेछ । यो एउटा पूरक उत्पादन हो, जुन निश्चित उद्देश्यका लागि मात्र बनाइएको छ ।”

‘क्लिक्स कम्युनिकेटर’ को बजार मूल्य ४९९ अमेरिकी डलर (करिब ७२ हजार रुपैयाँ) तोकिएको छ । यद्यपि कम्पनीले सीमित अवधिको लागि २९९ डलर (करिब ४३ हजार रुपैयाँ)मा ‘अर्ली बर्ड’ अफर सार्वजनिक गरेको छ । २७ फेब्रुअरीभन्दा अगाडि अर्डर गर्ने प्रयोगकर्ताले यो अफर पाउने कम्पनीले जनाएको छ ।

यो डिभाइस हालका लागि तीन ओटा कलर भेरियन्टमा उपलब्ध हुनेछ । कम्युनिकेटरसँगै क्लिक्सले ‘पावर किबोर्ड’ पनि ल्याएको छ । यो किबोर्ड म्यागसेफ वा क्यूआई २ म्याग्नेटिक प्रविधिमार्फत सिधै तपाईँको हालको स्मार्टफोनमा जोड्न सकिन्छ । ७९ डलर मूल्य तोकिएको यो किबोर्डलाई स्मार्टफोनका साथै ट्याब्लेट, स्मार्ट टिभी र एआर/भीआर डिभाइसमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

ब्ल्याकबेरीको क्लासिक अनुभवलाई आधुनिक प्रविधिसँग जोड्न खोजेको यो ग्याजेट गोपनीयता र काममा केन्द्रित हुन चाहने प्रयोगकर्ताका लागि उपयोगी हुन सक्छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १२:२९