काठमाडौँ । आजको समयमा ९२ प्रतिशतभन्दा बढी तस्बिरहरू स्मार्टफोनबाटै खिचिने गर्छन् र एक औसत प्रयोगकर्ताले दैनिक करिब २२ वटा तस्बिर खिच्ने बताइन्छ । स्मार्टफोन क्यामेराहरू यति शक्तिशाली भइसकेका छन् कि सन् २०१३ सम्ममा नै यिनीहरूको बिक्री डिजिटल क्यामेराको तुलनामा १० गुणा बढी भइसकेको थियो ।
फोटोग्राफी एउटा कला हो र यसमा निखार ल्याउने एक मात्र उपाय निरन्तरको अभ्यास हो । तर, अधिकांश प्रयोगकर्ताहरू केवल पोट्रेट वा अटो मोडमा मात्र सीमित छन् ।
यदि आफ्नो फोनको क्यामेराको वास्तविक क्षमता उपयोग गर्न चाहनुहुन्छ भने तपाईँले प्रो मोड वा म्यानुअल मोडबारे बुझ्नैपर्ने हुन्छ । प्रो मोड सुरुमा प्रोफेसनल फोटोग्राफरहरूका लागि विकास गरिएको थियो । तर स्मार्टफोनका क्यामेरा दिनानुदिन शक्तिशाली बन्दै गइरहेका कारण तस्बिर खिच्दा प्रो मोड प्रयोगलाई सामान्य बनाउनु स्वाभाविक भएको छ ।
यो मोड प्रोफेसनलका लागि बनाइएको भए पनि प्रयोग गर्न तपाईँ प्रोफेसनल नै हुनुपर्छ भन्ने छैन । तपाईँले खिच्न चाहेको तस्बिरबारे स्पष्ट सोच र उद्देश्य भए पुग्छ ।
प्रो मोड सुरुमा अलि जटिल लाग्न सक्छ, तर एक पटक यसका आधारभूत कुराहरू बुझेपछि तपाईँको स्मार्टफोन नै एउटा शक्तिशाली क्यामेरा बन्नेछ । प्रो मोडको सही उपयोग गर्न सुरुमा साना कदम चाल्नुहोस् र पहिलो दिनदेखि नै सबै सेटिङहरू एकैचोटि मिलाउन खोज्नुपर्छ भन्ने छैन।
व्यावसायिक फोटोग्राफीका सिद्धान्तहरू बुझ्दा स्मार्टफोनबाट खिचिएका तस्बिरको गुणस्तरमा ठुलो सुधार आउँछ । त्यसैले यहाँ प्रो मोडका मुख्य पक्ष र तिनलाई प्रयोग गर्ने तरिकाबारे चर्चा गर्दैछौँ:
एक्सपोजर ट्राएङ्गलको सन्तुलन
फोटोग्राफीमा प्रकाशको सन्तुलन मिलाउन आईएसओ (ISO), शटर स्पिड (Shutter Speed) र एपार्चर (Aperture) गरी तीन ओटा सेटिङले सँगै काम गर्छन् । जसलाई एक्सपोजर ट्राएङ्गल भनिन्छ ।
आईएसओले सेन्सरको प्रकाशप्रतिको संवेदनशीलता नियन्त्रण गर्छ । कम आईएसओ (१००-२००) ले सफा तस्बिर दिन्छ भने उच्च आईएसओ (८००-१६००) ले अँध्यारोमा उज्यालो त बनाउँछ, तर तस्बिरमा 'न्वाइज' वा दाना जस्ता चिज देखिन्छन् ।
सेन्सर कति समयसम्म प्रकाशमा खुला रहन्छ भन्ने कुरा शटर स्पिडले जनाउँछ । छिटो शटर स्पिड (जस्तै १/१००० सेकेन्ड) ले तीव्र गतिको वस्तुलाई 'फ्रिज' गर्छ भने ढिलो शटर स्पिड (जस्तै २-५ सेकेन्ड) ले बगिरहेको पानी वा गुडिरहेको गाडीको 'लाइट ट्रायल' जस्ता कलात्मक दृश्य खिच्न मद्दत गर्छ ।
एपार्चर भने लेन्स कति खुला हुन्छ भन्ने बुझाउँछ । स्मार्टफोनमा यो प्रायः स्थिर हुन्छ, तर कतिपय फोनमा यसलाई परिवर्तन गर्न सकिन्छ । सानो 'f-stop' नम्बर (जस्तै f/1.5) को अर्थ ठुलो ओपनिङ हो, जसले ब्याकग्राउण्ड ब्लर (बुके) बनाउन मद्दत गर्छ ।
रअ फोटो
धेरैजसो फोनले तस्बिरलाई JPEG वा HEIC फर्म्याटमा सेभ गर्छन् । जसले डेटा कम्प्रेस गर्दा तस्बिरका कतिपय विवरणहरू हटाउँछ । तर प्रो मोडमा RAW/DNG (रअ/डीएनजी) फर्म्याट प्रयोग गर्दा सेन्सरले कैद गरेका सबै 'अनटच्ड' डिटेलहरू सुरक्षित रहन्छन् । एप्पलका पछिल्ला प्रो मोडेलहरूमा प्रोरअ (ProRAW) फिचर छ, जसले रअको लचकता र स्मार्टफोनको स्मार्ट एचडीआर प्रविधिलाई एकै ठाउँमा ल्याउँछ । यसले एडिटिङ गर्दा रङ र उज्यालोमा पूर्ण नियन्त्रण दिन्छ ।
ध्यान दिनुपर्ने अन्य महत्त्वपूर्ण सेटिङ
विभिन्न प्रकाशमा तस्बिरको रङको तापक्रम मिलाउन ह्वाइट ब्यालेन्स (WB) को प्रयोग गरिन्छ । यदि तस्बिर धेरै पहेँलो वा नीलो देखिएमा केल्भिन (K) भ्यालु मिलाएर यसलाई वास्तविक देखाउन सकिन्छ । जहाँ कम अङ्क राख्दा तस्बिर शीतल वा निलो देखिन्छ भने उच्च अङ्क राख्दा तस्बिर न्यानो वा सुन्तला रङको बन्छ ।
ह्वाइट ब्यालेन्सको मुख्य उद्देश्य विभिन्न प्रकाशका स्रोतहरू, जस्तै सूर्यको प्रकाश (करिब ५५००K) वा कोठाभित्रको बत्ती (करिब ३२००K), अनुसार रङ समायोजन गरेर सेतो वस्तुलाई वास्तविक रूपमै सेतो देखाउनु हो । सामान्यतया क्यामेराको अटो मोडले रङको अनुमान आफैँ गर्ने भए तापनि मिश्रित प्रकाश भएको ठाउँमा यसले गल्ती गर्न सक्छ, जसले गर्दा तस्बिरमा अनौठो रङको लेप देखिन सक्छ ।
त्यसैले, प्रो वा म्यानुअल मोडको प्रयोग गरी तपाईँले आफ्नो रुचि र वातावरण अनुसार रङ मिलाएर तस्बिरलाई थप स्पष्ट र कलात्मक बनाउन सक्नु हुन्छ ।
त्यस्तै म्यानुअल फोकस र फोकस पिकिङ अटोफोकस झुक्किने ठाउँमा म्यानुअल फोकस मिलाउन उपयोगी हुन्छ । 'फोकस पिकिङ' फिचरले फोकस भएको ठाउँलाई रातो वा हरियो रङले हाइलाइट गर्छ, जसले गर्दा तस्बिर धमिलो हुने सम्भावना रहँदैन ।
यदि अन्य सेटिङ चलाउन झन्झट लागेमा एक्सपोजर कम्पन्सेसन (EV) स्लाइडरबाट तस्बिरलाई सिधै उज्यालो वा अँध्यारो बनाउन सकिन्छ ।
कम्पोजिसन र लाइटिङका नियम
राम्रो फोटोका लागि सेटिङ मात्रैले पुग्दैन । दृश्य कसरी सजाउने भन्ने पनि जान्नुपर्छ । रुल अफ थर्ड्स (Rule of thirds) अन्तर्गत क्यामेराको सेटिङमा ग्रिड (Grid) अन गरी मुख्य वस्तुलाई रेखाहरू काटिएको बिन्दुमा राख्दा तस्बिर सन्तुलित देखिन्छ ।
त्यस्तै सूर्योदय पछिको र सूर्यास्त अघिको समयको नरम र न्यानो प्रकाशमा फोटोग्राफीका लागि गोल्डेन आवर (Golden Hour) उत्कृष्ट मानिन्छ । लिडिङ लाइन्स (Leading Lines) को रूपमा सडक, रेलको लिक वा बार जस्ता रेखालाई आधार बनाउन सक्नु हुन्छ । जसले हेर्ने मानिसको आँखालाई मुख्य विषयतर्फ डोर्याउँछन् ।
केही उपयोगी सुझाव
लामो एक्सपोजर वा कम उज्यालोमा फोटो खिच्दा फोनलाई स्थिर राख्न ट्राइपोड वा कुनै स्थिर सतह (जस्तै वालेट) को प्रयोग गर्नुहोस् । डिजिटल जुमको साटो वस्तुको नजिक जाने प्रयास गर्नुहोस्, किनकि जुमले तस्बिरको गुणस्तर घटाउँछ । तस्बिर खिचेपछि एडोबी लाइटरुम वा स्न्यापसीड जस्ता एपहरूबाट रङ र कन्ट्रास्ट एडिट गर्दा व्यावसायिक लुक प्राप्त हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १८:११
