close

फ्याक्टचेक: राष्ट्रपति र रास्वपा नेताहरूले राजसंस्था फर्काउने कुरा गरेको दाबी झुटो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

पुस २३, २०८२ २१:३७

फ्याक्टचेक: राष्ट्रपति र रास्वपा नेताहरूले राजसंस्था फर्काउने कुरा गरेको दाबी झुटो

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा ‘Nepal Tas’ नामक पेजले विभिन्न राजनीतिक व्यक्तिले नेपालमा राजसंस्था फर्काउन सकिने टिप्पणी गरेको भन्दै पोस्ट गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता राजिव खत्री र नेतृ डा. तोसिमा कार्कीले जनताले चाहेमा राजसंस्था पुन: स्थापना गर्न सकिने बताएको दाबी सहित उक्त पेजले सामग्रीहरू पोस्ट गरेको छ । ४८ हजार फलोअर रहेको उक्त पेजले गरेका पोस्टहरूमा हजारौँ प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । तर टेकपानाको तथ्यजाँचबाट राष्ट्रपति पौडेलसहित रास्वपा नेताद्वय खत्री र डा. कार्कीको नाम प्रयोग गरेर उक्त पेजले मिथ्या सूचना फैलाएको पुष्टि भएको छ ।

दाबी १ 

आइतबार (४ जनवरी) दिउँसो ४:२१ मा ‘Nepal Tas’ पेजले एक पोस्ट सार्वजनिक गर्दै दाबी गरेको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले जनताले चाहेमा देशमा राजसस्था पुनर्थापना हुन कसैले रोक्न नसक्ने बताएका छन साथै राजा ज्ञानेन्द्र प्रति आफ्नो कुनै नकारात्मक धारणा नरहेको समेत स्पस्ट पारेका छन् ।”  

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३५ सय रियाक्सन आएको छ भने २२१ पटक शेयर भएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 
 

तथ्यजाँच

हामीले राष्ट्रपति पौडेलले राजसंस्थाबारे कुनै सार्वजनिक धारणा व्यक्त गरे/नगरेको अध्ययन गर्‍यौँ । नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका संरक्षक मानिने राष्ट्रपतिबाट राजसंस्थाको पक्षमा अभिव्यक्ति आउनु आफैँमा अस्वाभाविक विषय हो । यदि यस्तो अभिव्यक्ति आएको भए मूलधारका सञ्चार माध्यमहरूमा यो मुख्य समाचार बन्ने थियो । तर, ‘राष्ट्रपति रामचन्द्र पौडेल राजसंस्था पुनर्स्थापना’ जस्ता किवर्ड सर्च गर्दा कुनै पनि आधिकारिक समाचार फेला परेनन् ।

यस विषयमा बुझ्न हामीले राष्ट्रपति कार्यालयका सह-सचिव एवं प्रवक्ता रितेशकुमार शाक्यलाई सम्पर्क गर्‍यौँ । उनले भने, “राष्ट्रपति कार्यालयका सम्पूर्ण आधिकारिक सूचनाहरू मेरो माध्यमबाट जान्छन् । तर, नेपालमा राजसंस्था पुनर्स्थापनाबारे राष्ट्रपतिले यस्तो बोलेको विषयमा मलाई कुनै जानकारी छैन । यो पूर्णतया भ्रामक हो ।” उनले सामाजिक सञ्जालमा आउने यस्ता अनाधिकारिक पोस्टहरूमा विश्वास नगर्न आग्रहसमेत गरे ।

दाबी २

‘Nepal Tas’ पेजले नै ५ जनवरी बिहान ७:५५ मा अर्को पोस्ट गर्दै लेखेको छ, “जनताले चाहन्छन भने रास्वपा राजा ल्याउन तयार छ : राजिव खत्री ।” उक्त पोस्टमा खत्रीको तस्बिर प्रयोग गर्दै “जनताले राजा चाहिन्छ भन्छन् भने रास्वपा र रवि लामिछाने पनि मान्न तयार हुन्छन्” भन्ने वाक्यांश राखिएको छ । सो पोस्टलाई ११ हजारभन्दा धेरै रियाक्ट, १६ सयभन्दा धेरै पटक शेयर गरिएको छ भने २४० पटक शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

तथ्यजाँच

खत्रीको यस अभिव्यक्तिको स्रोत खोज्दा ‘About Nepal’ नामक फेसबुक पेजमा २१ डिसेम्बरमा अपलोड गरिएको एक भिडिओ फेला पर्‍यो । सुरुवातको २२ सेकेन्डमा हाइलाइट्स सहित उक्त भिडिओ एक मिनेट ८ सेकेन्ड लामो छ । भिडिओमा प्रश्नकर्ताले “तपाईँ तपाईँको सभापतिलाई मनाउन सक्नुहुन्छ ? राजसंस्था एजेन्डा जनताले चाहेको खण्डमा रास्वपाले बोक्छ भन्नुहोस् न !” भनी पटक-पटक आग्रह गरेका छन् ।

जवाफमा खत्रीले आम जनताले चाहेमा पार्टी सभापतिले पनि सो विषय मान्न सक्ने आशय व्यक्त गरेका छन् । ​प्रश्नकर्ताले थप प्रश्न गरेका छन् ‘जनताले चाहेका छन् नि !’ खत्रीले जवाफमा भनेका छन्, “जनताले चाहेका छन् तर मुद्दा एकीकृत भइसकेको छैन ।” 

त्यसपछि हाइलाइट्सको भाग सक्किएको छ । भिडिओ क्लिपमा खत्रीलाई प्रश्नकर्ताले तालमेलको कुरा पनि सोधिरहेका छन् । तर भिडिओमा कुन तालमेलको कुरा हो भन्ने बारे स्पष्ट छैन । रास्वपा प्रवक्ताले तालमेल गरेर जाने बताएका छन् नि भन्ने प्रश्नमा खत्रीले भनेका छन्,  “त्यो चाहिँ उहाँले कुन सन्दर्भमा भन्नु भयो मैले नबुझी बोल्न मिल्दैन ।” 

लगत्तै उनलाई एक मिडियाकर्मीले ‘त्यसो भए राजसस्था चाहिन्छ?’ भन्ने प्रश्न गरेका छन् । जवाफमा खत्रीले आफू ‘पृथ्वी विचार’ नेपालको लागि सुहाउँदो रहेको बताएका छन् । थप प्रश्न गर्दै उनलाई प्रश्नकर्ताले सोधेका छन्, “त्यसो भए तपाईँका सभापतिलाई तपाईँले मनाउन सक्नुहुन्छ ?” जवाफमा उनले भनेका छन्, “प्रश्नमा नै आधा उत्तर हुन्छ । तपाईँले मलाई आधा उत्तर दिएर प्रश्न गर्दै हुनुहुन्छ ।” यससँगै उक्त भिडिओ अन्त्य भएको छ । 

उनले पृथ्वी जयन्तीको सन्दर्भमा ‘पृथ्वी विचार’ नेपालका लागि सान्दर्भिक रहेको बताए पनि रास्वपाले राजा ल्याउन औपचारिक रूपमा तयार रहेको कतै बताएका छैनन् । टेकपानासँगको कुराकानीमा खत्रीले स्पष्ट पारे, “मैले सबै जनताले चाहेमा त मान्नै पर्छ भन्ने सामान्य जवाफ दिएको थिएँ । तर, रास्वपाले राजा ल्याउन सक्छ वा ल्याउँछ भनेर मैले भनेको छैन । मेरो भनाइलाई तोडमरोड गरी प्रस्तुत गरिएको हो ।”

दाबी ३ 

‘Nepal Tas’ पेजले नै मंगलबार बिहान ७:५९ पूर्व स्वास्थ्य राज्यमन्त्री तथा रास्वपा नेतृ डा‍. तोसिमा कार्कीले रास्वपाका ९० प्रतिशत नेता राजा ल्याउन तयार भएको बताएको दाबी सहित पोस्ट गरेको छ । उक्त पोस्टमा कार्कीको तस्बिरसँगै लेखिएको छ, “म ठोकुवा गरेर भन्न सक्छु रा.स्व.पा भित्र ९० प्रतिशत भन्दा धेरैको मनमा, देशमा राजसँस्था पुनर्स्थापना होस भन्ने नै” उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म ६ हजार ७०० भन्दा धेरैले रियाक्ट गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।  

 


तथ्यजाँच

तथ्यजाँचका क्रममा डा. तोसिमा कार्कीले ९० प्रतिशत रास्वपा नेताले राजसंस्था पुन: स्थापना गर्न चाहेको विषयमा बोलेको कुनै समाचार वा आधिकारिक जानकारी फेला परेन । कार्कीले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत नै उक्त विषयको खण्डन गरेकी छिन् । ‘Nepal Tas’ फेसबुक पेजको नाम नै उल्लेख गरेर उनले उक्त विषयमा कुनै सत्यता नभएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, “रास्वपा पूर्ण लोकतान्त्रीक गणतन्त्रात्मक साशन प्रणालीमा विस्वास गर्ने बहुलवादी लोकतान्त्रीक पार्टी हो। म स्वयम् र मेरो पार्टी पनि गणतन्त्र को पक्षधर मात्र नभई रक्षक पनि हौँ।” उनले उक्त फेसबुक पेजमा आफूबारेमा गरिएको टिप्पणीको विश्वास नगर्न आग्रह गरेकी छिन् । 

उनले लेखेकी छिन्, “म आफैले बोलेको या आधिकारीक अकाउण्टमै लेखेको बाहेक यस्ता विरोधाभास कुराहरु नपत्यादिई दिनुहोला ।” ​

टेकपानासँगको कुराकानीमा पनि उनले आफू गणतन्त्रको पक्षधर रहेको भन्दै उक्त पेजको पोस्टमा कुनै सत्यता नरहेको उनले स्पष्ट पारेकी छिन् ।

तथ्य

राष्ट्रपति रामचन्द्र पौडेलले जनताले चाहेमा राजसंस्था पुन: स्थापना हुन सक्ने बताएको भन्ने नेपाल तास नामक सामाजिक सञ्जालले गरेको दाबी झुटो हो । रास्वपा नेता राजिव खत्रीले सबै जनताले राजसंस्था स्वीकार गरेमा पार्टीले पनि स्वीकार गर्ने बताएको साँचो हो । तर उनले जनताले चाहेमा रास्वपाले राजा ल्याउने बताएका छैनन् । 

रास्वपा नेतृ तोसिमा कार्कीले ९० प्रतिशत रास्वपा नेताको मनमा राजसंस्था पुन: स्थापना गर्न चाहेको बताएकी छैनन् । आफू गणतन्त्रको रक्षक भएको भन्दै उनले उक्त दाबीको खण्डन गरेकी छिन् । 

निष्कर्ष

‘Nepal Tas’ नामक फेसबुक पेजले राष्ट्रपति र रास्वपा नेताहरूका नाममा गरेका तीनवटै दाबीहरू भ्रामक र झुटो पाइएको छ । राष्ट्रपति पौडेलले राजसंस्थाबारे कुनै सकारात्मक टिप्पणी गरेका छैनन् । नेता राजीव खत्रीको भनाइलाई गलत व्याख्या गरिएको छ भने डा. तोसिमा कार्कीको हकमा पूर्णतया काल्पनिक र झुटो बयान राखिएको छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८२ २२:१४