‘तपाईंको रगत कसैको ढुकढुकी बन्यो’ भन्ने हिमाल अस्पतालको मेसेज अन्तर्राष्ट्रिय स्तरमै भाइरल
पुस २४, २०८२ १२:५१
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव न्यौपानेले केही दिनअघि ‘रक्तदान’ गरे । तर, उनले गरेको त्यो सानो योगदान र अस्पतालले पठाएको एउटा हृदयस्पर्शी ‘अलर्ट’ यतिबेला अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन अर्थात् ३१ डिसेम्बरको साँझ सञ्जीवलाई एक साथीले परिवारका सदस्यका लागि रगत आवश्यक परेको भन्दै सम्पर्क गरे । रगतको समूह मिलेपछि उनी तत्कालै काठमाडौँको ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुगे । आवश्यक प्रक्रिया पुरा गरी रक्तदान गरेर उनी घर फर्किए ।
त्यसको झन्डै एक सातापछि बुधबार राति सञ्जीवको मोबाइलमा अस्पतालबाट एउटा मेसेज आयो । उक्त मेसेजको भाव मार्मिक थियो । अस्पतालले लेखेको थियो, “सञ्जीव जी, तपाईँले दान गर्नुभएको रगत ५८ वर्षीय पुरुष बिरामीले प्राप्त गर्नुभएको छ । तपाईँको नसाबाट सुरु भएको यो यात्रा आज कसैको ढुकढुकी बनेर पूर्ण भएको छ ।”
अस्पतालको उक्त रचनात्मक तथा भावनात्मक मेसेजले सञ्जीवलाई प्रभावित बनायो । उनले तत्कालै त्यसको स्क्रिनशट लिएर सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरे । उनले पोस्टमा आफ्नो अनुभव व्यक्त गर्दै लेखे, “यो अलर्टले मलाई कसैको ज्यान जोगाएको जस्तो अनुभव गरायो ।”
साढे आठ हजार भन्दा बढी फलोअर रहेका न्यौपानेले राति नौ बजेतिर गरेको उक्त पोस्ट सुरुमा सामान्य देखिए पनि केही घण्टामै विश्वभर भाइरल भयो । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, “१० बजेसम्म त्यही १०० आसपासमा भ्युज थियो होला, बिहान उठ्दा त पोस्ट भाइरल नै भइसकेको रहेछ ।”
यो समाचार तयार पार्दासम्म उक्त पोस्ट अपलोड भएको साढे १४ घण्टामा आठ लाख बढी पटक हेरिएको छ । जसमा ८० हजारभन्दा बढी लाइक, ३१०० सयभन्दा बढी रिपोस्ट तथा कोट रिपोस्ट, १४१ कमेन्ट र एक हजारभन्दा बढी सेभ भएको देखिन्छ ।
This alert gave me the feeling of saving someone's life. ❤️❤️ pic.twitter.com/AEREz0vSVx
— San Zin ⚡ (@sanzinme) January 7, 2026
यस पोस्टमा नेपालका मात्र नभई अधिकांश विदेशी एक्स प्रयोगकर्ताले हिमाल अस्पतालको यो कदमको प्रशंसा गरिरहेका छन् । प्रविधिको प्रयोग गरेर मानवीय संवेदनालाई कसरी जोड्न सकिन्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण बनेको भन्दै यसको चर्चा भइरहेको छ ।
यस विषयमा न्यौपाने थप्छन्, “प्रविधि र एआईको यो सञ्जालले हामीलाई जति नै जोडे पनि, तपाईँको एउटा स्नेहपूर्ण व्यवहार र मानवीय संवेदनाको अगाडि यी सबै फिक्का हुने रहेछन् । यो पोस्टले आखिर आत्मीयता नै सबैभन्दा माथि हुन्छ भन्ने महसुस गरायो ।”
पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र भ्रामक सूचनाले प्रश्रय पाइरहेको समयमा यस्ता सकारात्मक सन्देशले समाजमा ठुलो प्रभाव पार्ने न्यौपानेको विश्वास छ । मानवीय संवेदनासँग जोडिएको अस्पतालको यो एउटा सानो प्रयासले धेरैलाई रक्तदान गर्न प्रेरित गरेको छ । उक्त पोस्टमा कमेन्ट र कोट रिपोस्ट गर्ने अधिकांशले आफ्नो देशका अस्पतालले यो उदाहरणीय कामलाई यथाशीघ्र अपनाउनु पर्ने धारणा राखेका छन् ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १२:५२
