close

अर्काको नाममा रहेको एनटीसी सिम चलाउनुहुन्छ ? यस्तो छ अनलाइनबाटै नामसारी गर्ने तरिका

टेकपाना टेकपाना

पुस २६, २०८२ २१:५६

अर्काको नाममा रहेको एनटीसी सिम चलाउनुहुन्छ ? यस्तो छ अनलाइनबाटै नामसारी गर्ने तरिका

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत ग्राहक विवरण (केवाईसी) अपडेट गर्ने नयाँ सुविधा सुरु गरेको छ । यस सेवा अन्तर्गत टेलिकमका ग्राहकले अरूको नाममा दर्ता भए तापनि आफूले प्रयोग गरिरहेको सिमकार्ड सहजै आफ्नै नाममा नामसारी गर्न सक्नेछन् ।

वर्तमान समयमा बैंक खाता खोल्न, डिजिटल वालेट बनाउन तथा अन्य विभिन्न सरकारी र वित्तीय कामका लागि आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नु व्यवस्था छ । त्यसैले अरूको नाममा भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने हुन्छ । 

यसअघि सिमकार्ड नामसारीका लागि आवश्यक फारम भर्न ग्राहक स्वयम् टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने ग्राहकले घरमै बसेर अनलाइनमार्फत फारम भर्न सक्नेछन् । यद्यपि अनलाइन फारम भरेपछि अन्तिम प्रमाणीकरणका लागि भने एकपटक अनिवार्य रूपमा कार्यालयमै पुग्नुपर्ने हुन्छ । अनलाइनबाटै विवरण बुझाउँदा कार्यालयमा हुने समयको बचत हुने र नामसारी प्रक्रिया छिटोछरितो हुने टेलिकमले जनाएको छ ।

हालका लागि यो सेवा काठमाडौँको बबरमहल र सुन्धारास्थित टेलिकमका कार्यालयमा मात्र सुरु गरिएको छ । नेपाल टेलिकमले आगामी दिनमा यो सेवालाई देशैभरका अन्य शाखा कार्यालयहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

अनलाइनमा कसरी गर्ने अरूको नामको सिम आफ्नो नाममा नामसारी ?

  • सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

  • त्यसपछि आफ्नो मोबाइल नम्बर राखेर ‘सेन्ड ओटीपी कोड’ (Send OTP Code) को बटनमा ट्याप गर्नुहोस् । 

  • र, त्यहाँ देखिएको क्याप्चा टाइप गरेर ‘भेरिफाई एन्ड सेन्ड ओटीपी’ (Verify & Send OTP) को बटनमा ट्याप गर्नुहोस् ।

  • र, त्यहाँ देखिएको बक्समा ओटीपी कोड राखेर ‘भेरिफाई एन्ड लगइन’ (Verify & Login) बटनमा ट्याप गर्नुहोस् । 

 

अब तपाईंको कस्टमर पोर्टल खुल्छ । त्यहाँ तपाईंले आफ्नो विवरण भर्नुहोस् । 

यी विवरण राखिसक्नु भयो भने तपाईंले पछिल्ला तीन दिनभित्र कल गरेका पाँच ओटा नम्बर राख्नुपर्ने हुन्छ । यी विवरण राखिसकेपछि तपाईंले काउन्टर छान्नुपर्ने हुन्छ । हाल सुन्धारा र बबरमलको काउन्टरको अप्सन मात्र रहेको छ । त्यसबाहेक आफ्नो स्थायी, अस्थायी ठेगानामा राख्नुपर्ने हुन्छ । 

यति गरेपछि तपाईं डकुमेन्ट अपलोड गर्ने सेक्सनमा पुग्नुहुन्छ । त्यहाँ तपाईंले माथिल्लो अप्सनमा आफ्नो नागरिकता वा पासपोर्टको फोटो अपलोड गर्नुपर्ने हुन्छ । र, दोस्रो डकुमेन्टको अप्सनमा उक्त सिम तपाईंकै हो भन्ने प्रमाणित गर्ने कागजात अपलोड गर्नुपर्ने हुन्छ । यो कागजात अपलोड गर्नैपर्छ भन्ने हुँदैन । 

यति गरेपछि तलपट्टि भएको नेक्स्टको बटनमा ट्याप गर्नुभयो भने क्यामेराबाट नागरिकता वा पासपोर्ट समातेको आफ्नो फोटो खिच्नुपर्ने हुन्छ । 

र, सबै विवरण ठिक छ भनी टिक लगाएर ‘सब्मिट एप्लिकेसनको बटनमा ट्याप गर्नुपर्छ । 

अब सबमिट गरेपछि तपाईंले जुन काउन्टरको अप्सन छान्नुभएको थियो, त्यहाँ गएर भेरिफाई गर्नुपर्ने हुन्छ । टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार ग्राहकले राखेका पाँच ओटा नम्बर, कागजात आदिबाट प्रमाणित गरी कार्यालयका प्रतिनिधिले तत्कालै नामसारी गरिदिन्छन् 

पछिल्लो अध्यावधिक: पुस २६, २०८२ २२:२०