close

सर्जकसँग अनुमति नलिई चर्चित गीतका एआई भर्सन छ्यापछ्यापी, हुनसक्छ ६ महिना जेल र १ लाख जरिबाना

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

पुस ३०, २०८२ १४:२९

सर्जकसँग अनुमति नलिई चर्चित गीतका एआई भर्सन छ्यापछ्यापी, हुनसक्छ ६ महिना जेल र १ लाख जरिबाना

काठमाडौँ । सन् २००० को दशकमा नेपाली चलचित्र ‘मुग्लान’को ‘पात बजाउँदै’ गीत नसुन्ने कम नै होलान् । अचेल यो गीत युट्युबदेखि सामाजिक सञ्जालसम्म पुन: एक पटक चर्चामा आएको छ । तर, अहिले भाइरल भइरहेको यो गीतमा न त प्रेमराजा महत र कोमल वलीको स्वर छ, न त सुरेश अधिकारीको सङ्गीत नै छ । एआईले दिएको आवाजमा उक्त गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

युट्युब च्यानल ‘AI Core Music’ ले ‘लाली जोवन जान्छ कि हजुर पात बजाउँदै’ शीर्षकमा यो गीतको एआई भर्सन सार्वजनिक गरेको छ । जसलाई युट्युबमा मात्र २३ लाखभन्दा धेरै पटक हेरिएको छ । भिडिओ हेरेर अधिकांशले उत्कृष्ट एआई कभर सङ बनाएको भन्दै तारिफ गरेका छन् । केही प्रयोगकर्ताले उक्त गीतमा प्रयोग भएको आवाज बलिउड गायक ‘पापोन’को जस्तो सुनिएको बताएका छन् भने केहीले ‘बब मार्ली’को आभास दिलाएको टिप्पणी गरेका छन् ।

यो एआई भर्सन ११ डिसेम्बरमा मात्र सार्वजनिक भएको थियो । ४ मिनेट ४९ सेकेन्ड लामो यो भर्सनमा शब्द, भाका ओरिजिनल गीतको जस्तै छ, तर सङ्गीत र आवाज एआईबाट राखिएको छ । ‘Ai Artist Nepal’ नामक टिकटक अकाउन्टबाट पनि यही गीतको एआई भर्सन पोस्ट भएको छ । टिकटकमा २२ डिसेम्बरमा सार्वजनिक भएको भिडिओ यो सामग्री तयार पार्दासम्म २७ लाख पटक हेरिएको छ । टिकटकमा विभिन्न अकाउन्टबाट पनि यो गीतको एआई भर्सन छ्या‍पछ्याप्ती भएको छ, जसमा लाखौँमा भ्युज आएको छ । 

पात बजाउँदै गीतको ओरिजनल भर्सन भने ११ वर्ष पहिलादेखि युट्युबमा देख्न सकिन्छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलले ११ वर्षअघि ‘लाली जोवन जान्छ कि हजुर’ शीर्षकमा सार्वजनिक गरेको ओरिजनल  भिडिओ हालसम्म २९ लाख पटक हेरिएको छ ।  सोही युट्युब च्यानलबाट सन् २०२२ मा उक्त गीत पुनः अपलोड भएको छ, उक्त भिडिओमा भने ३१ लाख भ्युज छ । 

‘पात बजाउँदै’ त एउटा उदाहरण मात्र हो । गैरी खेतको शिरै हान्यो, रेशम फिरीरी, मखमली पछ्यौरीले सानु जस्ता अनेकौँ पुराना नेपाली गीतहरूका एआई भर्सन पनि अहिले चर्चित छन् । जसले लाखौँमा भ्युज पाएका छन् । 

स्वर्गीय गायक भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’को एआई भर्सन पनि अहिले युट्युबमा सुन्न सकिन्छ । ‘Nepali Ai Harmonies’ नामक युट्युब च्यानलले १४ डिसेम्बरमा सार्वजनिक गरेको उक्त गीत ४ मिनेट ५१ सेकेन्ड लामो छ । जसलाई १७ हजार पटक हेरिएको छ । उक्त गीतमा केही प्रयोगकर्ताले उत्कृष्ट ‘कभर सङ’ भएको प्रतिक्रिया दिएका छन् । केहीले भने पुराना मौलिक सङ्गीतलाई तोडमोड नगर्न सुझाव दिएका छन् । 

नयाँ गीतका एआई भर्सन पनि उत्तिकै चर्चित

पछिल्ला वर्षका चर्चित नेपाली गीतहरूमध्ये एक हो, ‘कश्मीरे पछ्यौरी’ । १८ जनवरी २०२४ मा सार्वजनिक भएको यो गीतले युट्युबमा मात्र १० करोड १० लाख भ्युज बटुलिसकेको छ । यो गीतको पनि एआई भर्सन तयार पारेर सार्वजनिक गरिएको पाइएको छ । 

‘Ai Artist Nepal’ ले १८ डिसेम्बरमा ‘कश्मीरे पछ्यौरी’ को एआई भर्सन तयार पारेर टिकटकमा राखेको छ । ३३ सेकेन्ड लामो यो भिडिओलाई हालसम्म १३ लाख पटक हेरिएको छ । 

‘Cosmix’ नामको युट्युब च्यानलले कश्मीरे पछ्यौरीको रक एआई भर्सन तयार पारेको छ । ६ मिनेट ४० सेकेन्ड लामो उक्त भिडिओ यो सामग्री तयार पार्दा सम्म ७९ हजार पटक हेरिएको छ ।

अशोककुमार सापकोटाको रचना तथा सर्मिला कार्की, सानु केसी, राम कुमार खतिवडाको स्वरमा रहेको ‘पियारा पियारी’ गीतको पनि एआई भर्सन निकै भाइरल छ । ‘तिम्रो लागि मै भइछु बढी, आजै लाइदेउ मायाको हत्कडी’ पियारी पियारी गीतको यो अन्तरालाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । 

‘AI Artist Nepal’ बाट सार्वजनिक २८ सेकेन्ड लामो भिडिओ टिकटकमा मात्र ९६ लाख पटक हेरिएको छ । युट्युबमा पनि यसको एआई भर्सन निकै पटक हेरिएको छ । 

एकदेव लिम्बु र समिर श्रेष्ठको स्वरमा एक महिना अघि मात्र सार्वजनिक ‘तिम्रो मुस्कान’ बोलको गीतको पनि एआई भर्सन सार्वजनिक भइसकेको छ । ‘Ai Artist Nepal’ ले तयार पारेको एआई भर्सनलाई टिकटकमा मात्र आठ लाखभन्दा धेरै पटक हेरिएको छ । यो गीतको वास्तविक भिडिओलाई अबको केही दिनमा एआई भर्सनले उछिन्ने देखिन्छ ।  

जिविहाङ राई युट्युब च्यानलबाट ४ अक्टोबर २०२४ मा सार्वजनिक भएको “लमजुङे डाँडैमा हावा सरर” बोलको गीतको पनि एआई भर्सन चर्चित बनेको छ । ओरिजनल गीतलाई ११ लाख भन्दा धेरै पटक हेरिएको छ । तर यही गीतको एआई भर्सनलाई युट्युबमा ओरिजनलभन्दा दुई गुणा बढी पटक हेरिएको छ । २० डिसेम्बर २०२५ मा ‘Ai Core Nepal’ बाट सार्वजनिक ५ मिनेट १७ सेकेन्ड लामो एआई भर्सनको भिडिओलाई २१ लाखभन्दा बढी हेरिएको हो । 

एउटा गीतमा अर्को गायकको आवाज प्रयोग समेत हुँदै

एआईबाट तयार पारेका गीतहरू भाइरल हुने मात्र नभएर पहिल्यै सार्वजनिक भइसकेका गीतहरूमा अर्को गायकको आवाज एआईबाट राखेर सार्वजनिक गर्ने ट्रेन्ड पनि सामाजिक सञ्जालमा देखिएको छ । ‘Ai Artist Nepal’ ले हिन्दी चलचित्र बत्ती गुल मिटर चालुमा समावेश भएको ‘हर हर गङ्गे’ गीतलाई स्वर्गीय गायक भक्तराज आचार्यको आवाजमा बनाएर सार्वजनिक गरेको छ । ‘हर हर गङ्गे’ गीतका वास्तविक गायक भने अर्जित सिंह हुन् । 

सुजन चापागाईले गाएको ‘उनको स्विटर’ चलचित्रमा समावेश भएको ‘फूल’ बोलको गीतलाई नारायण गोपालको आवाजमा बनाएर सोही अकाउन्टबाट राखिएको छ । उक्त भिडिओ टिकटकमा १७ लाख भन्दा धेरै पटक हेरिएको छ । 

सुजन चापागाईकै ‘फूल’ गीतलाई अर्को युट्युब च्यानलले अर्जित सिंहको आवाजमा एआईबाट तयार पारेर सार्वजनिक गरेको छ । ‘Ai Covers Nepal’ ले २५ फेब्रुअरी २०२४ मा उक्त  भिडिओ सार्वजनिक गरेको हो । ५ मिनेट ५ सेकेन्ड लामो भिडिओ उक्त भिडिओलाई ११ लाखभन्दा धेरै पटक हेरिएको छ । 

एआई भर्सन बनाउन वास्तविक सर्जकसँग लिइएको छैन अनुमति 

यसरी पुराना तथा स्थापित सर्जकहरूले बजारमा ल्याएका गीतहरूलाई एआई भर्सनमा बनाएर सार्वजनिक गर्न अनुमति नै नलिएको पाइएको छ । आफ्ना गीतलाई एआई भर्सनमा तयार पारेर विभिन्न सामाजिक सञ्जालमा राख्दा वास्तविक सर्जकसँग पनि कुनैपनि सल्लाह नगरिएको कश्मीरे पछ्यौरीका गायक बाबु कृष्ण परियार बताउँछन् । 

धेरै अकाउन्टबाट आफ्ना गीतको एआई भर्सन सार्वजनिक भएकाले कुन अकाउन्टमाथि एक्सन लिने भन्नेमा अन्यौलता रहेको उनको भनाइ छ । एआईको गीत बनाउँदा कन्टेन्ट क्रियटरले अनुमति समेत नलिएको उनले बताए । 

“यदि अनुमति मागेर एआई भर्सन तयार गर्छु भनेर कसैले माग्यो भने पनि कुनै सर्जकले आफ्नो सिर्जनालाई तोडमोड गर्ने अनुमति दिन सक्दैनन्,” उनले थपे, “हाम्रो गीत मात्र एआईबाट बनेको छैन । सबै सर्जकका गीतलाई नै एआईबाट बनाएर राखिएको छ । सामाजिक सञ्जालमा एआईको गीत बनाइरहेका अकाउन्टहरू त हुन्छन्, तर ती अकाउन्ट कसले चलाइरहेको भनेर पनि थाहा छैन ।” 

एआईबाट गीत तयार पार्ने भएकाले स्पष्ट कानुनी आधार नभएको उल्लेख गर्दै उनले उक्त विषयलाई लिएर गुनासो गर्न जाने विषयमा समेत अन्योलता उत्पन्न भएको उनले बताए । गायक परियारका अनुसार कश्मीरे पछ्यौरी गीत तयार पार्न ६ महिनाभन्दा लामो समय लागेको थियो । 

त्यसपछि युट्युब लगायतका प्लेटफर्ममा सार्वजनिक हुने बित्तिकै पनि यो गीत चलेन । गीत सार्वजनिक भएको ६ महिनापछि भने गीतले चर्चा पाउन थालेको उनले सम्झिए । “म्युजिक तयार पार्न, एरेन्ज गर्न, स्टुडियो खोज्न निकै दु:ख भोग्नु पर्‍यो । त्यत्रो दु:ख गरेर हामीले तयार पारेको गीतलाई एआईबाट केही मिनेटमै नयाँ आवाज दिएर मानिसहरूले कमाइ खाने बाटो बनाएका छन्,” उनले दुखेसो पोखे । 

दु:ख गरेर हामीले तयार पारेको गीतलाई एआईबाट केही मिनेटमै नयाँ आवाज दिएर मानिसहरूले कमाइ खाने बाटो बनाए ।  -गायक बाबु कृष्ण परियार 

यसरी एआईले तयार पारेको गीत सुन्दै जाँदा वास्तविक गायकको आवाजलाई नै स्रोताले बिर्सिँदै जानसक्ने चिन्ता उनले व्यक्त गरे । उनले भने, “एआईको गीत सुन्दा सुन्दै मानिसहरू त्यसमै अभ्यस्त हुन थाल्छन् । अनि त्यसको ओरिजिनल भर्सन कस्तो हो भन्ने नै थाहा हुँदैन । यसले त वास्तविक कलालाई नै मार्न सक्ने खतरा भयो ।” 

मुग्लान फिल्मको ‘पात बजाउँदै’ गीतको एआई भर्सन तयार पार्नेका लागि पनि वास्तविक सर्जकहरूसँग कुनै सहमति नलिएको गीतका सङ्गीतकार सुरेश अधिकारीले बताए । पात बजाउँदैका रचनाकार तथा निर्देशक शिव रेग्मीको सन् २०१३ मा नै देहावसान भइसकेको छ । 


 

यसरी अनुमति नलिइ मानव सिर्जित गीतको पुनः उत्पादन गर्नु सरासर प्रतिलिपि अधिकारको उल्लङ्घन हो - गायक तथा सङ्गीतकार सुरेश अधिकारी

सङ्गीतकार अधिकारीले आफूसँग पनि उक्त गीतको प्रयोग पूर्व अनुमति कसैले नलिएको जानकारी दिए । अधिकारीले भने, “रचनाकारको देहावसान भइसकेको समयमा पनि उहाँको परिवारसँग भएपनि अनुमति लिनुपर्ने हो । त्यस्तो भएको छैन । मसँग पनि एआई भर्सन निकाल्न कसैले अनुमति लिएको छैन ।” 

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्षसमेत रहेका उनले यसरी अनुमति नलिई मानवनिर्मित गीतको पुनः उत्पादन गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन भएको बताए ।  

के भन्छन् एआई कन्टेन्ट क्रियटर ? 

सामाजिक सञ्जालमा एआई भिडिओ बनाउने विभिन्न प्रयोगकर्तासँग हामीले राय लिन खोज्यौँ । तीमध्ये ‘Ai Artist Nepal’ हाम्रो सम्पर्कमा आएको छ । अन्य कलाकारको सङ्गीतहरूलाई एआई भर्सनमा निकाल्दै आएको यो अकाउन्टले कलाकार र ब्रान्डलाई चिनाउने गरी एआई गीत तयार पारिरहेको दाबी गरेको छ । 

एआई म्युजिक राख्दा वास्तविक कलाकारकै खोजी हुने भएकाले उहाँहरूलाई नै फाइदा पुग्छ । -एआई आर्टिस्ट नेपाल

उक्त अकाउन्टका सञ्चालकले भने, “हामी कुनैपनि वास्तविक सर्जकलाई नोक्सानीमा पार्न चाहँदैनौँ । त्यसैले पूरै गीतको भर्सन एआईबाट तयार पार्दैनौँ । केही क्लिपमात्र एआईबाट बनाएर राख्ने गरेका छौँ । यसरी सानो क्लिप राख्दा वास्तविक कलाकारकै खोजी हुने गरेको छ । उहाँहरूको वास्तविक पोस्टहरूमा भ्युज आउनसमेत सहयोग पुग्ने गरेको छ ।”  

तर उनले आफ्नो पहिचान भने खुलाउन चाहेनन् । पूरै भर्सन एआईबाट नबनाएपनि सकेसम्म सर्जकको अनुमति लिने प्रयास गरेको दाबी एआई आर्टिस्ट नेपालले गरेको छ । गीत तयार भइसकेपछि पोस्ट गर्ने बेलामा पनि वास्तविक सर्जकहरूको नामहरू उल्लेख गर्ने गरेको उसले  बताएको छ । 

के एआईबाट गीतहरूको पुन: उत्पादन गर्न पाइन्छ ?

वास्तविक सिर्जना तथा सङ्गीतहरूलाई एआईबाट पुन: उत्पादन गर्नु गैरकानुनी रहेको नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारका रजिस्ट्रार सविता कार्कीले बताइन् । आफ्ना सिर्जनाहरूलाई अरूले पुनः उत्पादन गरिरहेको थाहा पाएमा वास्तविक सर्जकहरूले कानुनी उपचार खोज्न सक्ने उनले जानकारी दिइन् ।

वास्तविक सिर्जना तथा सङ्गीतहरूलाई एआईबाट पुन: उत्पादन गर्नु नितान्त गैरकानुनी कार्य हो । - नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार

उनका अनुसार नेपाल प्रहरीमार्फत वास्तविक स्रष्टाले उजुरी दिएर कानुनी प्रक्रिया अघि बढाउन सक्छन् । “वास्तविक स्रष्टा तथा सर्जकले आफ्नो सिर्जना दुरुपयोग भएको प्रमाण लिएर प्रहरीकोमा उजुरी दिन सक्नुहुन्छ । प्रतिलिपि अधिकार ऐन, २०५९ ले प्रहरी समक्ष यस्ता उजुरी दिन सकिने व्यवस्था गरेको छ । प्रहरीले नै यो विषयको अनुसन्धान गरेर कानुनअनुसार आवश्यक कारबाही अघि बढाउन सक्छ,” उनले भनिन् । 

एआई पछिल्लो समयमा मात्र आएकाले यसको कुरा स्पष्ट रूपमा भने प्रतिलिपि ऐनमा उल्लेख नभएको उनले बताइन् । रजिस्ट्रार कार्कीले भनिन्, “हाम्रो प्रतिलिपि सम्बन्धी कानुन अलि पुरानो छ । एआईको विषयलाई स्पष्ट रूपमा कानुनमा संलग्न गर्ने गरि संशोधन गर्न ड्राफ्ट तयार पार्ने काम गरिरहेका छौँ । यस विषयमा हामी सम्बन्धित क्षेत्रका विज्ञहरूसँग पनि छलफलमा छौँ ।”

कस्तो छ प्रतिलिपि अधिकार ऐनमा पुन: उत्पादन सम्बन्धी व्यवस्था ?

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ (क) मा कुनै रचनाको अनुमति नलिई प्रतिलिपि उत्पादन गरेर बिक्री वितरण तथा सार्वजनिक गर्न नपाउने व्यवस्था छ । उक्त दफामा अधिकार उल्लङ्घनको विषयलाई परिभाषित गर्दै उल्लेख गरिएको छ, “रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको सर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा ।”

सर्जकको अनुमति बिना एआई म्युजिक बनाएर राख्दा दण्ड जरिबानासँगै प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत तिर्नुपर्ने हुन सक्छ । 

प्रतिलिपि अधिकार उल्लङ्घन गरेमा त्यस्तो व्यक्तिलाई पहिलो पटक दश हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ । 

त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुने र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनुपर्ने व्यवस्था गरिएको छ । तर प्रतिलिपि अधिकार उल्लङ्घन भएको तीन महिना भित्र उजुरी दिइ सक्नुपर्ने समयसीमा समेत उक्त ऐनमा छ । 

पछिल्लो अध्यावधिक: माघ १, २०८२ ८:५४