प्रत्यक्ष वैदेशिक लगानीका ६५% परियोजना आईसीटीमा, प्रतिबद्धता रकम भने अपेक्षाकृत कम
साउन ३, २०८३ ११:११
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत भएका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) परियोजनामध्ये सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका रहेका छन् । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानीका कुल १ हजार ११६ परियोजना स्वीकृत भएका थिए । जसमध्ये ७२७ वटा अर्थात् करिब ६५ प्रतिशत परियोजना आईसीटी क्षेत्रसँग सम्बन्धित छन् ।
यद्यपि परियोजनाको सङ्ख्या सबैभन्दा धेरै भए पनि आईसीटी क्षेत्रमा प्रतिबद्धता जनाइएको वैदेशिक लगानी भने २ अर्ब ८३ करोड ३४ लाख रूपैयाँ मात्रै रहेको छ । यसले आईसीटी क्षेत्रमा साना तथा कम पुँजीका परियोजनाहरूको बाहुल्यता रहेको संकेत गर्छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत नेपालमा सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीमा लाग्ने न्यूनतम सीमा (थ्रेसहोल्ड) हटाएको थियो ।
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी प्रोत्साहन गर्ने उद्देश्यले उक्त नीति ल्याइए पनि अपेक्षाकृत लगानी भित्रिन नसकेको देखिन्छ । सानो पुँजी भएका विदेशी लगानीकर्ताहरू यो क्षेत्रमा बढी आकर्षित भएको देखिन्छ । सोही कारण परियोजनाको सङ्ख्या निकै धेरै देखिए पनि लगानी प्रतिबद्धता रकम भने अन्य क्षेत्रको तुलनामा निकै थोरै देखिएको छ ।
५८ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, सबैभन्दा धेरै कृषिमा
गत आर्थिक वर्षमा कुल १ हजार ११६ वटा परियोजनामार्फत ५८ अर्ब रूपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ । कृषि क्षेत्रका १८ वटा परियोजना मात्र स्वीकृत भएका छन् । तर लगानी प्रतिबद्धता भने सबैभन्दा धेरै २३ अर्ब १८ करोड ८० लाख रूपैयाँ रहेको छ ।
यता, पर्यटन क्षेत्रका २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड, ऊर्जा क्षेत्रका ४ परियोजनाका लागि ७ अर्ब १६ करोड, सेवामूलक क्षेत्रका ७१ परियोजनाका लागि ४ अर्ब ९१ करोड रूपैयाँ र उत्पादनमूलक क्षेत्रका ६३ परियोजनामा ३ अर्ब ९१ करोड रूपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । यस्तै, पूर्वाधार क्षेत्रका २ परियोजनाका लागि १ अर्ब ८० करोड रुपैयाँ बढी लगानी प्रतिबद्धता आउँदा खनिज क्षेत्रका ४ परियोजनाका लागि सबैभन्दा थोरै १८ करोड ५० लाख रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८३ ११:१६
